हेटौंडाः हेटौंडा–सिन्धुली सडकखण्डअन्तर्गत हेटौंडा–१७, हटिया कठायतचोकमा बुधबार बिहान भएको दुर्घटनामा परी मृत्यु हुनेको संख्या २ जना पुगेको छ । दुर्घटना हुँदा घाइते भएकी बा प्र ०३–०५ प ७११ नम्बरको स्कुटर चालक नुवाकोट जिल्लाको ककनी नगरपालिका–४ घर भई हाल बागमती गाउँपालिकामा बस्दै आएकी जीना लामाको मृत्यु भएसँगै मृतकको संख्या दुई जना पुगेको हो ।
लामाको चितवनको पुरानो मेडिकल कलेजमा उपचारको क्रममा दिउँसो २ बजेर ३० मिनेटको समयमा मृत्यु भएको हो । दुर्घटना हुँदा घाइते भएका हेटौंडा–१८, भालुखोलाका १८ बर्षीय किशोर अर्जुन भोम्जनको भने हेटौंडा अस्पतालमा उपचारको क्रममा ११ बजेर ४० मिनेटको समयमा भोम्जनको मृत्यु भएको थियो । दुर्घटनामा घाइते भएकी स्कुटरमा सवार मकवानपुरको बागमती गाउँपालिका–८, शान्तिपुरकी ललिता मगरको चितवनको पुरानो मेडिकल कलेजमै उपचार भइरहेको छ । घाइते मोटरसाइकलमा सवार हेटौंडा–१८, भालुखोलाका दीपक घलानको हेटौंडामा उपचार भइरहेको छ ।