आज शुक्रबारबाट बिक्रम सम्वत्को नयाँ वर्ष सुरु हुँदैछ । आजबाट २०८० साल सुरु भएको छ । समय गतिशील छ । एक वर्षको अवधि कत्ति छिट्टै सकिएको जस्तो लाग्छ । यो वर्ष एउटा वर्ष मात्रै नसकिएर एक दशक सकिएको छ । आजबाट नयाँ दशकको सुरुवात भएको छ । यस अर्थमा पनि आजको दिनलाई महत्वका साथ हेरिनुपर्छ । आजबाट नयाँ दशक सुरु हुँदै गर्दा आम नेपालीमा मुलुकको अस्थिरता, आर्थिक संकटसँगै समग्रमा मुलुकमा टिकीरहन नै ठूलो चुनौति छ भन्ने चिन्ता छ । २०८० को दशकको सुरुवात हुँदै गर्दा आम मानिसमा रहिरहेको निराशालाई सकारात्मक पाटोमा रुपान्तरण गर्नु प्रमुख लक्ष्य हुनुपर्छ ।
आम नागरिकका आधारभूत आवश्यकतालाई पूरा गर्दै प्रतिस्पर्धी विश्वबजारमा नयाँ सम्भावनाको खोजी गर्नु सरकारको प्रमुख उद्देश्य हुनुपर्छ । प्रसस्त लाभ लिने विषयमा वर्ष २०८० लाई उपयोगी बनाउन सरकारलाई नागरिकले पनि सहयोग गर्नुपर्छ । आजबाट सुरु भएको नयाँ वर्षलाई दशकको सुरुवातको अवधि मानेर दशककै योजना बनाएर जान सक्नुपर्छ । दशकको दीर्घकालिन योजना बनाउन सरोकारवालासँग प्रसस्त अन्तरक्रिया र छलफल गरिनुपर्छ ।
२०७० को दशमा भएका तीन पटकको निर्वाचनले मुलुकलाई एउटा संरचनामा विकसित गरिदिएको छ । अब यही संरचनालाई चलायनमान, गुणस्तर र प्रभावकारी बनाउनु अत्यावश्यक छ । २०७० को दशकमा भएका तीनवटा निर्वाचनको निरन्तरता पनि २०८० सालको मूल मुद्दा बन्नुपर्छ । २०८४ मा हुने निर्वाचनले विद्यमान राजनीतिक, सामाजिक अवस्थाको मूल्यांकन गरी नयाँ नेतृत्व स्थापित गर्नेछ । अहिले पनि बैशाख
१० गते उपनिर्वाचन हुँदैछ । दशकौं देखि स्थापित दलहरुलाई नै चुनौति दिने गरी वैकल्पिक राजनीतिक दल पनि सतहमा देखिएका छन् । तर, ती दलहरु जवाफदेही र जिम्मेवार हुन नसक्दा अझ निराशा बढाएको छ ।
२०८० को दशमा हुने दुईवटा निर्वाचनले मुलुकलाई अझ बलियो बनाउने छ । आवधिक निर्वाचनले राजनीतिलाई सुधारको मार्गमा पनि अग्रसर गराउनेछ । आशा छ यस बीचमा आम नागरिकको सचेतनाको तहमा पनि उल्लेख्य सुधार हुनेछ । नागरिकको सचेतनाले राजनीतिक नेतृत्व र सरकारलाई जिम्मेवार बनाउँदै लैजानेछ । हामी हाम्रा सञ्चार माध्यममार्फत पनि निरन्तर खबरदारी गर्दै आइरहेका छौं । आगामी दिनमा पनि समाजलाई सचेत र सूचित बनाउने आफ्नो जिम्मेवारी पूरा गर्नेछौं । नयाँ वर्षको अवसरमा हामी हाम्रा पाठक, लेखक, कर्मचारी, सहयोगी, विज्ञापनदाता सम्पूर्णप्रति शुभकामना व्यक्त गर्दछौं ।