साहित्य लेख्नु मानिसको रुचिको विषय हो । कसैले आफ्नो भावलाई साहित्यमा पोख्छन् भने कसैले समाजमा रहेका राम्रा र नराम्रा विषयलाई साहित्यको माध्यमबाट उठान गर्छन् । त्यसैले साहित्यलाई समाजको ऐना वा चित्रणको रुपमा व्याख्या गरिएको पाइन्छ । साहित्य के हो ?, साहित्यले समाजमा कस्तो भूमिका खेल्छ ?, साहित्य लेखनमा कहाँबाट प्रेरणा पाउनुभयो ? लगायतका विषयमा साहित्यकार देवराज खरेलसँग नवसर्जक साहित्य चौतारीका सदस्य बाल साहित्यकार रियाज कार्की र सुस्मिता ढुंगानाले गर्नुभएको कुराकानीः
समाजः तपाईको विचारमा साहित्यको परिभाषा के हो ?
खरेलः साहित्य एउटा समाज हो । साहित्य समाजको दर्पण हो साहित्यले समाजलाई डोर्याउँछ र राष्ट्रलाई मार्ग निर्देश पनि गर्न सक्छ । साहित्य बिनाको समाज अथवा देश अधुरो हुन्छ ।
समाजः तपाई साहित्यमा कहिले र कसरी लाग्नुभयो ?
खरेलः पहिले पनि म स्कुल कलेज पढ्दा अलि अलि लेख्थेँ । सघन रुपमा चै मैले २०४७/४८ देखि लेख्न थालेको हुँ । साहित्य मेरो आफ्नै जिवनको भोगाईलाई अभिव्यक्त गर्ने माध्यम सम्झन्छु ।
समाजः तपाई साहित्यमा लागि सक्नु भएपछि कस्तो अनुभुति पाउनुभयो ?
खरेलः साहित्यमा लागेर मजाभन्दा पनि आत्मसन्तुष्टि प्राप्त हुन्छ । जोगी र कविमा कुनै फरक पर्दैन । जोगिले परब्रम्हतिर ध्यान दिन्छ उ समाधिमा हुन्छ अथवा उ आफुलाई अमर बनाउँछ । तर, कविले यो संसार, देश, यो माटो, पृथ्वी यो धरातललाई अमर बनाउँछ ।
समाजः साहित्यमा धेरै विधा हुन्छन्, तपाई चै कुन विधामा कलम चलाउनु हुन्छ ?
खरेलः मेरो चार वटा कृतिहरु प्रकाशन भैसकेको छ बजारमा । कविता संगह, मुक्तक संगह र निबन्ध संगह । यो तिनै वटा बिधामा मेरो कलम चल्छ तर, मलाई मन पर्ने बिधा निबन्ध हो ।
समाजः एक्काईसौं शताब्दीमा साहित्यमै रम्दै आफ्नो जिविकोपार्जन गर्छु भन्नु सम्भव छ कि छैन ?
खरेलः अहिलेको समयमा लेखेरै जिवन चलाउने एकदम कम छन् । औलामा गन्दा केहि व्यक्ति होलान् तर साहित्यमै लागेर जीवन चलाउन गाह्रो छ ।
समाजः तपाई आबद्ध हुनु भएको संस्थाले नव पुस्तालाई साहित्यमा लाग्न के कस्तो भूमिका खेलेको छ ?
खरेलः लाग्नुस भन्नु भन्दा पनि आफै जागरुक हुनुपर्याे । साहित्यमा लाग्नलाई कसैले डोर्याएर हुँदैन । आफै प्रेरणा मिल्नु पर्यो अनि अभ्यास गर्नु पर्याे त्यसपछि मात्र साहित्य सृजना गर्न सकिन्छ ।
समाजः नेपाली साहित्यलाई जोगाउन वा बढावा दिन के कस्ता उपायहरु अपनाउन सकिन्छ ?
खरेलः पढ्ने पाठकहरुलाई जबरजस्ती गर्न सकिँदैन । पुस्तकालयमा गएर पढ्ने बानी बसाल्नु पर्याे र राम्रा राम्रा कृतिलाई विद्यालयमा कलेजमा पाठ्य पुस्तकमा राख्नुपर्याे । पत्रपत्रिका संजाल यिनीहरुको पनि भूमिका हुन्छ यिनीहरुले पनि प्रचार प्रसार गरिदिनु पर्यो ।
समाजः पढ्ने बानी हराउँदै गएको यस समयमा तपाईले चै पठन संस्कृतिलाई कसरी हेर्नु हुन्छ ?
खरेलः पुराना पुस्ताले पढेका हुन्छन् नयाँ पुस्ताले पनि पढ्न नचाहेका होईनन् । राम्रा राम्रा कृति सृजना भयो भने पाठकले खोजि खोजि पढ्छन् । त्यस्ता कृतिहरु चर्चामा पनि आउँछन् र ती किताबहरु पढेर पठन संस्कृतिलाई अगाडि बढाउन सकिन्छ ।
समाजः बिगतका केहि वर्षदेखि कोरोना माहामारी फैलिएको बेलामा साहित्यकारहरुलाई कस्तो असर परेको देख्नुहुन्छ ?
खरेलः कसै कसैलाई यो कोरोनाको समय नै स्वर्णिम समय बनिदियो । घर बाहिर निस्किन नपाउने कर्फ्यु जस्तो भयो अनि घरमा बसेर साधना गर्न चै समय मिल्यो । सबैलाई समय अनुकुल पर्याे या परेन भन्न सकिँदैन तर मलाई चै समय अनुकुल बनिदियो । मैले चै त्यो समयमा करिब करिब एउटा मुक्तक संगह तयार गरेको छु ।
समाजः तपाईले साहित्य सृजना गर्न कस्तो वातावरण पाउनु भएको छ ?
खरेलः मेरो घरमा सृजना गर्ने वातावरण छ नभएको होईन । तर तपाई सृजना गर्न चाहनु हुन्छ भने जुनसुकै ठाउँ जुनसुकै अवस्थामा पनि सृजना गर्न सक्नु हुन्छ ।