प्रकाश खतिवडा (अध्यक्ष, बाल कल्याण समाज मकवानपुर केन्द्रीय अध्यक्ष, राष्ट्रिय बाल संरक्षण सञ्जाल नेपाल)

सन्दर्भः ११२ औं अन्तर्राट्रिय नारी दिवस

यस वर्षको अन्तर्राष्ट्रिय नारी दिवसको नारा ‘सामाजिक न्याय र लैगिंक समानताः दिगो विकासको सुनिश्चितता’ भन्ने रहेको छ । पछाडि पारिएका महिला र यौनिक तथा लैगिंक अल्पसंख्यक समुदायको सामाजिक न्यायको सुनिश्चितता महसुस दिलाउन सकियो भने मात्र सुखी र समृद्धिको अनुभुती हुन सक्दछ भन्ने आधारमा विकासका प्रतिफल न्यायोचित रुपमा अनुभुती दिलाउने कार्य गर्नु पर्दछ ।

नेपालमा लैङ्गिकता सम्बन्धी परम्परागत रुपमा जरो गाडेर रहेको रुढिवादी सोचका कारण महिला र पुरुषमा विभेद रहेको छ । यसले युवा र पुरुषहरुलाई जोखिमयुक्त काम गर्न, महिला हिंसाका घटनाहरुको बेवास्ता गर्न र पुरुषबाट लैङ्गिक भूमिका परिभाषित गर्न वातावरण तयार पारेको छ । महिलाहरुलाई हिंसाबाट जोगिने र हिंसा पीडितलाई स्वास्थ्य सेवाबाट बन्चित नगर्ने अवस्थाका लागि अभियान संचालन गर्नुपर्ने भएको छ । लैङ्गिक हिंसाले महिलाको साथै पुरुषहरुको पूर्णक्षमताको प्रयोगमा नकारात्मक असर पर्नुको साथै आर्थिक विकास र महिला सशक्तीकरणको बाटोमा अवरोध सिर्जना भएको छ ।

लैङ्गिक समानताको लडाई सुरु भएको तीन दशक नाघिसक्दा पनि लैङ्गिक हिंसाको घटना कम हुन सकेको छैन । नेपालको संविधान २०७२ को धारा ३८ मा महिलाको अधिकार स्पष्टरुपमा सम्बोधन गरिएको छ । अब संविधानअनुरुप कानुन कार्यान्वयन हुन सक्यो भने लैङ्गिकतामा आधारित हिंसा न्युनीकरण हुनेमा विश्वास गर्न सकिन्छ । तर यसका लागि हामीले आर्थिक सशक्तीकरणसहितको सामाजिक जागरणः ग्रामीण तथा सहरी महिलाहरुको जीवनस्तर रुपान्तरण नारालाई सार्थकता दिलाउने अभियानमा क्रियाशील हुनुपर्ने हुन्छ । यसका लागि पालिका तह, प्रादेशिक तह र संघीय तहमा रणनैतिक योजना बनाई संविधानको मूल मर्म र भावना बमोजिम कार्य गर्नुपर्ने बेला आएकाले यसका लागि पुरुष वर्गलाई समेटी लैङ्गिक हिंसा अन्त्यका लागि परिवर्तनको संवाहक बनाई जिम्मेवारी बहन गर्न अभिप्रेरित गर्नुपर्ने बेला आएको छ । यसैगरी लैङ्गिक हिंसा अन्त्यका लागि र लैङ्गिक समानताका लागि नेपाल सरकारले अनुमोदन गरेको अन्तर्राष्ट्रिय सन्धी, सम्झौताको आधारमा पैरवी चलाउन सकिन्छ ।

लैंगिकतामा आधारित हिंसा आज विश्वव्यापी रुपमा समस्या र मुद्दाको रुपमा रहेको छ । यस्ता हिंसामा महिलाको मानवअधिकार हनन्का धेरै विषय समाविष्ट छन् । यस विश्वव्यापी अध्ययनले लैङ्गिक सवालगत थुप्रै मुद्दाहरु उठान गरेको छ । यसको निदानका लागि प्रस्तावित पाँच महत्वपूर्ण क्षेत्रहरु पहिचान गरिएको छ ।
१. महिला तथा बालबालिकाको अधिकार रक्षा,
२. महिला सशक्तीकरण,
३. लैङ्गिक हिंसा,
४. शिक्षामा लैङ्गिक असमानता र
५. पुरुषको महिलाअधिकार एवम् सशक्तीकरणमा सहयोग पहिचान गरिएको छ ।

नेपालमा लैंगिक हिंसा अन्त्यका परिवर्तनको संवाहक तयार गर्दै पुरुष वर्गलाई क्रियाशील बनाउँदै मेन ईंगेज एलायन्स अभियान क्रियाशील रहेको छ । यसैगरी ठोसरुपमा लैंगिकतामा आधारित हिंसा अन्त्यका लागि मेन ईगेज एलायन्सले नेपालमा रणनीतिक योजना बनाई कार्य संचालन गरिरहेको छ । यो मेन ईंगेज एलायन्स नेपालमा २००७ मा गठन भएको हो । लैंगिक हिंसा अन्त्य, लैंगिक समानताको स्थापना तथा समाजमा विद्यमान नकारात्मक पुरुषत्वको रुपान्तरणमा भूमिका खेल्ने ध्येयका साथ क्रियाशील व्यक्ति तथा संगठनहरुको साझा सञ्जाल हो ।

यसको गठन भएपछि महिला माथि हुने हिंसाविरुद्ध क्रियाशील पुरुष र युवा लगायतका व्यक्ति र संस्थाहरु एकीकृत भई महिला हिंसा विरुद्धको अभियानमा एकजुट भएको छ । अन्तर्राष्ट्रिय नारी दिवस, राष्ट्रिय महिला दिवस, सेतो रिवन अभियान, महिलाहिंसा विरुद्धको १६ दिने अभियान तथा अकुपाई बालुवाटार जस्ता लैंगिक हिंसा विरुद्धको अभियानमा महिलासँगै पुरुष तथा युवाहरु हातेमालो गर्ने क्रम बढिरहेको छ । पुरुष तथा युवाहरुलाई हिसां विरुद्ध उभ्याउन तथा उनिहरुको सकारात्मक भूमिका अभिवृद्धि गराउन यो संजाल उपलब्धिमूलक देखिएको छ ।

सन् २०१० लाई महिला हिंसा विरुद्धको हिंसा अन्त्यको वर्ष घोषणा गर्ने नेपाल सरकारको निर्णयका लागि पनि यो एलायन्सले महत्वपूर्ण भुमिका निर्वाह गरेको थियो । नेपाल सरकारको लैंगिक हिंसा अन्त्य सम्बन्धी राष्ट्रिय कार्ययोजनालाई सफल बनाउन एलायन्सले महत्वपूर्ण कार्यहरु गर्दै पनि आईरहेको छ । एलायन्सले गर्ने कार्यहरु यस प्रकार छन् ।
१. महिला तथा किशोरीहरु विरुद्धको हिंसा अन्त्य गर्ने,
२. यौनिक अल्पसंख्यकका अधिकारका लागि वकालत,
३. पुरुष तथा युवाहरुको बीचमा हुने हिंसा न्यूनीकरण,
४. बाल यौन शोषण, यौन दुव्र्यवहार तथा मानब बेचबिखनको रोकथाम र नियन्त्रण
५. लैंगिकहिंसालाई प्रश्रय दिने नीतिहरुको परिवर्तन
६. मातृ तथा बाल स्वास्थ्यमा बाबु तथा हेरचाहकर्ताको रुपमा पुरुषको सकारात्मक भूमिकाको प्रबद्र्धन ।

उल्लेखित कार्यहरु मेन ईगेज एलायन्सले गर्ने गरेको छ । यो संस्थालाई सबैको समन्वय र सहयोगको खाँचो रहेको छ । एलायन्सले विभिन्न तह र तप्कामा रहेका पुरुष तथा युवाहरुलाई महिलाहिंसा विरुद्धको पुनित अभियानमा क्रियाशील हुन आग्रह समेत गरेको पाईन्छ ।

यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको आत्मसम्मान बिना लैंगिक हिंसा अन्त्यको परिकल्पना समेत गर्न सकिँदैन । लैंगिकतामा आधारित हिंसा मानव अधिकारको उल्लंघन तथा एक आपराधिक कार्य हो भन्ने सबैले बुझ्न जरुरी छ । यसले महिलाको समेत समग्र विकास, सुरक्षा र सामाजिक जीवनमा गम्भीर असर पार्ने गरेको पाईन्छ । महिलाहिंसा विरुद्धको सचेतना बढ्नुको सट्टा महिलामाथि हुने भेदभाव र हिंसाले समाजमा व्यापकता पाइरहेको अवस्था छ । लैंगिकतामा आधारित हिंसाका लागि गरिबी, अशिक्षा, कुरीति, कुसंस्कार, पितृसत्तात्मक सोच, असमानता र सामाजिक न्यायको अभाव नै कारक तत्वको रुपमा रहेको पाइएको छ । त्यसैले लैंगिक हिंसा अन्त्यका लागि वर्तमान कानुनको बारेमा सचेतना जगाउँदै पुरुष र युवाहरुको भूमिकामा उल्लेख्य बृद्धि गर्नुपर्ने हुन्छ । पुरुष वर्गलाई परिवर्तनको संवाहक बनाउँदै आफू पनि हिंसा नगर्ने र अरुलाई पनि हिंसा गर्न रोक्ने अभियानमा क्रियाशील बनाउनु पर्ने हुन्छ । हामी सबैको क्रियाशीलतामा मात्र लैङ्गिक हिंसा अन्त्य गर्न सकिन्छ । तसर्थ दिगो विकासको सुनिश्चितताका लागि सामाजिक न्याय र लैंगिक समानता कायम गर्न आवश्यक छ ।

(लेखक बाल कल्याण समाज मकवानपुरका अध्यक्ष तथा मेन इंगेज एलायन्स मकवानपुरको अध्यक्ष हुनुहुन्छ ।)