हेटौंडाः हेटौंडा–२ स्थित मकवानपुर बहुमुखी क्याम्पसकी एक पूर्व विद्यार्थी भारतको आन्ध्र प्रदेशस्थित विश्वविद्यालयमा टप भएकी छिन् । क्याम्पसकी पूर्व विद्यार्थी नमूना न्यौपाने विश्वविद्यालयको प्रथम सेमिष्टरको दश अंकको ग्रेड प्वाइन्टमा ८ दशमलब ७१ ग्रेड प्राप्त गरी विश्वविद्यालयमा सर्बोत्कृष्ट भएकी मकवानपुर बहुमुखी क्याम्पसले जनाएको छ ।
न्यौपाने भारतको आन्ध्र प्रदेशस्थित विश्वविद्यालयमा “रिमोट सेन्सिङ” विषयमा स्नातकोत्तर गर्दैछिन् । उनले सन् २०२१ मा सो विश्वविद्यालयमा एम टेक अध्यनार्थ भारतीय दुतावास मार्फत् छात्रवृत्ति प्राप्त गरेकी छिन् । स्थायी घर गोरखा भएकी न्यौपानेले विद्यालय तहको अध्ययन हेटौंडास्थित ज्ञानोदय बाल बाटिका एकेडेमीमा गरेकी थिइन् । मकवानपुर बहुमुखी क्याम्पसबाट विज्ञान संकायमा प्लस टु गरेकी न्यौपाने त्रिभुवन विश्वविद्यालय पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा स्नातक गरेकी हुन् ।