विरोध खतिवडा प्रतिनिधि सभा सदस्य उम्मेदवार मकवानपुर क्षेत्र नम्बर २

हेटौंडाः मकवानपुरबाट संघीय संसदमा निर्वाचित हुनु भई स्वास्थ्य तथा जनसंख्या मन्त्री नियुक्त हुनुभएका विरोध खतिवडाको मन्त्री पद कायमै रहेको छ । आइतबार नेकपा एकीकृत समाजवादीले विरोध खतिवडासहित ४ जना मन्त्रीलाई फिर्ता बोलाउने निर्णयमा प्रधानमन्त्री शेरबहादुर देउवाले असहमति जनाउनुभएपछि खतिवडासहित अन्य मन्त्रीको पद जोगिएको हो ।

विरोध खतिवडाको मन्त्री पद गुम्ने समाचार सार्वजनिक भएपछि उनको गृहजिल्ला मकवानपुरका नेकपा एमालेका नेता, कार्यकर्ताले निक्कै आलोचना गरेका थिए । निर्वाचन नजिकिँदै गर्दा पार्टीले आफ्ना नेताहरुको चित्त बुझाउन मन्त्री फेर्न खोजेको भन्दै विरोध भइरहेका बेला प्रधानमन्त्री देउवा पनि मन्त्री फेर्न सहमत नहुनुभएको बुझिएको छ । बजेट निर्माणको चरणमा मन्त्री फेर्ने विषय उचित नहुने भन्दै मन्त्रीहरुले प्रधानमन्त्री शेरबहादुर देउवासँगै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेटेका थिए ।

मन्त्रीहरुको भनाईप्रति सकारात्मक हुँदै प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष दाहालले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई मन्त्री परिवर्तन नगर्न दवाव दिएका थिए । नेकपा एकीकृत समाजवादीको मन्त्री परिवर्तन हुँदा कांग्रेस र माओवादीमा पनि मन्त्री फेर्न दवाव बढ्ने आँकलन गरिएको थियो ।