बालबालिकाहरुलाई कोरोनाविरुद्धको खोप नेपालमा पनि सुरु भएको छ । वृद्ध, वयस्क हुँदै अब बालबालिकाले पनि कोरोनाविरुद्धको खोप लगाउन पाएका छन् । विश्वव्यापी महामारी कोरोनाबाट करोडको हाराहारीमा मानिसको मृत्यु भइसकेको छ । कोरोना महामारी सुरु भएको एक वर्षसम्म त औषधि वा अन्य कुनै खोप पत्ता लगाउन विश्वलाई नै निकै सकस भएको थियो । सुरुवाती दिनमा यसविरुद्ध कुनै औषधि बन्दैन भनिएको थियो । तर वैज्ञानिकहरुको लामो अध्ययन र अनुसन्धानबाट खोपको विकास हुँदै जाँदा नेपाली बालबालिकाले समेत खोप पाएका छन् । सुरुवाती चरणमा पहिलो मात्रा लगाएको निकै लामो समयसम्म दोस्रो मात्रा लगाउन नपाउँदा सरकारको आलोचना पनि भयो । तर आज बुष्टर डोजसमेत सहजै लगाउन सकिन्छ ।
मकवानपुर जिल्लामा पनि कोभिड–१९ विरुद्ध बालबालिकालाई खोप लगाउन सुरु भएको छ । ५ वर्षदेखि ११ वर्ष उमेर समूहका बालबालिकालाई फाइजर खोप लगाउन सुरु गरिएको हो । असार १५ गतेसम्म जिल्लाका १० वटै स्थानीय तहमा बालबालिकालाई खोप लगाइँदैछ । विद्यालयमै पुगेर खोप लगाउने व्यवस्था गर्ने जिम्मेवारी स्थानीय स्वास्थ्य केन्द्रहरुको हो । खोप लगाउन आवश्यक पर्ने जनशक्तिको व्यवस्थापनदेखि तालिमको प्रबन्ध भएको छ । खोप वितरण कार्यमा स्थानीय तहहरुको भूमिका महत्वपूर्ण हुन्छ । जिल्लामा आएको खोपलाई सहजरुपमा वितरण गर्न स्थानीय नागरिकको पनि भूमिका र जिम्मेवारी हुन्छ । कोही छुट्यो कि भन्ने कोणबाट स्थानीयहरुले चासो राख्नु पर्दछ । जनप्रतिनिधिहरुले आफ्ना टोलका बालबालिकाहरुलाई खोप लगाउन प्रेरित गर्नु आवश्यक छ ।
सरकारले लामो समयदेखि बालबालिकाका लागि खोप व्यवस्था गर्ने भन्दै आएको थियो । तर विश्व बजारमा खोपको माग बढी हुँदा नेपालले पाउनै मुस्किल बनेको हो । सरकारले स्थानीय निर्वाचनअघि नै खोप भित्र्याएर लगाइसक्ने तयारी गरेको थियो । तर विश्वभर अत्यधिक माग रहेकाले फाइजर कम्पनीबाट खोप प्राप्त हुने समयपछि धकेलिँदा बल्ल नेपाल भित्रिएको हो । नेपालमा ५ देखि ११ वर्ष उमेर समूहका करिब ३५ लाख बालबालिका रहेको तथ्यांक छ । बालबालिकाको संख्या अनुसारको खोप अझै प्राप्त भएको छैन । त्यसैले सरकारले चरणगत रुपमा खोप अभियान सञ्चालन गर्नुपर्ने अवस्था छ । तर केही समयपछि नै बालबालिकाका लागि पुग्ने गरी खोप आइपुग्ने सरकारको दावी छ । प्राप्त खोप अनुदानमा आएको हो ।
विश्वमा प्रयोग भएको कोरोनाविरुद्धको खोप र उमेर समूहअनुसार नेपालमा पनि प्रयोग भएको छ । पाँच वर्ष मुनिका बालबालिकाका लागि भने कोरोनाविरुद्धको खोप उत्पादन बाँकी नै छ । खोपले कोरोना महामारीविरुद्ध राहत दिएको छ । पर्याप्त मात्रामा खोप आइनपुग्दासम्म पद र पहुँचको दुरुपयोग गरी खोप लगाउने प्रवृत्ति छ । तर मकवानपुरमा बालबालिकाका लागि आएको खोप पर्याप्त नै छ । बरु सबै बालबालिकाहरुलाई खोप लगाउन अभिप्रेरित गर्नुपर्ने आवश्यकता छ । कोरोना कम भएको छ । अब केही फरक पर्दैन भन्ने मनोविज्ञानलाई भत्काई खोप लगाउन अभियान सफल हुनै पर्दछ । खोपले बालबालिकालाई गर्ने सुरक्षाका विषयमा सबै अभिभावकलाई जानकारी गराउनु स्थानीय तहदेखि राज्यका सबै निकायको जिम्मेवारी हो ।