हेटौंडाः दोस्रो संस्करणको मकवानपुर जिल्लास्तरीय अन्तरपालिका फुटबल प्रतियोगिताको उपाधी हेटौंडा उपमहानगरपालिकाले जितेको छ । शनिबार हेटौंडा–५, पिप्लेस्थित क्याम्पा रंगशालामा भएको प्रतियोगिताको फाइनल खेलमा मकवानपुरगढी गाउँपालिकालाई ४–० गोलअन्तरले हराउँदै हेटौंडाले उपाधी जितेको हो ।
हेटौंडाको जितमा विनोद घलान, लक्ष्मण बिडारी, सामेल सुनार र प्रितम स्याङ्बोले समान एक–एक गोल गरे । खेलको म्यान अफ द म्याच सुनार घोषित भए । जितसँगै हेटौंडाले नगद २ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता गढीले १ लाख रुपैयाँमा चित्त बुझाएका छन् । हेटौंडा साविक उपविजेतासमेत हो ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी हेटौंडाका सामेल सुनार घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगिताको विधागत उत्कृष्ट सबै हेटौंडाका घोषित भएका छन् । गोलरक्षक हेटौंडाका गोपी बर्तौला, डिफेन्डर धिरज भ्लोन, मिडफिल्डर प्रितम स्याङ्बो, फरवाड सागर कटुवाल र प्रशिक्षक विजयलाल श्रेष्ठ घोषित भए । विधागत उत्कृष्ट सबैले नगद ५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।
हेटौंडा बकैया गाउँपालिकालाई हराउँदै सेमिफाइनल प्रवेश गरेको थियो भने सेमिफाइनलमा भीमफेदी गाउँपालिकालाई हराउँदै फाइनल प्रवेश गरेको थियो । गढी इन्द्रसरोवर गाउँपालिकालाई हराउँदै सेमिफाइनल प्रवेश गरेको थियो भने बागमती गाउँपालिकालाई हराउँदै फाइनलमा प्रवेश गरेको थियो ।