मातहतका अस्पताललाई हस्तान्तरण गरिएको एम्बुलेन्सहरु ।

हेटौंडाः बागमती प्रदेश सरकार मातहतको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौंडाले प्रदेश सरकार मातहतका ७ वटा अस्पताललाई एम्बुलेन्स हस्तान्तरण गरेको छ । बुधबार बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठले अस्पताललाई एम्बुलेन्स हस्तान्तरण गर्नुभएको हो ।

स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले कर छुट सुविधासहित प्रति एम्बुलेन्स ५२ लाख ९० हजार रुपैयाँमा खरिद गरिएको जनाएको छ । ख वर्गको एम्बुलेन्स भक्तपुरको भक्तपुर अस्पताल, ललितपुरको बज्रबाराही चापागाउँ अस्पताल, काठमार्डौंको टोखा चण्डेश्वरी अस्पताल, दोलखाको पशुपति चौलागाई स्मृति अस्पताल, काभ्रेको मेथिनकोट अस्पताल, रामेछापको रामेछाप अस्पताल र चितवनको बकुलहर–रत्ननगर अस्पताललाई हस्तान्तरण गरिएको छ ।

स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र परिसरमा आयोजना गरिएको एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव बद्रिबहादुर खड्का, प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक महेश्वर श्रेष्ठ, केन्द्रका प्रमुख डा. अर्जुनप्रसाद सापकोटाको पनि उपस्थिति रहेको थियो । प्रदेश सरकार मातहतमा १३ वटा अस्पताल रहेका छन् । यसअघि दुईवर्ष पहिले ५ वटा अस्पताललाई ख वर्गकै एम्बुलेन्स हस्तान्तरण गरेको थियो ।