हेटौंडाः हेटौंडा उपमहानगरपालिकालाई २०८० साल मंसिरसम्ममा बालमैत्री पालिका घोषणा गर्ने लक्ष्यसहित तयारी थालिएको छ । वडास्तरमा सरोकारवालालाई अभिमुखीकरणको कार्य सुरु गरेको उपमहानगरपालिकाले बालविवाह र बालश्रमलाई प्रमुख चुनौतिको रुपमा हेरेको छ । हेटौंडा उपमहानगरपालिकाको महिला तथा बालबालिका महाशाखाकी प्रमुख विष्णु कुमारी लामिछानेले हेटौंडा उपमहानगरपालिकालाई बालमैत्री पालिका घोषणा गर्ने तीव्र तयारी भइरहेको र प्रमुख चुनौतिको रुपमा बालविवाह र बालश्रम रहेको स्पष्ट पार्नुभयो ।
बुधबार समृद्ध समाजसँग कुरा गर्नुहुँदै महाशाखा प्रमुख लामिछानेले भन्नुभयो, ‘अहिले प्रत्येक वडामा वडास्तरीय बालमैत्री अभिमुखीकरण कार्यक्रम भइरहेको र यसमा हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख, नगर उपप्रमुख लगायत सम्पूर्ण वडाका जनप्रतिनिधिहरु समेत सक्रियताका साथ सहभागी भइरहनुभएको छ । हाम्रा लागि प्रमुख चुनौतिको रुपमा बालविवाह र बालश्रम नै हुन् ।’ महाशाखा प्रमुख लामिछानेका अनुसार अहिले हेटौंडा उपमहानगरपालिकाले बालमैत्री राष्ट्रिय सहजकर्ता विष्णुप्रसाद चौवेलाई सहजकर्ताको भूमिका निर्वाह गरिरहनुभएको छ । सहजकर्ता चौवेले बालमैत्री पालिका घोषणाका विषयमा प्रत्येक वडामा अभिमुखीकरण गरिरहनुभएको छ ।
हालसम्म १, २ र ३ नम्बर वडामा अभिमुखीकरण कार्यक्रम भइसकेको र बाँकी वडाहरुमा पनि मंसिर मसान्तसम्म अभिमुखीकरणको कार्य पूरा हुने बताइएको छ । बालमैत्री पालिका घोषणाका लागि पूरा गर्नुपर्ने कार्यसम्बन्धी ५१ वटा सूचकमा १५ वटा संस्थागत विकास सूचक, १४ वटा बाल बचाउ सूचक, १० वटा बाल संरक्षणका सूचक, बाल विकासका सूचक र बाल सहभागिताका सूचक समान ६-६ वटा रहेको बताउनुभयो । ती सूचकहरु मध्ये बाल संरक्षणसम्बन्धी सूचकभित्र पर्ने बाल विवाह, बालश्रम नियन्त्रण जस्ता कुराहरुमा चुनौतीको रुपमा रहेको छ ।
बालमैत्री सहजीकरण समितिमा हेटौंडा उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईको संयोजक रुहनुभएको छ । हेटौंडा उपमहानगरपालिकाले विभिन्न संघ, संस्थाहरुसँग समन्वय गरी बालमैत्री पालिका घोषणाको तयारी गरिरहेको छ । २०८० साल मंसिरभित्र हेटौंडा उपमहानगरपालिकालाई बालमैत्री पालिका घोषणा गर्ने लक्ष्य रहेको लामिछानेले भन्नुभयो । ५१ सूचकमा नवजात शिशुको स्वास्थ्य जाँच, दक्ष स्वास्थ्यकर्मीबाट सुत्केरी गराउने, ६ महिनासम्म बालबालिकालाई स्तनपान, ५ वर्षसम्मका बालबालिकालाई भिटामिन क्याप्सुल खुवाएको र सबै किसिमका खोप लगाएको हुनुपर्नेछ । यसका साथै खानेपानीको पहुँच, शौचालयको सुलभता जस्ता सूचकहरु पनि पूरा हुनुपर्ने छ ।
उपमहानगरको नियमित कार्यक्रमले पनि बालअधिकारको संरक्षण गर्दै आएको उल्लेख गर्नुहुँदै लामिछानेले भन्नुभयो, ‘नगरस्तरीय अभिमुखीकरण कार्यक्रममा नगरप्रमुख, उपप्रमुखसहित जनप्रतिनिधि र कर्मचारीलाई बालमैत्री पालिकाको अवधारणा र हेटौंडा उपमहानगरपालिकाले गर्नुपर्ने कामका विषयमा जानकारी गराइएको छ ।’ चाडपर्व र निर्वाचनका कारण केही समय काम हुन नपाएको उहाँको भनाइ छ । चाडपर्व र निर्वाचनको समयमा आन्तरिक व्यवस्थापनको काम गरिएको जानकारी दिनुहुँदै निर्वाचन सकिएलगत्तै बालमैत्री पालिका निर्माणको तयारीबारे सूचना जारी भइसकेको र काम सुरु गरिएको उहाँले बताउनुभयो ।
उपमहानगरपालिकाले सरोकारवाला निकायसँग समन्वय, सहकार्यको प्रयास थालनी गरिसकेको छ । बालमैत्री पालिका घोषणाका लागि कार्ययोजना बनिसकेको र कुन–कुन निकायले के–के सहयोग गर्न सक्छ ? सहकार्य गर्न सक्छ ? भने पहिचान गरेर ती निकायबाट प्रतिवद्धता लिइसकेको उहाँले बताउनुभयो ।
बालमैत्री पालिका घोषणाका लागि आवश्यक तयारीस्वरुप बालबालिका सम्बन्धी ऐन, बालकोष कार्यविधि बनिसकेको र बालअधिकार संरक्षण नीति बनाउने चरणमा रहेको लामिछानेले जानकारी दिनुभयो । बालअधिकार संरक्षण नीतिमा आचारसंहितालाई पनि सम्बोधन गरेर सँगसँगै लैजाने प्रयासमा लागिरहेको उल्लेख गर्नुहुँदै उहाँले भन्नुभयो, ‘वडा अध्यक्षको नेतृत्वमा बालमैत्री पालिका घोषणाका लागि वडा सदस्य, स्वास्थ्य स्वयम्सेविका, टोल विकास संस्थाका पदाधिकारी, सामाजिक संघ, संस्था, शिक्षक, विद्यार्थीको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ ।’