हेटौंडाः अवैध लागुऔषधसहित एक महिलालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । अवैध लागुऔषध डाईजेपाम, फेनार्गन, नुरफिनसहित बकैया–४, छतिवनकी २९ वर्षीया नानिमाया खत्रीलाई प्रहरीले हेटौंडा–१९, बस्तीपुरबाट पक्राउ गरेको छ ।
शुक्रबार राती ८ बजेको समयमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएकको प्रहरी टोलीले खत्रीलाई बस्तीपुरस्थित डेराबाट पक्राउ गरेको जनाएको छ । खत्रीको डेराबाट डाइजेपाम २८० एम्पुल, फेनार्गन २६८ एम्पुल र नुरफिन २५० एम्पुल गरी जम्मा ७९८ एम्मपुल बरामद भएको प्रहरीले शनिबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।
मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरेद्र गुरुङले लागुऔषध कारोबार गर्ने गिरोह नै रहेको र ती गिरोहलाई पक्राउ गर्न प्रहरी सक्रिय रहेको दावी गर्नुभयो । बरामद भएको लागुऔषधसहित खत्रीलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले उल्लेख गरेको छ ।