राष्ट्रिय युवा नीतिबारे समीक्षात्मक कार्यक्रमको तस्वीर ।

हेटौंडाः नेपालको राष्ट्रिय युवा नीति—२०७२ माथि प्रदेशस्तरीय समावेशी र विस्तृत समीक्षा गरिएको छ । प्रदेश युवा परिषद् मकवानपुरको आयोजनामा शुक्रबार हेटौंडामा उक्त विषयमाथि समीक्षा गरिएको हो ।

परिषद् मकवानपुरका सदस्य किरण थापाको सभाध्यक्ष तथा बागमती प्रदेशसभा सदस्य एकालाल श्रेष्ठको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले युवालक्षित नीति तथा कार्यक्रम बनाउन लाग्दालाग्दै आफूले मन्त्री पदबाट बिदा लिनुपर्ने स्थिति सिर्जना भएको बताउनुभयो । राजनीतिक अस्थिरताले उक्त कार्यक्रम कार्यान्वयन हुन नसकेको श्रेष्ठले गुनासो गर्नुभयो ।

१० हजार युवालाई प्रदेश सरकारले सीपमूलक तालिम दिने उद्देश्यले नीति तथा कार्यक्रम बनाउन पहल भइरहेको उहाँले जानकारी दिनुभयो । राजनीतिक अस्थिरता कायम रहेकाले तत्काल युवालक्षित नीति तथा कार्यक्रम कार्यान्वयनको सम्भावना नरहेको जिकिर श्रेष्ठले गर्नुभयो । बागमती प्रदेश सरकारका मुख्यमन्त्रीले ७ वटा मन्त्रालय सम्हालेकाले नीति तथा कार्यक्रम कार्यान्वयनको सम्भावना नरहेको उहाँले दावी गर्नुभयो ।

युवालक्षित कार्यक्रमका लागि प्रदेशसभा सदस्य श्रेष्ठले प्रदेश सरकारलाई दबाब दिन युवाहरुलाई आग्रह गर्नुभयो । रोजगारसँग जोडिएका कार्यक्रमलाई प्राथमिकता दिन प्रदेश सरकारलाई दबाब दिनुपर्ने उहाँले बताउनुभयो । नेपालमा भित्रिनेभन्दा बाहिर जाने रेमिट्यान्स बढी रहेको भन्दै उहाँले युवाहरुको गम्भीर ध्यानाकर्षण गराउनुभयो ।

राजनीतिक मुद्दा फरक भएकाले सबै युवाहरुले आफ्नो मुद्दालाई साझारुपमा उठान गर्न उहाँले आग्रह गर्नुभयो । राजनीतिमा समेत युवा आउनुपर्छ भन्ने मुद्दाको उठान गर्दै राजनीतिमा युवाको सहभागिता हुनु सकारात्मक विषय रहेको बताउनुभयो । यस्तो अवस्थामा क्षमतावान र भविष्य भएका युवाहरु लागूपदार्थ दुव्र्यसनमा रुमल्लिएको अवस्थामा नियमन गर्नु राज्यको दायित्व रहेको बताउनुभयो ।

अध्यक्ष थापाले ३ हजार ९ सय ३८ अल्पसंख्याक सामुदाय रहेकामा तेस्रो लिङ्गीहरु उक्त समुदायमा नपरेको गुनासो गर्नुभयो । उहाँले परिवार, समाज र राज्यबाट तिरस्कृत रहेको गुनासो गर्नुभएको हो । सुविधासम्पन्न अस्पताल नेपालमै नहुनु, शैक्षिक गुणस्तर प्रदान गर्ने शैक्षिक संस्था नहुनु र स्वरोजागर नबनाउनु सबैका लागि दुःखद् विषय रहेको उहा“को भनाई छ ।

गैरसरकारी संस्था महासंघ बागमती प्रदेशकी अध्यक्ष आरती पाठकलले नीति कसरी बनाउने र बनेका नीतिलाई कसरी परिमार्जन गर्ने भन्ने विषय कार्यक्रमको उपलब्धी रहेको बताउनुभयो । युवालाई उद्यमसँग कसरी जोड्न सकिन्छ भन्ने कुरालाई जोड दिनुपर्ने बताउनुभयो । प्लान इन्टरनेशनल र ग्रामीण महिला विकास केन्द्र हेटौंडाको सहयोगमा कार्यक्रम भएको हो । कार्यक्रममा सहजकर्ता कुमार खड्काले युवाको परिचय, युवाहरुको अवस्था, चुनौती, समस्या, अवसरसँगै नीतिबारे सहजीकरण गर्नुभएको थियो ।