हेटौंडाः हेटौंडाबाट प्रकाशन हुँदै आएको समृद्ध समाज दैनिक प्रेस काउन्सिलको वर्गीकरणमा क वर्गमा कायम भएको छ । प्रेस काउन्सिल नेपालले बिहीबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७७÷७८ को वितरण संपरीक्षण मूल्यांकनमा समृद्ध समाज दैनिक स्थानीय क वर्गमा वर्गीकृत भएको हो । यसअघि पनि समृद्ध समाज दैनिक क वर्गमा रहेको थियो ।
काउन्सिलको वर्गीकरणमा क वर्गमै कायम रहनु महत्वपूर्ण र उपलब्धीको विषय भएको सम्पादक सुरेश श्रेष्ठको भनाइ छ । स्थानीय विषयलाई प्राथमिकता दिएर व्यावसायिकरुपमा प्रकाशन हुँदै आएको समृद्ध समाज दैनिकले पाठकको मन जित्न सफल रहेको उल्लेख गर्नुहुँदै सम्पादक श्रेष्ठले भन्नुभयो, “काउन्सिलको वर्गीकरणले हामीलाई अझ सशक्त रुपमा कार्य गर्न प्रेरणा मिलेको छ ।” काउन्सिलले सार्वजनिक गरेको वर्गीकरणको नतीजा अनुसार हेटौंडाबाट प्रकाशन भइरहेको हेटौंडा सन्देश दैनिक र साझा कुरा दैनिक पनि क वर्गमा वर्गीकृत छ । यस्तै प्रदेश दैनिक र थाहा सन्देश दैनिक ख वर्गमा वर्गीकृत छ ।
विकास खबर पत्रिका र सही खबर साप्ताहिक पत्रिका क वर्गमा पर्न सफल भएको छ भने मध्यस्थता साप्ताहिक, नमस्कार साप्ताहिक, ताम्सालिङ काअी, अखबार साप्ताहिक, प्रयास साप्ताहिक ख वर्गमा वर्गीकृत छ । चिनारी साप्ताहिक ग वर्गमा वर्गीकृत छ । हाम्रो मातृभूति र अक्षय अक्षर साहित्यिक त्रैमासिक क वर्गमा, लोकभावना त्रैमासिक ख वर्गमा वर्गीकृत छ ।
पत्रिका वर्गीकरणका लागि काउन्सिलमा दर्ता भएका ८ सय ६८ वटा पत्रिका मध्ये क वर्गमा २ सय ४५ वटा, ख वर्गमा ३ सय ४८ वटा, ग वर्गमा १ सय ११ वटा र घ वर्गमा १७ वटा पत्रिका वर्गीकृत भएको छ । वितरण संपरीक्षणको फारम भरेका मध्ये १ सय ४७ वटाको नतीजा स्थगनमा रहेको काउन्सिलले उल्लेख गरेको छ ।