प्रतियोगिताको उद्घाटन गर्दै मेयर मिना कुमारी लामा ।

हेटौंडाः हेटौंडा उपमहानगरपालिकामा आज शुक्रबारबाट नगरस्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु भएको छ । शुक्रबार हेटौंडा उपमहानगरपालिकाका मेयर मिना कुमारी लामाले प्रतियोगिताको उद्घाटन गर्नुभयो ।

हेटौंडा उपमहानगरपालिकाको सहयोग तथा आधुनिक राष्ट्रिय माविको आयोजनामा प्रतियोगिता सुरु भएको हो । हेटौंडा–४ स्थित हुप्रचौरमा हुने प्रतियोगितामा आज पहिलो दिन कबड्डी, भलिबल र एथलेटिक्सका खेलहरु सञ्चालन हुनेछ । प्रतियोगिता शुक्रबार र शनिबार दुई दिन सञ्चालन हुनेछ । हेटौंडा उपमहानगरपालिकाका नगर खेलकुद विकास समितिका अध्यक्ष चन्द्र शाहीको अध्यक्षतामा भएको प्रतियोगिता उद्घाटन कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष नवीन सिग्देल, ५ नम्बर वडाका वडाध्यक्ष सुशिल घिमिरे, जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष वेश खड्की, कार्यालय प्रमुख राजन दाहाल, जिल्ला भलिबल संघका अध्यक्ष बसन्तकुमार सिटौला, जिल्ला तेक्वान्दो संघका अध्यक्ष लालकाजी बज्राचार्य, हेटौंडा उपमहानगरपालिका शिक्षा विकास महाशाखा प्रमुख गंगाधर रिमाल लगायतको आतिथ्यता रहेको थियो ।