हेटौंडाः ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ भन्ने नाराका साथ ६५ औं सहकारी दिवस विभिन्न कार्यक्रम गरी मनाइने भएको छ । बागमती प्रदेशस्तरमा सहकारी दिवस मनाउनका लागि राष्ट्रिय सहकारी महासंघका सञ्चालक तथा मकवानपुर जिल्ला सहकारी संघका अध्यक्ष नारायण प्रसाद देवकोटाको संयोजकत्वमा १ हजार १ सदस्यीय मूल आयोजक समिति गठन भएको छ ।
समितिको सहसंयोजकमा बागमती प्रदेश सहकारी संघका अध्यक्ष रामशरण घिमिरे र सदस्य सचिवमा बागमती प्रदेश सहकारी महाशाखाका कानुन अधिकृत प्रकाश चापागाई रहेका छन् । बागमती प्रदेशको राजधानी हेटौंडामा मूल कार्यक्रम हुनेछ भने प्रदेशका सबै जिल्ला र पालिका तहमा विविध कार्यक्रमसहित सहकारी दिवस मनाइने संयोजक देवकोटाले बताउनुभयो ।
सहकारी दिवसको अवसरमा मूल आयोजक समितिले बागमती प्रदेशको राजधानी हेटौंडामा रक्तदान कार्यक्रम, हेटौंडा अस्पतालमा रहेका बिरामीहरुलाई फलफुल वितरण र २० गते भुटनदेवी बिद्यालयको खेलमैदाबाट र्याली सुरु गरी रोयल पार्टी प्यालेसमा प्रवचन, सम्मान तथा पुरस्कारसहित समापन कार्यक्रम गर्ने तय भएको संयोजक देवकोटाले बताउनुभयो । उहाँले सहकारी दिवसको दिन चैत्र २० गते साँझ प्रदेश भरका सहकारीहरुले दीपावली गर्न समेत अनुरोध गर्नुभएको छ ।