हेटौंडाः नेपाल खानेपानी संस्थानको स्वामित्वमा हुँदा वर्षमा कम्तिमा एकपटक खानेपानी नआएको गुनासो लिएर खाली गार्गीको जुलुस नै लिएर उपभोक्ताहरु संस्थानको कार्यालय घेराउ गर्न जानुपर्ने बाध्यता थियो । तर, नेपाल खानेपानी संस्थानको हेटौंडास्थित शाखालाई स्थानीय बोर्डमा हस्तान्तरण गरेपछि उपभोक्ताले खानेपानीको महसुल भुक्तानी गर्न समेत धाइरहन नपरोस् भनेर अग्रिम रकम भुक्तानी गर्ने गरेका छन् ।
खानेपानीको सुविधा विश्वसनीय भएसँगै महसुल भुक्तानी गर्न उपभोक्ताले बिलिङको समय नै नकुरी अग्रिम भुक्तानी गर्ने क्रम बढेको छ । अहिले हेटौंडा खानेपानी बोर्डमा अग्रिम भुक्तानी रकम ७० लाख रुपैयाँ रहेको बोर्डका सूचना अधिकारी सञ्जय न्यौपानेले जानकारी दिनुभएको छ । खानेपानी बोर्डको सेवाप्रति विश्वास गरेर उपभोक्ताले अग्रिम भुक्तानी गर्ने क्रम बढेको उहाँको भनाइ छ । गत आर्थिक वर्षको अन्तिममा ६८ लाख रुपैयाँ रहेको अग्रिम भुक्तानी रकम अहिले बढेर ७० लाख रुपैयाँ पुगेको हो ।
बोर्डले आफ्ना २३ हजार उपभोक्ताको धाराको मासिक महसुल वापत करिब एक करोड रुपैयाँ बिलिङ गर्ने गरेको छ । सेवाक्षेत्र विस्तार हुँदै जाँदा धाराको संख्या बढ्दो क्रममा छ । बोर्डले अग्रिम भुक्तानी गर्ने उपभोक्ताका लागि बिलिङ रकमको ५ प्रतिशत छुट दिने व्यवस्था समेत गरेको छ । बोर्डले अहिले दैनिक १ करोड ८५ लाख लिटर पानी उपभोक्तालाई वितरण गर्दै आएको छ । हेटौंडा खानेपानी व्यवस्थापन बोर्डको खराब अवस्थाको बिलिङ पनि नगन्य छ । लामो समयदेखिको बक्यौता रहँदै आएको र सरकारी संस्थानको रुपमा रहेका निकायहरु निश्क्रिय अवस्थामा रहनुले पनि केही बक्यौता खराब अवस्थामा रहेको बोर्डका प्रमुख विष्णुप्रसाद सापकोटाले जानकारी दिनुभएको छ । यातायात व्यवस्था कार्यालयलगायत सरकारी संस्थानको करिब १५ लाख रुपैयाँ रकम असुली हुनै नसक्ने अवस्थामा रहेको उहाँको भनाइ छ । चालु आर्थिक वर्षमा ७ सय ९१ वटा नयाँ धारा जडान भएका छन् । यस्तै उपभोक्ता समितिमार्फत सञ्चालनमा रहेका खानेपानी योजनाहरु पनि बोर्डमा गाभिने क्रम जारी छ ।
निर्माणका क्रममा पाइपलाइन फुटेर हैरान
हेटौंडाः यसैबीच सडक निर्माणको क्रममा निर्माण व्यवसायीले होसियारी नअपनाउँदा हेटौंडा खानेपानी व्यवस्थापन बोर्डलाई हैरानी भएको छ । बोर्डका कार्यकारी प्रमुख विष्णुप्रसाद सापकोटाका अनुसार सडक निर्माणको क्रममा निर्माण कम्पनिले मेसिन प्रयोग गरी सडकको दायाँबायाँ ढल निर्माणका लागि खाल्डो खन्ने क्रममा खानेपानीको पाइपलाइनमा क्षति पुग्ने गरेको छ ।
“निर्माण कम्पनिले बोर्डसँग समन्वय नै नगरी काम गर्छ । पाइपलाइनमा क्षति पुगेपछि उपभोक्तादेखि निर्माण कम्पनिले आकस्मिकरुपमा जानकारी गराउँछन्”, कार्यकारी प्रमुख सापकोटाले भन्नुभयो, “पाइपलाइनमा क्षति पुगेपछि प्रभावित क्षेत्रमा पानी वितरण नै रोक्नुपर्छ । उपभोक्ताको धारामा पानी नआउने अवस्था हुन्छ । तुरुन्तै जनशक्ति, स्रोत परिचालन गर्न समस्या हुन्छ ।” अझ शनिबार र विदाको दिनमा निर्माणको कार्य गर्ने क्रममा पाइपलाइनमा क्षति पुग्यो भने मर्मत गर्न अझै समस्या हुने गरेको सापकोटाको भनाइ छ ।
“बिदाको दिन कर्मचारी बिदामा रहने भएकोले क्षति पुगेको स्थानमा तत्काल मर्मत गर्न समस्या हुन्छ”, सापकोटाले भन्नुभयो, “निर्माणको कार्य गर्दा निर्माण कम्पनिले समन्वय नगरे पनि स्थानीयले नै समन्वय गर्नुपर्छ भनेर ध्यानाकर्षण गराइदिए स्थानीयले नै सम्भावित क्षतिबाट प्रभावित हुने अवस्था आउने थिएन । उपभोक्ता आफैं प्रभावित हुनुपर्छ भन्ने बुझेर निर्माणको कार्य गर्दा होसियारी अपनाइदिए सहज हुने थियो ।”