वत्सराज कोइराला

अरु किन लेख्छन् ? म किन लेख्छु ? लेख्ने कारण पनि आआफ्नै होलान् । सबैका कारणहरु नितान्त भिन्न होलान् । समय, समाज र स्वयंसँग संवाद गर्ने तरिका भिन्नभिन्न हुन्छन् ।

आफ्नै कुरा गर्दा, म किन लेख्छु, कुन बेला लेख्छु भन्ने बारे मसँग कुनै विद्वतापूर्ण र समुचित उत्तर छैन । जसरी भोक लाग्दा खाना खान्छु, निद्रा लाग्दा सुत्छु, त्यसैगरी लेख्न मन लाग्दा लेख्छु । एकान्त, बन्द कोठामा, रात्रिको नीरवतामा मोबाइलको स्क्रिनमा धेरैबेर आँखा सेकाउँदै दुइटा बुढीऔंला चलाउनु मेरो स्वतःस्फूर्त प्रक्रिया हो । मेरो मज्जाको टाइमपास हो ।

वस्तुतः, साहित्य सिर्जनाको आकांक्षा कसैका लागि समवेदनाले अभिप्रेरित हुन्छ । कसैका लागि मानिसहरूसँग जोडिने असीम चाहनाले हुन्छ । स्वान्तसुखाय निम्ति आत्मालापको रूपमा शब्दहरुद्वारा उद्घाटित हुन्छ ।

त्यसो त, खास कुनै उद्देश्य नराखी जब लेखन आत्म साक्षात्कारको क्यानभास बन्छ, तब यो आफ से आफ सर्वोत्तम रूपमा प्रकट हुन्छ भन्ने मलाई लाग्छ । पुनः आफ्नो कुरा गर्दा, म कुनै त्यस्तो गुणको साक्षी होइन जो केही पढ्दै नपढी साहित्य सिर्जना गर्न सक्ने । केही पढेपछि शब्दहरुलाई सजीव गर्नु पनि महत्वपूर्ण कुरा हो । सहज प्रतिभा वा ईश्वरीय वरदानप्राप्त केही अपवादलाई छोड्ने हो भने सबै राम्रा लेखकहरु अध्ययनशील हुन्छन् । देखेर, पढेर, सुनेर, बुझेर प्राप्त अनुभूतिलाई सुन्दर शब्दमा ढाल्ने कला नै लेखन हो ।

लेखन पनि एक नशाजस्तै रहेछ । हुन त सामान्य मान्छेका अनूभूतिलाई सामान्य नै सोचिएला । तथापि केही लेखुँ, केही सुनाउँ भन्ने लाग्दोरहेछ । साधारण मान्छेको जिन्दगीमा पनि असाधारण कथाहरु पाइन्छन् । हाँसिरहने मान्छेको हृदयमा पनि असीम व्यथाहरु हुन्छन् । जगत झुठो र जीवन नाशवान छ भने पनि जीवनलाई चलायमान बनाउनै पर्छ । जीवनयात्रामा हिँड्दा अनेकथरि परिवेश र अनौठा परिस्थितिसँग साक्षात्कार गर्नैपर्छ । यात्रामा प्राप्त अनुभव केही सुखद् हुन्छन् र केही दुःखद् । तिनै अनुभवबाट उत्पन्न भावहरुलाई अभिव्यक्त गर्नु नै लेखन हो ।

लेखन नशामा सबैभन्दा सुखद् अनुभूति कविता कोर्दा पाउँछु । गीत, गजल, कविता पढ्दा, सुन्दा, गाउँदा, लेख्दा, सुनाउँदा हृदय आल्हादित हुन्छ । अक्षरहरु उनेर शव्दमाला बनाउँदा मनमा सन्तोष छाउँछ । भावनाको अभिव्यक्ति नै लेखन हो । लेखकले पैसा र प्रसिद्धिका लागि लेख्दैन । यदि पैसाका लागि लेखिन्थ्यो भने मेघदूत, अभिज्ञान शाकुन्तल आदि कृतिहरु लेखिने थिएन । सोचाइमा नयाँ नयाँ कुरा सल्बलाउँछन् । मनोभूमिमा छाएका भावनालाई पानामा उतार्न खोजे पनि गज्याङमज्याङ हुन जान्छ कहिलेकाहीँ ।

सलबलाएका भावनाका अनेकौं अक्षरहरुमध्ये कुनै एउटा बेढङ्गको अक्षर पानामा आएर बसिदिन्छ । त्यसलाई निकास दिन कुनै तरहले वाक्य बनाएर टुङ्ग्याए पनि त्यस्तो निर्जन, एकाकी, विकृत र उपयोगताबिहीन वाक्यले आफैंलाई झस्काउँछ । लेखन एउटा निरुद्देश्य नशा बाहेक अरु केही होइन । आफूलाई ओकल्ने एउटा अर्थहीन भोक । अप्राप्य सन्तोषको खोज ।