कार्यक्रममा सम्बोधन गर्नुहुँदै पूर्वमुख्यमन्त्री डोरमणि पौडेल ।

हेटौंडाः बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले मकवानपुरका होटल व्यवसायीसँग गुनासो गर्नुभएको छ । होटल व्यवसायीले शुक्रबार हेटौंडामा आयोजना गरेको पर्यटन विकासका सम्भावना विषयक अन्तरक्रियामा बोल्नुहुँदै पूर्वमुख्यमन्त्री पौडेलले मकवानपुरका होटल व्यवसायीमा पर्यटन क्षेत्रको विकास गर्ने चिन्तन र योजना नै नभएको भन्दै गुनासो गर्नुभएको हो ।

विशेषगरी हेटौंडा बागमती प्रदेशको राजधानी भएपछि बाहिरबाट आउने सर्वसाधारणको चाप बढे पनि पर्यटन व्यवसायलाई प्रवद्र्धन गर्ने खालका योजना होटल व्यवसायीले नबनाउनु तथा आयलाई मात्रै ध्यान दिनु दुखद् पक्ष भएको मुख्यमन्त्रीको भनाइ थियो । पर्यटकीय क्षेत्रको पहिचान गर्ने, प्रवद्र्धन गर्ने, प्रचार गर्नेतर्फ मकवानपुरका होटल व्यवसायी अग्रसर हुन नसकेको पौडेलले बताउनुभयो । आफू साढे ३ बर्ष मुख्यमन्त्री भएर काम गर्दा मकवानपुरका होटल व्यवसायीले पर्यटन क्षेत्रको विकास गर्न सरकारसँग सहकार्य गर्ने कुनै योजना नै बनाउन नसकेको पौडेलले बताउनुभयो ।

पछिल्लो समय लोकसेवा आयोगको परीक्षामा सहभागी हुन आउने परीक्षार्थीहरुको स्वागत, सत्कारमा भएको कमजोरीको पौडेलले कटाक्ष गर्दै भन्नुभयो, ‘परीक्षा दिन आएकाहरुलाई बार्दलीमा, भान्छामा सुताएर व्यवस्थित कोठाकै मूल्य असुलेको भन्ने गुनासो म मुख्यमन्त्री हुँदा आएको थियो । यस किसिमको व्यवहारले पर्यटनको विकास कसरी हुन्छ ?’ पर्यटन क्षेत्रको विकासका लागि सरकारसँगको साझेदारीमा व्यवसायीले पनि पर्यटकीय क्षेत्रको पहिचान, प्रवद्र्धन र प्रचारप्रसारमा खर्च गर्नुपर्ने पौडेलको भनाइ थियो ।

होटल एसोसिएसन मकवानपुरका अध्यक्ष दिलिश गोविन्द जोशीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठ, नेपाली कांग्रेस मकवानपुरका सचिव भीमसेन महत, मध्यनेपाल पर्यटन विकास समितिका अध्यक्ष अनन्तप्रसाद पौडेल, मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको पनि आतिथ्य रहेको थियो ।