जनदवाव र नैतिकताको प्रश्न उठेपछि सरकारले केही निर्णय सच्याउने प्रयास गरेको छ । धेरै कमजोरीहरुलाई ढाकछोप गर्ने राज्यको परिचयमा पछिल्लो निर्णय सकारात्मक छ । हप्तामा दुई दिन बिदा दिने निर्णय फिर्ता लिएको छ । विश्वका धेरै मुलुकमा सातामा दुई दिन बिदा दिने प्रचलन भए पनि नेपालमा प्रभावकारी नहुने भएपछि सरकार पछि हटेको हो । दुई दिन बिदा दिने निर्णयको सर्वत्र आलोचना भयो । निजी क्षेत्रले यस कुरालाई पूरै अवज्ञा गरे भने सरकारकै निकायहरुमा पनि दुई दिन बिदा कार्यान्वयन हुन नै नसकेपछि फिर्ता लिनुको विकल्प थिएन । स्थानीय तह तथा शैक्षिक क्षेत्रले दुई दिने बिदा अस्वीकार गरेको छ ।

बिदालाई कर्मचारी तथा कामदारहरुले सिर्जनात्मकरुपमा उपयोग गर्नु पर्दछ । तर एक दिनकै बिदा पनि दुरुपयोग गर्ने हाम्रो समाजमा दुई दिनको बिदा निकै पट्यारलाग्दो भएको छ । एक महिना लागू गरिएको यो व्यवस्था असारबाट हट्ने भएको छ । सरकारले प्रयोगका लागि गरेको निर्णय सफल नभएपछि फिर्ता लिएको हो । राज्यकोषलाई भार कम गर्न भन्दै दुई दिन बिदा दिने निर्णय भए पनि आर्थिक व्ययमा कटौती भएन । बरु आम नागरिकले पाउनुपर्ने सेवामात्र प्रभावित बनेको हो । नागरिकको पक्षमा नतिजा ल्याउन गरिएको निर्णयहरु प्रत्युत्पादक हुन्छन् भने निर्णय सच्याउनुको विकल्प हुँदैन ।

हालैमात्र पेट्रोलियम पदार्थको मूल्य घटाएर केही उदार बन्न खोजेको देखिएको छ । अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य यथावत रहेकै अवस्थामा आम नागरिकको चासो र दवावले राज्य केही पछि हटेको छ । सरकारमात्र हैन कि प्रतिपक्षी पनि आफ्ना अडानबाट पछि हट्दै समझदारीका लागि वातावरण बनाउने काममा लागेका छन् । हठ कसैका लागि फाइदाको विषय हुन सक्दैन । निर्वाचन अघिसम्म प्रतिपक्षीमा देखिएको हठलाई आम नागरिकले अभिमतद्वारा अस्वीकार गरी दिएपछि छ महिनाभन्दा बढी समयदेखि संसद अवरुद्ध गरेको दल स्थानीय तहको नतिजासँगै अडान परिवर्तनको अवस्थामा पुगेको छ । आम नागरिकभन्दा आफू र आफ्नो दलका लागि लिने अडान जनमतले खण्डित गरिदिन सक्छ ।

सत्तारुढ एकीकृत समाजवादीले आठ महिनामा मन्त्रीहरु परिवर्तनको प्रयास गर्‍यो । तर बजेट बनाएको र त्यसमा सांसदले उठाएका प्रश्नको जवाफ दिनुपर्ने मन्त्री नै परिवर्तन स्वभाविक थिएन । दलभित्रको समझदारी जेसुकै भए पनि त्यसले राज्यका काम कारवाही प्रभावित गर्नु हुँदैन । मन्त्रिमण्डल परिवर्तनको सबै अधिकार प्रधानमन्त्रीमा निहीत छ । सत्ता घटकले बेमौसममा बजाउन थालेको बाजा प्रधानमन्त्रीले बन्द गरिदिएका छन् । कुनै एक दलले मन्त्रीहरु परिवर्तन गर्दा गठबन्धनभित्रका अरु दलमा पनि प्रभाव पार्ने, बजेट पारित गर्नसमेत समस्या हुने आँकलन गर्दै एकीकृत समाजवादीले पनि गर्न थालेको कमजोरी सच्याउने प्रयास गरेको छ । गल्ती हुनु/गर्नु स्वभाविक प्रक्रियाजस्तै छ । त्यसलाई सच्याउने काम अझै महत्वपूर्ण हो । त्यसैले आजसम्म भएका अन्य बाँकी कमजोरी पनि राज्य र दलहरुका तर्फबाट सच्याउनु पर्दछ ।