हेटौंडाः बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडामा कार्यरत वरिष्ठ प्रहरी निरीक्षक उमेश कोइराला प्रदेशकै उत्कृष्ट प्रहरी घोषित हुनुभएको छ । कोइरालाको कार्य मूयाङ्कन गर्दै प्रदेश प्रहरी कार्यालयले कार्तिक महिनाको उत्कृष्ट प्रहरी घोषणा गरेको हो ।

वरिष्ठ प्रहरी निरीक्षक कोइरालाले सांगठनिक नीति निर्देशनबमोजिम जिम्मेवारी तथा दायित्वलाई इमानदारीका साथ कर्तव्यनिष्ठ भई सम्पादन गरेको विवरणमा उल्लेख गरिएको छ । कोइरालाले मंसिर ४ गतेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, व्यवस्थित एवम् भयरहित वातावरणमा सम्पन्न गराउन केन्द्रिय नीति बमोजिम प्रदेशभरको प्रहरी जनशक्ति, म्यादी प्रहरी व्यवस्थापन, हातहतियार, सञ्चार साधन र सवारी साधनको योजना अनुसार तयार गरी तालुक केन्द्रीय निर्वाचन सेलसंग आवश्यक समन्वय गरेको जनाइएको छ ।

यस्तै समयमै अपुग जनशक्ति र हातहतियारको व्यवस्थापन गरेको, निर्वाचनसँग सम्बद्ध अभिलेखहरु दुरुस्त ढंगले तयार गरी नियमितरुपमा सम्भावित सुरक्षा चुनौतीको विश्लेषण एवम् प्रतिवेदनद्वारा निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन प्रदेश निर्वाचन सेलमा रहेर सक्रिय सहयोगीको भुमिका निर्वाह गरेको विवरणमा उल्लेख छ ।