मिर्गौलाको पत्थरीको शल्यक्रिया गरिँदै ।

हेटौंडाः अत्याधुनिक प्रविधि भित्रिएसँगै मिर्गौलाको पत्थरीको हेटौंडामै उपचार सम्भव भएको छ । हेटौंडा–१ स्थित मकवानपुर सहकारी अस्पतालले करिब एक करोड रुपैयाँ लगानी गरी परक्युटानियस नेफ्रोलिथोटोमी प्रविधिको उपकरण भित्र्याएसँगै भरतपुरका विशेषज्ञ चिकित्सकलाई बोलाएर आइतबार एकजना विरामीको मिर्गौलाको पत्थरीको सफल शल्यक्रिया गरिएको छ ।

पाइपको माध्यमबाट दुरबीनमार्फत मिर्गौलामा रहेको पत्थरी निकालिएको हो । भरतपुर क्यान्सर अस्पतालमा कार्यरत युरो सर्जन डा. बिनोद बाबु घर्तीले आइतबार मकवानपुर सहकारी अस्पतालमा मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ का ३० वर्षीय दीपक घिमिरेको मिर्गौलाको पत्थरीको सफल शल्यक्रिया गर्नुभएको हो । अत्याधुनिक प्रविधिको प्रयोगले सहजै शल्यक्रिया सम्भव भएको डा. घर्तीको भनाइ छ ।

मकवानपुर सहकारी अस्पतालले अत्याधुनिक प्रविधि भित्र्याएर एक महिनादेखि साताको एक दिन मिर्गौला तथा मुत्रनलीसम्बन्धी समस्या भएका विरामीको स्वास्थ्य परीक्षण गर्दै आएको छ । काठमाडौं र भरतपुरमा यो प्रविधि प्रयोगमा आएको झण्डै दुई दशक भइसक्दा मकवानपुरमा भने पहिलो पटक यस्तो प्रविधि भित्रिएको डा. घर्तीको भनाइ छ । स्वास्थ्य सेवाको क्षेत्रमा विकसित अत्याधुनिक प्रविधि खरिद गर्नुभन्दा पनि त्यसको उपयोग गर्ने जनशक्ति व्यवस्थापन मुख्य चुनौती भएको डा. घर्ती बताउनुहुन्छ । अहिलेको प्रविधिले शल्यक्रियालाई सहज बनाएको उहाँले स्पष्ट पार्नुभयो ।

मकवानपुर जिल्लाको स्वास्थ्य सेवाको क्षेत्रमा सुधार गर्नकै लागि मकवानपुर सहकारी अस्पतालले झण्डै एक करोडको लागतमा अत्याधुनिक उपकरण भित्र्याएको मकवानपुर सहकारी अस्पतालका अध्यक्ष विष्णुगोपाल महर्जनले जानकारी दिनुभएको छ । चितवन जिल्लामा विशेषज्ञ चिकित्सक रहनुभएकोले सातामा एकपटक परीक्षण र चिकित्सकको समयअनुकुलमा शल्यक्रिया गर्ने गरी व्यवस्था मिलाइएको अध्यक्ष महर्जनको भनाइ छ । जिल्लाभित्रै सेवा उपलब्ध हुँदा सेवाग्राहीलाई सहज र सहुलियत हुने पनि महर्जनको दावी छ ।

पछिल्लो समय प्याकेजिङ गरिएका तयारी खाना (जंक फुड), चकलेट, प्रेटिनयुक्त खानेकुरा, रातो मासु खाने, पानी कम खाने बानीका कारण शरीरका विभिन्न भागमा पत्थरीको समस्या देखिने गरेको चिकित्सकको भनाइ छ । १० जनामध्ये एकजनामा पत्थरीको समस्या दिने गरेको बताइन्छ ।