२०७३ साल जेठ महिनामा मकवानपुरको राक्सिराङ गाउँपालिकाको काँकडामा आयोजित एकीकृत घुम्ती शिविरमा सेवा लिन आएका २० वर्षभन्दा कम उमेरमा विवाह गरेर आमा बनेका किशोरीहरु । फाइल तस्वीर ।

हेटौंडाः फागुन महिनामा हेटौंडा अस्पतालमा २० बर्ष भन्दा कम उमेरका १५ जना किशोरी आमा बनेका छन् । हेटौंडा अस्पतालमा फागुन महिनामा २ सय ७ जनाले सामान्य प्रसुती गराएका छन् । फागुन महिनामा २५ जनाको आपतकालिन शल्यक्रिया गरिएको छ भने २२ जनाको तालिकाअनुसार नै शल्यक्रिया गरिएको हेटौंडा अस्पतालका प्रसुती तथा महिला स्वास्थ्य विशेषज्ञ डा. राम काजी महर्जनले जानकारी दिनुभएको छ ।

२० बर्षभन्दा कम उमेरका सबै किशोरीको पहिलो सन्तान रहेको डा. महर्जनले बताउनुभयो । फागुन महिनामा सबैभन्दा कम उमेरमा १७ बर्षकी किशोरी आमा बनेको हेटौंडा अस्पतालको प्रसुती वार्डका स्वास्थ्यकर्मीले जनाएको छ । यस्तै फागुन महिनामा हेटौंडा अस्पतालमा ३५ जना गर्भवतीले सुरक्षित गर्भपतन गराएका छन् । २० जना गर्भवतीको १२ हप्ता भन्दा कम समयको गर्भपतन गरिएको हो ।