प्रतिबद्धताहरु जानकारी गराउँदै मन्त्री पोखरेल ।

हेटौंडाः बागमती प्रदेश सरकारको कृषि तथा पशुपंक्षी विकास मन्त्री केशव पोखरेलले आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको छ । बुधबार मन्त्रालयको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गर्नुहुँदै मन्त्री पोखरेलले आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गर्नुभएको हो ।

गत माघ ११ गते बागमती प्रदेश सरकारको कृषि तथा पशुपंक्षी विकास मन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको मन्त्री पोखरेलले ४४ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गर्नुभएको छ । मन्त्री पोखरेलले प्रदेश भित्रका कृषकहरुलाई सहज र सर्वसुलभ रासायनिक, प्राङ्गारिक तथा जैविक मल उपलब्ध गराउन तत्काल कार्ययोजना तयार पार्ने पहिलो प्राथमिकतामा राख्नुभएको छ । अहिले संघीय सरकारबाट बागमती प्रदेशका लागि १७ हजार मेट्रिक टन मल मात्र आपुर्ति भइरहेको भएपनि पर्याप्त नभएको र संघीय सरकारलाई मलको कोटा बढाउन पहल गर्ने उहाँले बताउनुभएको छ । प्रदेशभित्र रहेका किसानहरुलाई व्यवसायिकताको आधारमा वर्गीकरण गरी किसान परिचय पत्र वितरण गर्ने व्यवस्था छिटो मिलाइने उहाँले प्रतिबद्धता पत्रमा उल्लेख गर्नुभएको छ ।

यस्तै कृषि, पशुपंक्षी र मत्स्य क्षेत्रमा विभिन्न रोगहरुको कारणबाट हुने क्षतिलाई न्यूनिकरण गर्न रोग नियन्त्रण पूर्व तयारी तथा प्रतिकार्य योजनाहरु कार्यान्वयन गरिने प्रतिबद्धता पत्रमा उल्लेख छ । कुखुरापालन व्यवसायको लागि दाना बनाउन आवश्यक पर्ने मकै आयातमा परनिर्भरतालाई कम गर्न दाना उद्योगको सहकार्य करारमा मकै खेती कार्यक्रम सञ्चालन गरिने उल्लेख गरिएको छ । यस्तै खुला रुपमा मासुको बिक्री वितरण र ओसार पोसार कार्यलाई बन्देज गर्दै लैजाने मन्त्री पोखरेलले प्रतिबद्धता पत्रमा उल्लेख गर्नुभएको छ ।