करिब दुई महिना अघिदेखि देखिएको डेंगु रोगको संक्रमण बढ्दै गएको छ । लामखुट्टेको टोकाइबाट सर्ने डेंगु रोगको संक्रमण देशव्यापी बनेको छ । अन्य प्रदेशको तुलनामा बागमती प्रदेशमा यसको संक्रमण व्यापक देखिएको छ । बागमती प्रदेशमा पनि तुलनात्मकरुपमा मकवानपुर जिल्लामा डेंगु संक्रमण भयाबह बन्दै गएको छ । विगतका वर्षहरुमा फाट्टफुट्टमात्र देखिने डेंगुका बिरामीले हेटौंडाका सबै स्वास्थ्य संस्थामा भिडभाड देखिएको छ । डेंगु नियन्त्रणका लागि तीनै तहको सरकारले विभिन्न प्र्रयास गरे पनि प्रभावकारी बन्न सकेको छैन । डेंगु संक्रमण कम हुनुको साटो बढ्दै गएपछि आम सर्वसाधारणमा पनि त्रास बढ्दै गएको छ । डेंगु संक्रमण कम नहुँदा डेंगुको आशंकामा स्वास्थ्य परीक्षण गराउन आउनेको संख्या पनि निकै बढिरहेको छ । पानी पर्ने क्रम नरोकिएको र बजार क्षेत्रमा डेंगु सार्ने लामखुट्टेका लागि सुरक्षित स्थल नष्ट गर्न नसकेका कारण संक्रमण कम हुन सकेको छैन ।

साउन पहिलो साताबाट सुरु भएको डेंगुको संक्रमण अहिले देशका ७६ जिल्लामा फैलिएको छ । देशभर मंगलबारसम्म २५ हजार ५ सय ४३ जनामा डेंगुको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ । डेंगुकै कारण मंगलबारसम्म ३२ जनाले ज्यान गुमाएका छन् भने बुधबार एकै दिन थप ४ जनाको मृत्यु भएको छ । बागमती प्रदेशमा मात्रै कुल संक्रमितको ७८ प्रतिशत अर्थात् करिब २० हजार जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । मकवानपुरमा मंगलबार १ सय ८५ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । मंगलबारसम्म मकवानपुरमा २ हजार ६ सय ९१ जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरको तथ्यांक छ । जिल्लाको हेटौंडा उपमहानगरपालिकामा सबैभन्दा धेरै २ हजार ४ सय १६ जनामा डेंगु संक्रमण देखिएको छ । मंगलबारसम्म मकवानपुरको भीमफेदीमा २६ जना र मनहरीमा एक सय १५ जना, थाहामा ५६ जना, मकवानपुरगढीमा ४२ जना, बागमतीमा ६ जना, कैलाशमा ५ जना, बकैयामा १५ जना र राक्सिराङमा ३ जनामा डेंगु संक्रमण देखिएको तथ्यांक छ । मकवानपुर जिल्लामा डेंगु संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

हेटौंडाका अस्पतालहरुमा दैनिकरुपमा डेंगुका बिरामी बढ्ने गरेको चिकित्सकहरुको भनाइ छ । डेंगु रोगले महामारीको रुप लिँदै गएकाले यसबाट बच्न आफैं सचेत रहन चिकित्सकहरुको आग्रह छ । डेंगुले महामारीको रुप लिन थालेपछि आम नागरिकले पनि अहिले डेंगुलाई गम्भीररुपमा लिनु आवश्यक भएको छ । डेंगु संक्रमण लामखुट्टेको टोकाइबाट हुने भएकाले डेंगुबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्ने डाक्टरहरुको सुझाव छ । डेंगु एडिस जातिको एजिप्टाई र अल्बोपिक्टस पोथी लामखुट्टेको टोकाइबाट संक्रमण हुने रोग हो । यो भाइरसको संक्रमण हुँदा उच्च ज्वरो आउने, शरीरमा डाबर देखापर्ने, बान्ता हुने, जिउ सुन्निने र टाउको तथा पूरै जीउ दुख्ने गर्दछ । जताततै दशैंको रौनक सुरु भइसकेकोले सरकारी तथा सामुदायिक स्तरबाट डेंगु नियन्त्रणमा ध्यान पुग्न सकेको छैन ।

आम मानिसको बेवास्ता र लापरबाहीकै कारण डेंगु फैलिरहेको हुँदा जनचेतना अभिवृद्धिसँगै डेंगु हुर्कने ठाउँहरु नष्ट नगर्दा यसको नियन्त्रण प्रभावकारी हुन सकेको छैन । तीन तहको सरकारबीच आवश्यक समन्वय नहुँदा डेंगु नियन्त्रणका लागि चलाइएका अभियानहरु प्रभावकारी देखिएका छैनन् । हेटौंडा उपमहानगरपालिकाले केही क्षेत्रमा विषादी छर्किएर लामखुट्टे नष्ट गर्ने प्रयास गरेको भए पनि त्यसको निरन्तरता र व्यापकता नहुँदा सार्थक बन्न सकेको छैन । पानी जम्ने सामग्री र स्थानहरुको उचित व्यवस्थापन गरेर लामखुट्टेको बासस्थान नष्ट नगरेसम्म डेंगु नियन्त्रण सम्भव नहुने भएकाले व्यक्ति, समुदाय, सरकार सबै पक्ष जागरुक बन्नु आवश्यक छ ।