हेटौंडाः मकवानपुर जिल्लाका जनप्रतिनिधिहरुले निर्वाचित भएर दुई महिना बितिसक्दा पनि चुनावमा भएको खर्च विवरण बुझाएका छैनन् । कानूनबमोजिम निर्वाचनको परिणाम घोषणा भएको ३० दिनभित्र खर्च विवरण बुझाउनुपर्ने व्यवस्था भएपनि जनप्रतिनीधिहरुले चुनावमा भएको खर्चको विवरण अझै नबुझाएको जिल्ला निर्वाचन कार्यालय मकवानपुरले जनाएको छ ।

मकवानपुरको स्थानीय तहहरुमा ५ सय ५१ जना जनप्रतिनिधिहरु रहेका छन् । तीमध्ये १ सय ५० जनाले मात्रै खर्च विवरण पेश गरेको निर्वाचन कार्यालयले जनाएको छ । हेटौंडा उपमहानगरपलिकाको १ सय ५ जना प्रतिनिधिमध्ये ५५ जनाले चुनावी खर्च विवरण पेश गरेका छन् । यस्तै, राक्सिराङ गाउँपालिकाका ४ जना, कैलाश गाउँपालिकाका ५ जना, बागमती गाउँपालिकाका ६ जना र मकवानपुरगढी गाउँपालिकाका १३ जना जनप्रतिनिधिहरुले कानूनबमोजिम तोकिएको समयमा खर्च विवरण पेश गरेका छन् ।

यस्तै, मनहरी गाउँपालिकाका ९ जनाले खर्चको विवरण बुझाएकामध्ये २ जनाले विलम्बमा (कानूनले दिएको समय नाघेपछि) खर्च विवरण पेश गरेका छन् । भीमफेदी गाउँपालिकाका ३० जनामध्ये १८ जनाले विलम्बमा खर्च विवरण पेश गरेका छन् । थाहा नगरपालिकाका २२ जनामध्ये ९ जनाले विलम्बमा खर्च विवरण पेश गरेका छन् । त्यसैगरी, बकैया गाउँपालिकाका ६ जनामध्ये १ जनाले विलम्बमा खर्च विवरण पेश गरेको निर्वाचन कार्यालयले जानकारी दिएको छ । यस्तै इन्द्रसरोबर गाउँपालिकाको कुनै पनि जनप्रतिनिधिले चुनावी खर्च विवरण पेश नगरेको निर्वाचन कार्यालय मकवानपुरले जनाएको छ ।