हेटौंडाः थारु जातिको प्रमुख पर्व माघीको अवसरमा हेटौंडामा महोत्सवको आयोजना गरिएको छ । पाँचौ थारु माघी महोत्सवमा झाँकी, नाचगान, शुभकामना आदनप्रदानसँगै थारुको परिकारहरु र गहनाको स्टलहरु राखेर आइतबार भव्य रुपमा मनाइएको हो ।
महोत्सवमा घुंगीको विशेष परिकार, माछाको अचार, तिल र भुजाको लड्डु लगायतका खानेकुरा स्टलहरुमा बिक्रीका लागि राखिएको थियो । महोत्सवमा विशेष लौरी नृत्य, थारु युवा, महिला र विभिन्न समुहले थारु, नेपाली र हिन्दी गीत गायन तथा नृत्यसँगै थारुको कला, पोशाक, गहना, घरेलु सामग्रीहरु प्रस्तुत गरेका थिए ।
![](https://samriddhasamaj.com/wp-content/uploads/2023/01/maghi-768x1024.jpg)
‘थारु संस्कृतिको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धनमा हाम्रो अभियान, न्याय, समानता र अधिकारका लागि हाम्रो आन्दोलन’ भन्ने नाराका साथ माघी महोत्सवको आयोजना गरिएको हो । कार्यक्रम जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख ललित घलानको प्रमुख आतिथ्य तथा पाँचौ थारु माघी महोत्सव मूल आयोजक समितिका संयोजक एवं थारु कल्याणकारिणी सभा मकवानपुरका सभापति हरिलाल चौधरीको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा थारु कल्याणकारिणी सभाकी केन्द्रिय सदस्य जानकी चौधरी र नेपाल आदिवासी जनजाती महासंघका मकवानपुर अध्यक्ष जंगबहादुर गुरुङको विशेष आतिथ्य रहेको थियो । कार्यक्रममा नेपाल मगर संघ बागमती प्रदेशका बरिष्ठ उपाध्यक्ष होम बहादुर राना मगर, किराँत राई याःयोख्खा मकवानपुरका अध्यक्ष केबी राई, नेपाल तामाङ घेदुङ्गका मकवानपुरका सचिव आत्माराम मोक्तान, दनुवार जागरण समिति मकवानपुरका सचिव कृष्ण बहादुर राई दनुवार, थारु कल्याणकारिणी सभा मकवानपुरका संस्थापक सचिव एवं नेपाल थारु संघ समाजवादीका केन्द्रीय अध्यक्ष शिवनाथ चौधरी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा नेपाल मगर संघ मकवानपुरका अध्यक्ष सन्तोष तुम्सीङ मगर, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मकवानपुरका अध्यक्ष अशोकसुजन श्रेष्ठ, थारु कल्याणकारिणी सभा मकवानपुरका संस्थापक सदस्य किशोर कुमार चौधरी, थारु महिला सभाकी जिल्ला अध्यक्ष द्रोपती देवी चौधरी, थारु युवा सभाका जिल्ला अध्यक्ष परमानन्द चौधरी, थारु विद्यार्थी सभाका जिल्ला अध्यक्ष राजेश प्रसाद चौधरी लगायतको आतिथ्य रहेको थियो ।