हेटौंडाः हेटौंडा–४ स्थित हेटौंडा स्कूल अफ म्यानेजमेन्टले विश्वविद्यालय अनुदान आयोग (युजिसी) बाट गुणस्तर सुनिश्चितताको मान्यता (क्युएए) पाएको छ । करिब ५ वर्षको प्रयत्नपछि आयोगले सोमबार म्यानेजमेन्टलाई गुणस्तर सुनिश्चितताको मान्यता दिने निर्णय भएको जानकारी गराएको छ । मकवानपुर जिल्लामा गुणस्तर सुनिश्चितताको मान्यता पाउने म्यानेजमेन्ट दोस्रो संस्था हो । यसअघि हेटौंडा–२ स्थित मकवानपुर बहुमुखी क्याम्पसले आयोगबाट गुणस्तर सुनिश्चितताको मान्यता पाइसकेको छ ।

विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितताको मान्यता पाउने म्यानेजमेन्ट मकवानपुर जिल्लाको पहिलो निजी संस्था हो । विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितताको मान्यता पाउनु महत्वपूर्ण उपलब्धी भएको हेटौंडा स्कूल अफ म्यानेजमेन्टका प्रिन्सीपल पुरनबहादुर जोशी बताउनुहुन्छ । २०५२ सालमा स्थापित म्यानेजमेन्टले आफ्नै बुझाइका आधारमा सञ्चालन हुँदै आएको उल्लेख गर्नुहुँदै प्रिन्सीपल जोशीले भन्नुभयो, “समयानुकुल संस्थालाई व्यवस्थित बनाएर लैजान विश्वविद्यालय अनुदान आयोेगबाट हामीले म्यानेजमेन्टलाई संस्थागतरुपमा विकसित गर्न, अझ राम्रो बनाउँदै लैजान सहयोग पाएका छौं । आयोगबाट गुणस्तर सुनिश्चितताको मान्यता पाउनु हाम्रा लागि गर्वको कुरा हो ।”

विश्वविद्यालय तहको शिक्षालाई प्रभावकारी बनाउने योजनासहित म्यानेजमेन्टको टिमले गरेको मिहिनेतको नतीजा नै गुणस्तर सुनिश्चितताको मान्यता प्राप्त हुनु रहेको उहाँले बताउनुभयो । हेटौंडा स्कूल अफ म्यानेजमेन्टका योजना तथा विकास निर्देशक दिपेश जोशीले ५ वर्षको मिहिनेतले राम्रो नतीजा हासिल गरेको भन्दै खुसी व्यक्त गर्नुभयो । गुणस्तर सुनिश्चितताको मान्यता प्राप्त गर्नका लागि विश्वविद्यालय अनुदान आयोगसँग गरिएको सहकार्य, आयोगको मार्गदर्शनअनुसार संस्थागत संरचनामा गरिएको सुधारले म्यानेजमेन्टको संस्थागत संरचना एउटा व्यवस्थित संस्थाको रुपमा स्थापित भइसकेको उल्लेख गर्नुहुँदै जोशीले भन्नुभयो, “गुणस्तर सुनिश्चितताको मान्यता प्राप्त हुँदा हामीलाई हौसला मिलेको छ । यो उपलब्धीले अभिभावक र विद्यार्थी वर्गसँगै सिंगो समाजमा सकारात्मक प्रभाव कायम हुनेछ ।”

हेटौंडा स्कूल अफ म्यानेजमेन्टका शैक्षिक निर्देशक प्रद्युम्न उपाध्यायले गुणस्तर सुनिश्चितताको मान्यता प्राप्त हुँदा महाविद्यालयको रुपमा हेटौंडा स्कूल अफ म्यानेजमेन्ट र मकवानपुर जिल्लाका लागि ठूलो उपलब्धी हासिल भएको बताउनुभयो । गुणस्तर सुनिश्चितताको मान्यता प्राप्त गर्नका लागि म्यानेजमेन्टले संगठन, संस्थागत नीति, शिक्षण विधि र सिकाई, पाठ्यक्रम, अनुसन्धान, पूर्वाधार, जनसम्पर्क लगायत संस्थाको सिंगो संरचनालाई व्यवस्थित गर्ने र प्रणाली बनाएर काम गर्ने चरणमा पुगेको उपाध्याय बताउनुहुन्छ । अब म्यानेजमेन्टले आफ्नो प्रभाव क्षेत्रको अनुकुल हुने गरी नयाँ र मौलिक पाठ्यक्रम निर्माण गरी आयोगसँगको स्वीकृतिपछि आफ्नै पाठ्यक्रम लागु गर्न सक्ने उहाँको भनाइ छ ।

गुणस्तर सुनिश्चितताको मान्यताले म्यानेजमेन्टप्रति राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरबाट पनि समन्वय र सहकार्यको अवसरहरु प्राप्त हुने उपाध्यायले बताउनुभयो । सामान्य अवस्थामा चलिरहेको संस्थालाई गुणस्तर सुनिश्चितताको मान्यता प्राप्त गर्ने क्रममा व्यवस्थितरुपमा विकसित गर्दै योजनावद्ध कार्य गर्ने, प्रभावकारी कार्यान्वयनमा जोड दिने, अनुगमन र मूल्यांकनका साथै पृष्ठपोषणसम्मको कार्य हुनुले संस्थालाई थप व्यवस्थित र नतीजामुखी बनाएर अगाडि बढाउन सकिने उहाँको दावी छ ।

त्रिभुवन विश्वविद्यालयसँगको सम्बन्धमा २०६० सालदेखि स्नातक तहको पठनपाठन सुरु गरेको म्यानेजमेन्टले अहिले वाणिज्य संकायमा स्नातक र स्नात्तकोत्तर तह तथा स्नातक तहमा सूचना प्रविधिसम्बन्धी कार्यक्रम सञ्चालन गरिरहेको छ । म्यानेजमेन्टमा स्नातक र स्नात्तकोत्तर तहमा ६ सय भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।