सुदीप राज गिरी प्रिन्सीपल, मकवानपुर बाल विद्या सदन

वडा दशैं, तिहार, छठ पर्वको अवसरमा विद्यालयहरु लामो समय बन्द हुन्छन् । करिब डेढ महिनाको विदामा विद्यार्थी–शिक्षक कसरी रचनात्मक बन्ने ? अभिभावकले आफ्ना बालबालिकालाई के कस्ता कुरा कसरी सिकाउन सक्छन् ? बिदाको समयमा सिकाई र बुझाईको कार्यलाई कसरी निरन्तर कायमै राख्न सकिन्छ भन्ने विषयमा खासै ध्यान पुग्न सकेको छैन । अधिकांश विद्यालयले विद्यार्थीलाई धेरै गृहकार्य दिने गरेको छ । यस्तो गृहकार्यलाई विद्यार्थीले बोझको रुपमा लिने गरेका छन् । लामो समयको विदालाई विद्यार्थी र शिक्षक दुबै वर्गले कसरी रचनात्मक र उपलब्धीमूलक बनाउन सक्छन् भन्ने विषयमा गुणस्तरीय शिक्षामा चिन्तन गर्नुहुने हेटौंडा–१८, खड्कुलेस्थित मकवानपुर बाल विद्या सदनका प्रिन्सीपल सुदीप राज गिरीसँग समृद्ध समाज दैनिकका सम्पादक सुरेश श्रेष्ठले गर्नुभएको कुराकानीः

विद्यार्थी भाईबहिनी तथा शिक्षक साथीहरुलाई यो दशैं बिदा कसरी सदुपयोग गर्न सल्लाह दिनु भएको छ ?
गिरीः दशैंदेखि तिहारसम्म अझ भनौं छठ पछि मात्र विद्यालय खुल्ने गरी अधिकांश विद्यालयहरुले बिदा दिएको छ । यो भनेको एक महिना जस्तो हुन आउँछ । विद्यार्थीलाई कसरी रचनात्मक बनाउने भन्ने विषयमा प्रायः विद्यालयले सोचेको पाईन्छ । यो दशैं तिहार बीचमा दिईने बिदामा हामीले होमवर्क दिने कि नदिने भन्ने विषयमा शिक्षासँग सम्बन्धित शिक्षकमै बिवाद छ । भर्चुअल रुपमा यसअघि दशैं मनाउने अवस्था थियो । अहिले कोरोना महामारी न्यून भएपछि स्वतःस्फूर्त बच्चाहरुले रमाइलोसँग दशैं मनाउन पाएका छन् । जसलाई बञ्चित गर्नुहुन्न जस्तो लाग्छ । बालबालिकालाई दशैं एउटा सम्बन्ध विकास र भेटघाटको अवसर हो । आर्थिक रुपमा सक्षम नहुँदा समेत पहिलाको दशैं रमाइलोसँग कसरी मनाइन्थ्यो भन्ने कुरा साथीभाईसँग सुनाउनुपर्छ । हालको दशैं यतिधेरै आर्थिक विकास भइसक्दा पनि किन रमाइलो बन्न सकेन भन्ने विषयमा छलफल गर्नुपर्छ । अघिल्लो पुस्ताको अनुभवलाई पछिल्लो पुस्तामा हस्तान्तरण गर्नुपर्छ । अभिभावकलाई पनि रचनात्मक र सकारात्मक रुपमा आफ्ना अनुभव पुस्तान्तरण गर्नु हुन अनुरोध गरिएको छ । दशैंमा के कस्ता क्रियाकलाप भयो भनेर परियोजना कार्य पनि दिन सकिन्छ ।

परियोजना कार्यलाई विद्यार्थीले होमवर्कको रुपमा लिने जोखिम कत्तिको हुन्छ ?
गिरीः दशैंको बेलामा विद्यार्थी बिहानैदेखि रमाईलो गर्ने तरखरमा नहुने भएकोले केहि समय परियोजनाको लागि छुट्याउनका लागि हामीले होमवर्क नभई परियोजना कार्य दिएका हौं ।

दशैंको बेलामा विद्यार्थीलाई कसरी रचनात्मक बनाउने सोच्नु भएको छ ?
गिरीः हाम्रो विद्यालयमा कक्षा पाँचदेखि माथिको सम्पूर्ण विद्यार्थीले प्रत्येक दिन एउटा स्थानीय पत्रिका घरमा लग्ने भएकोले हामीलाई अभिभावकहरुसँग जोडिन सजिलो भएको छ । त्यसका साथसाथै हामीले बेलाबेलामा अभिभावक भेला गरेर दिनको कम्तीमा २० मिनेट समय निकालेर आफ्ना बालबालिकासँग पत्रपत्रिका, पुस्तक पढ्न अनुरोध गरेका छौं । जसले गर्दा अभिभावक र बालबालिका दुबैको पठन संस्कृति विकास हुनुका साथै विद्यालयको गतिविधिहरुको जानकारी प्राप्त हुन्छ ।

पूर्वप्राथमिक र प्राथमिक तहका विद्यार्थीलाई दशैंको समयमा कसरी र कस्तो कस्तो कुरा सिकाउन सकिएला ?
गिरीः हामीले साना साना बालबालिकाहरुलाई चाडपर्वको समयमा विद्यालयको होमवर्क गरिरहेको महसुस नहुने गरी चाडपर्वको समयमा हामीले पुज्ने देवि देवताहरुको चित्र बनाउन लगाउने, ती देवि देवताहरुको महत्व बुझाउने, मान्यजनहरुलाई सम्मान गर्न सिकाउने र उहाँहरुबाट आशिष लिने र लिन लगाउने जस्ता ज्ञानगुनका कुराहरु सिकाएर बालबालिकाहरुको समय सदुपयोग गर्न सकिन्छ ।

चाडवाडको बिदाको समयमा बालबालिकाको पढ्ने समय होईन भन्ने अभिभावकको बुझाई कसरी परिवर्तन गर्न सकिन्छ ?
गिरीः खासमा सबै अभिभावकहरुको बुझाइ यस्तै रहेको छ । त्यसकारण हामीले विद्यार्थीलाई केही परियोजना दिने गर्छौ ताकि विद्यार्थी नौ दिनमा नौलो, २० दिनमा बिर्सियो र ३० दिनमा तर्सियो नहोस् भनेर । अभिभावकले बुझ्ने हो भने विद्यार्थीले धर्म, संस्कृति र चाडपर्वको बारेमा विद्यालयको पाठ्यपुस्तकमा पढ्नै पर्दैन । पूर्खाहरुबाट हाम्रा संस्कृतिका कुराहरु पुस्तान्तरण हुँदै आउनुपर्छ जस्तो मलाई लाग्छ । त्यसैले यो सबैभन्दा उपयुक्त समय हो, अभिभावकले आफ्ना बालबालिकालाई धर्म, संस्कृतिको बारेमा सिकाउन् र बुझाउन् ।

केही विद्यालयले दशैभन्दा अगाडि नै टिका र जमरा लगाइदिएर बिदा गरेको कुरा चाँहि कत्तिको जायज छ जस्तो लाग्छ तपाईलाई ?
गिरीः यो एउटा सामूहिक रुपमा चाडपर्व मनाउनुपर्छ भन्ने सन्देश दिन खोजेको हो । किनकी विद्यार्थी विद्यालय बिदा भइसकेपछि आ–आफ्नो घरमा जाने भएकोले विद्यार्थीलाई परिवार तथा समाजमा मिलेर सामूहिक रुपमा चाडपर्व मनाउन सन्देश दिएको हो । किनकी विद्यार्थीले शिक्षक तथा अभिभावकहरुले जस्तो सिकाउनुहुन्छ त्यस्तै सिक्ने र व्यवहारमा देखाउने गर्दछ ।

अभिभावक, शिक्षक, बिद्यार्थीले एकदम ध्यान दिनुपर्ने साझा कुरा के रहन्छ ? अध्ययन नै रहन्छ या के गर्न सक्यो भने चै विशेष त बालबालिकालाई शिक्षक र अभिभावकले सहयोग गर्न सक्छ ?
गिरीः शिक्षक, अभिभावक र विद्यार्थी एउटै समाजमा बस्ने हुनाले शिक्षक र अभिभावकको निगरानीमा विद्यार्थी भाईबहिनीलाई खेलकुद चाडपर्व लगायतका विषयहरुमा सामूहिक रुपमा छलफल र सिकाउन सकिन्छ । जसले गर्दा विद्यार्थीले धर्म, संस्कृतिको विषयमा थप ज्ञान पाउनुका साथै समुदायमा बस्ने सबैसँग घुलमिल हुने वातावरण पाउँछ । शिक्षकले आफ्नो समुदायमा रहेको जुनसुकै विद्यालयमा पढ्ने बालबालिकालाई भेला गरी मित्रवत् सम्बन्ध विस्तार गर्ने र महत्वपूर्ण विषयहरुमा छलफल गरेर महत्वपूर्ण समय सदुपयोग गर्न सकिन्छ ।