हेटौंडाः मकवानपुर जिल्लामा रहेका १० वटै स्थानीय तहले चालु आर्थिक वर्ष २०७९/८० को बजेट गाउँसभा तथा नगरसभाबाट पारित गरेको छ । जिल्लामा रहेको एउटा उपमहानगरपालिका, एउटा नगरपालिका र ८ वटा गाउँपालिकाले चालु आर्थिक वर्षको लागि कूल ८ अर्ब ८२ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको हो ।
मकवानपुर जिल्लाको स्थानीय तहमध्ये सबैभन्दा धेरै बजेट हेटौंडा उपमहानगरपालिकाले विनियोजन गरेको छ भने सबैभन्दा कम बजेट इन्द्रसरोबर गाउँपालिकाले विनियोजन गरेको छ । हेटौंडा उपमहानगरपालिकाले चालु आर्थिक वर्षका लागि कूल २ अर्ब ७१ करोड ७९ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । जसमा उपहानगरपालिकाको आम्दानीको स्रोततर्फ आन्तरिक स्रोतबाट ९४ करोड ३६ रुपैयाँ प्राप्त हुने अनुमान गरेको छ । राजस्व बाँडफाँडबाट ५८ करोड ९३ लाख रुपैयाँ र प्रदेशको विभिन्न अनुदानबाट ९ करोड ५८ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । त्यसैगरी, संघीय सरकार अनुदानबाट १ अर्ब ६ करोड ९५ लाख र अन्य आय र संघसंस्थातर्फ १ करोड ९६ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।
यस्तै, मकवानपुरको थाहा नगरपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि १ अर्ब १० करोड ८७ लाख ३० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । बजेटमा आन्तरिक आय १९ करोड ७९ लाख रुपैयाँ, संघीय सरकारबाट १७ करोड १६ लाख रुपैयाँ, प्रदेश सरकारबाट ५ करोड ५ लाख रुपैयाँ, सशर्त अनुदान ३२ करोड १४ लाख रुपैयाँ, राजश्व बाँडफाँडबाट १९ करोड ६८ लाख रुपैयाँ र सामाजिक सुरक्षा शीर्षकमा १५ करोड रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ । थाहा नगरको आगामी आर्थिक वर्षको चालु खर्च ९ करोड ९७ लाख रुपैयाँ तथा पुँजीगत खर्चतर्फ ५१ करोड ७२ लाख रुपैयाँ रहने अनुमान गरिएको छ ।
भीमफेदी गाउँपालिकाले चालु आर्थिक वर्षमा ५९ करोड ९५ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । भीमफेदी गाउँपालिकालाई राजश्वबाट १ करोड ४४ लाख रुपैयाँ, संघीय सरकारबाट समानीकरण अनुदान ११ करोड २३ लाख रुपैयाँ, सशर्त अनुदानमा २० करोड ७६ लाख, विशेष अनुदानमा ६० लाख रुपैयाँ, प्रदेश सरकारबाट समानिकरण अनुदानमा १ करोड २ लाख रुपैयाँ, विशेष अनुदानमा ७५ लाख र समपुरक अनुदानमा २ करोड ९९ लाख रुपैयाँ प्राप्त हुने जनाएको छ । यस्तै, राजश्व बाँडफाँडबाट १७ करोड ५ लाख रुपैयाँ र पुँजीगततर्फ ३० करोड ३९ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।
त्यसैगरी, बागमती गाउँपालिकाले चालु आर्थिक वर्षका लागि ६३ करोड १९ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । गाउँपालिकाले संघीय सरकारको अनुदानमा वित्तीय समानीकरणमा ११ करोड ९० लाख रुपैयाँ, समपूरक अनुदानमा ७० लाख रुपैयाँ, विशेष अनुदानमा २ करोड रुपैयाँ, सशर्त अनुदान चालुमा १९ करोड ४९ लाख र सशर्त अनुदान पुँजीगततर्फ २ करोड ३ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरेको छ । यस्तै, प्रदेश सरकारको अनुदानमा ७ करोड ३३ लाख रुपैयाँ, राजश्व बाँडफाँडमा १६ करोड ३३ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरेको छ । त्यसैगरी आन्तरिक अनुदानमा ३ करोड ४० लाख रुपैयाँ आम्दानी हुने उल्लेख गरेको छ ।
मनहरी गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि ९१ करोड ८ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । त्यसैगरी, राक्सिराङ गाउँपालिकाले ६२ करोड ३४ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आगामी आर्थिक वर्ष २०७९/८० मा केन्द्रीय अनुदानतर्फ गाउँपालिकालाई वित्तीय समानीकरणमा १० करोड ७७ लाख रुपैयाँ प्राप्त भएको छ । यस्तै, सशर्त अनुदानमा १९ करोड ४२ लाख रुपैयाँ, विशेष अनुदानमा १ करोड ५० लाख रुपैयाँ, समपूरक अनुदानमा १ करोड २० लाख रुपैयाँ र राजश्व बाँडफाँडमा १० करोड ६६ लाख रुपैयाँ गरी संघीय सरकारबाट जम्मा ४३ करोड ५५ लाख १७ हजार रुपैयाँ प्राप्त हुने उल्लेख गरेको छ ।
यस्तै, गाउँपालिकालाई प्रदेश सरकारबाट वित्तीय समानीकरणमा ९६ लाख ८ं९ हजार रुपैयाँ, सवारी करको बाँडफाँड १ करोड रुपैयाँ, सशर्त अनुदानमा ३ करोड १० लाख रुपैयाँ, विशेष अनुदानमा १ करोड ५० लाख रुपैयाँ, समपूरक अनुदान ३ करोड रुपैयाँ गरी प्रदेश सरकारबाट जम्मा ९ करोड ५७ लाख ५८ हजार रुपैयाँ प्राप्त हुने उल्लेख छ । यस्तै, आन्तरिक आम्दानीमा ९ करोड २१ लाख ४० हजार गरी गाउँपालिकाको कूल बजेट ६२ करोड ३४ लाख १५ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।
इन्द्रसरोबर गाउँपालिकाले ४२ करोड ६३ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । इन्द्रसरोबर गाउँपालिकालाई संघीय सरकारबाट वित्तीय समानीकरण अनुदानमा ८ करोड १० लाख रुपैयाँ, सशर्त अनुदानमा १४ करोड २ लाख रुपैयाँ, राजश्व बाँडफाँड अनुदानमा ६ करोड ५९ लाख रुपैयाँ, विद्युत् रोयल्टी र वनमा २ करोड २७ लाख रुपैयाँ, विशेष अनुदान १ करोड ५० लाख र समपूरक अनुदान १ करोड ५ लाख रुपैयाँ प्राप्त हुने भएको छ । यस्तै, प्रदेश सरकारतर्फ वित्तीय समानीकरण अनुदानमा ६८ लाख २० हजार रुपैयाँ, चालु तथा पुँजीगत अनुदानमा २ करोड १७ लाख रुपैयाँ, राजश्व बाँडफाँड अनुदानमा १ करोड ७४ लाख रुपैयाँ, समपूरक कोष अनुदानमा २ करोड ९८ लाख र विशेष अनुदानमा ४० लाख रुपैयाँ प्राप्त भएको छ । गाउँपालिकाको आर्थिक वर्ष २०७९/०८० को अनुमानित आन्तरिक आय १ करोड १२ लाख रुपैयाँ रहेको छ ।
यस्तै, मकवानपुरगढी गाउँपालिकाले ४७ करोड ७७ लाख ६७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकामा प्रदेश सशर्त र विशेष अुनदानमा ३ करोड रुपैयाँ, प्रदेश समपूरक योजनाबाट ३ करोड रुपैयाँ प्राप्त भएको छ । यस्तै, कैलाश गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि ५१ करोड १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । गाउँपालिकालाई संघीय सरकारबाट वित्तीय समानीकरणमा १ करोड १८ लाख रुपैयाँ, सशर्त अनुदानमा १७ करोड ६६ लाख रुपैयाँ, राजश्व बाँडफाँडमा १० करोड १३ लाख रुपैयाँ, विशेष अनुदानमा १ करोड रुपैयाँ, समपूरक अनुदानमा ७० लाख गरी संघीय सरकारबाट २९ करोड ६७ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । प्रदेश सरकारबाट वित्तीय समानीकरणमा ९० लाख रुपैयाँ, सशर्त २ करोड २९ लाख रुपैयाँ, विशेष १ करोड १५ लाख रुपैयाँ, समपूरक ३ करोड रुपैयाँ, राजश्व बाँडफाँडमा २ करोड रुपैयाँ, आन्तरिक राजश्व ५५ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरेको छ ।
बकैया गाउँपालिकाले ८१ करोड २७ लाख ४६ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । बकैया गाउँपालिकामा संघीय सरकारबाट समानीकरण अनुदान १३ करोड ४१ लाख रुपैयाँ, सशर्त अनुदान २८ करोड ९२ लाख रुपैयाँ, समपूरक अनुदान ५० लाख रुपैयाँ, विशेष अनुदान १ करोड रुपैयाँ र राजश्व बाँडफाँडबाट १३ करोड ६९ लाख रुपैयाँ गरी जम्मा ५७ करोड ५२ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । यस्तै प्रदेश सरकारबाट वित्तीय समानीकरणमा १ करोड २५ लाख रुपैयाँ, सशर्त अनुदानमा ३ करोड १२ लाख रुपैयाँ, सवारी करबापत ३ करोड ६१ लाख रुपैयाँ, समपूरक अनुदानमा २ करोड ९९ लाख रुपैयाँ गरी १० करोड ९९ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।