हेटौंडाः बागमती प्रदेशसभा सदस्य तथा नेकपा एकीकृत समाजवादीकी नेतृ मुनु सिग्देलले जिल्ला प्रहरी कार्यालय मातहत रहेका महिला प्रहरीका लागि सेनेटरी प्याड हस्तान्तरण गर्नुभएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरमा रहेर सेवामा रहेका महिला प्रहरीलाई महिनावारीको समयमा समस्या नहोस् भन्नका लागि हिजो आइतबार सिग्देलले सेनेटरी प्याड हस्तान्तरण गर्नुभएको हो ।
बागमती प्रदेश सभा सदस्य सिग्देलले महिला सेल प्रमुख प्रहरी निरीक्षक चुडाकुमारी खड्कालाई मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरिक्षक बामदेब गौतमको उपस्थितिमा ४ बोरा सेनेटरी प्याड हस्तान्तरण गर्नुभएको छ । हस्तान्तरण गरेको ४ बोरामा ३ हजार ८ सय ४० पिस सेनेटरी प्याड रहेको छ । माहिनावारीको समयमा आकस्मिक रुपमा आवश्यकता पर्दा प्रयोग गर्न सकिने र काममा सहजता हुने भएकाले महिलाहरुको समस्यालाई बुझेर सामग्री हस्तान्तरण गरेको उहाँले बताउनुभयो ।
कार्यक्रममा प्रहरी उपरिक्षक गौतमले सहयोगका लागि आभार व्यक्त गर्नुभयो । उहाँले स्थानिय तहले पनि यस्ता कामहरु गर्न आवश्यक रहेको बताउनुभयो । महिला प्रहरीलाई यस्ता खालको सहयोगले मनोबैज्ञानिक रुपमा काम गर्न सहज हुने उहाँको भनाई छ ।