‘शान्ति प्रियवन्दना’ यी दुई शब्दलाई अथ्र्याउने हो भने हार्दिकताका साथ शान्तिको कामना गर्नु भन्ने हुन्छ । जीवनको उर्जाशील युवाअवस्थामै भयानक दुख व्यहोर्न बाध्य भएकै कारण हुनुपर्छ मकवानपुरकी एक साहित्यकारले आफ्नो नाम शान्तिको पछाडि प्रियवन्दना लेख्नुहुन्छ । यिनै शान्ति प्रियवन्दनाले गएको महिना एउटा कविता कृति सार्वजनिक गर्नुभयो, ‘जिल खाइरहेको एक्काइसौं शताव्दी’ । कविता लेखनको अढाई दशकपछि पहिलो कृति प्रकाशन गर्नुभएकी शान्ति प्रियवन्दनासँग कृतिकै विषयमा गरिएको कुराकानीः
समाजः तपाइँको कविता कृति प्रकाशित भयो । कविता पढेर पाठकहरुबाट कस्तो प्रतिक्रिया पाइरहनुभएको छ ?
शान्तिः ‘जिल खाइरहेको एक्काइसौं शताब्दी’ कविता कृति बजारमा आएको लगभग एक महिना पुग्दैछ । कोभिडको तेस्रो लहर आएकोले किताबको सम्बन्धमा भौतिक रुपमा उपस्थित रहेर चर्चा परिचर्चाको कार्यक्रमहरु गर्न सकेको अवस्था छैन । प्रकाशकले देशको विभिन्न्न स्थानहरुमा पुस्तक पठाई रहनु भएको छ तर सबै स्थानहरुमा पुस्तक पुगिसकेको अवस्था भने छैन । पुस्तक पुग्ने क्रम भने जारी छ । पाठकहरुको पूर्ण प्रतिक्रिया आउनका लागि पहिले पाठकहरुको हातमा पुस्तक पर्नु पर्यो । उहाँहरुले पढ्नु पर्यो त्यसपछि क्रमशः प्रतिक्रिया आउने आशा गरेको छु । पत्रपत्रिका, अनलाइनमा समिक्षा छापिएको छ । विभिन्न भेटघाटमा मेरो कृतिका बारेमा राम्रो प्रतिक्रियाहरु आएका छन् । धेरैले रुचाउनु भएको छ र उहाँहरु मध्ये कसैले कविता रेकर्ड गरेर पठाउनु भएको छ । कसैले आफूले रुचाएका कविताहरु सोसल मिडियामा सेयर गर्नु भएको छ भने कसैले कविता कृतिको समिक्षात्मक टिप्पणी समेत सोसल मिडियामा सेयर गर्नु भएको छ ।
समाजः तपाइँको कृति पढेर पाठकले कस्तो महसुस गर्नुपर्ने ठान्नुहुन्छ ?
शान्तिः वास्तवमा पाठकले जे बुझ्छन् त्यो नै मेरो कविता हो । मेरा कविताका भाव÷विचारहरु यी हुन् भनेर म मेरो कविताहरुको बचाउमा लाग्दिनँ । मसँग मात्र हुँदा ती मेरा कविताहरु थिए । अब त्यो पाठकको भैसकेको छ । मैले मेरा कविताहरुमा त्यस्ता ठूला कुराहरु केहिले लेखेको छु भन्ने पनि मलाई लाग्दैन । मैले तपाईँ हाम्रै भनुँ या सामान्य नेपालीले आफ्नो दैनिक जीवनमा देखेको, भोगेको विभिन्न घटनाहरुलाई कविताको विषयवस्तु बनाएको छु ।
मेरा कविताहरुमा हुने खाने र हुँदा खानेका प्रसङ्गहरु छन् । हाम्रो समाज जहाँ वर्गीय, जातीय, लैङ्गिक लगायतका विविधखाले विभेदहरु छन् यस्ता विभेदहरुको अन्यका लागि विद्रोहको आवश्यक्ता छ । चुपचाप बसेर विभेदको अन्त्य हुँदैन भन्ने कुराहरु लेखेको छु । र अर्को कुरा मैले प्रश्न गर्नुपर्छ भन्ने कुरा लेखेको छु । त्यो प्रश्न जो कोहिलाई पनि हुन सक्छ । जस्तो कि राज्य चलाउने ठेकेदारहरु, हिजोका दिनमा पटक–पटक राजनीतिक परिवर्तनका लागि आन्दोलन गर्नेहरु, जनताको काँधमा बन्दुक राखेर पड्काउनेहरु, छोरीलाई दोस्रो दर्जाको नागरिक ठान्नेहरु, समाज परिवर्तनका लागि, लागी परेका सामाजिक अभियन्ताहरु आदि समेत ।
समाजः साहित्यमा कलम चलाउनुभएको निक्कै समयपछि मात्रै कृति प्रकाशित गर्नुभयो । कृति प्रकाशनका चुनौतिहरु के–के रहेछन् ?
शान्तिः मेरो कृति प्रकाशनको समय ढिला हुनुमा प्रमुख जिम्मेवार म आफैं हो । मेरा आफ्नै विभिन्न कारणहरुले गर्दा प्रकाशनमा ढिलो हुन गएको हो । त्यसो त यो कृति दुई वर्ष अगाडि नै प्रकाशनको तयारीमा थियो । कोभिडको कारण दुई वर्ष ढिला हुन गयो । कृति प्रकाशनको चुनौती भरपर्दो प्रकाशक नभेटिनु हो । सबै स्थानमा पठन संस्कृतिको विकास भइसकेको छ भन्ने पनि लाग्दैन मलाई । अर्को कुरा पुस्तक किनेर पढ्नु पर्छ भन्ने चेतना भएकैहरुले समेत पुस्तक किनेर नभई मागेर पढ्छन् । केहि प्रकाशकहरु बजारमुखी भए । बजारले जे माग्छ त्यही छापिन्छ यो पनि चुनौति नै त हो ।
समाजः एकजना साहित्यकारले कुनैपनि विधामा कृति नै प्रकाशन गर्नुको आवश्यकता किन रहन्छ ?
शान्तिः फुलका थुङ्गाहरुलाई उनेर माला बनाए जस्तै हो फुटकर रचनाहरुलाई समेटेर एउटा पुस्तकको रुप दिनु । सर्जकका सवै रचनाहरु एकमुष्ठ रुपमा पाठक समक्ष पुर्याउनका लागि पनि कृति कै आवश्यक्ता पर्छ । यसरी पुस्तकको रुपमा पाठक सामु कृति पुग्नु भनेको कृतिकारको विचार पुग्नु हो । तसर्थ कृति नै प्रकाशन गर्नुको आवश्यक्ता देख्छु ।
समाजः पाठकको समीक्षा, प्रतिक्रियाका आधारमा ‘जिल खाइरहेको एक्काइसौं शताब्दी’ मा कुन पक्षमा सुधार गर्नुपर्ने आवश्यकता महसुस गर्नुभयो ?
शान्तिः मेहनत गरेको छु भन्दाभन्दै पनि केहि सामान्य त्रुटिहरु हुँदा रहेछन् । त्यस्ता त्रुटिहरु म आफैंले पनि भेटेको छु । मैले अगाडि नै भनिसकेँ पाठकहरुको प्रतिक्रिया आउन बाँकी नै छ । तसर्थ म ‘जिल खाइरहेको एक्काइसौं शताब्दी’ कविता सङ्ग्रहमा सुधार गर्नुपर्ने पक्षहरु यिनै हुन् भनेर अहिले नै बताउन सक्ने अवस्थामा भने छैन ।