अहिले विद्यालयहरु बन्द छन् । विद्यालयमा विद्यार्थी छैनन् । शिक्षकहरु आवश्यकताअनुसार विद्यालय पुगेर प्रशासनिक काम गरिरहेका छन् । मकवानपुरका स्थानीय सरकारहरु विद्यालय सुचारु गर्ने विषयमा गम्भीर देखिएका छैनन् । अहिलेको जटिल परिस्थितिमा विद्यालयमा शिक्षकले के गरिरहेको छ ? विद्यालयको शैक्षिक अवस्था, अभिभावकको भूमिका, पठनपाठनका विषयमा मकवानपुरको बकैया गाउँपालिका–१२ जीतपुरभञ्ज्याङस्थित सेतीदेवी आधारभूत विद्यालयकी प्रधानाध्यापक भावना सापकोटासँग समृद्ध समाज दैनिकका डीबी बर्तौलाले गर्नुभएको कुराकानीको सम्पादित अंशः

तपाई सुरुवातमा त शिक्षक हुनुहुन्छ त्यसपछि प्रधानाध्यापकको रुपमा रहनु भएको छ । शिक्षकको रुपमा विद्यालयमा तपाईको नियमित काम के हुन्छ ?
सापकोटाः हामीले सरकारको निर्देशनअनुसारै विद्यालयमा भौतिक रुपमा उपस्थित भएर पठनपाठनको कार्य रोकेका छौं । विद्यालयमा खोप अभियान सञ्चालन भइसकेको छ । कोहि विद्यार्थी नछुटुन् भन्ने उद्देश्यले हामीले अहिले खोप लगाउन बाँकी विद्यार्थीहरु र खोप लगाएका विद्यार्थीहरुको विवरण तयार गरिरहेका छौं । यसका साथ साथै छुटपुट रहेका अन्य व्यक्तिहरुलाई पनि कोरोनाविरुद्धको खोप लगाउनका लागि प्रेरित गरिरहेका छौं । वैकल्पिक सिकाई माध्यमबाट पनि हामीले विद्यार्थीले सोधेको आधारमा उनीहरुको जिज्ञासा समाधान गर्ने प्रयास गरिरहेका छौं ।

शिक्षकहरुले के–कस्ता समस्या भोगिरहनु पर्ने अवस्था छ ?
सापकोटाः सरकारले शिक्षकलाई दोश्रो दर्जाको राष्ट्रसेवकको रुपमा लिने गरेको कुराहरु हामीले सुन्दै आएका छौं । त्यसका साथ–साथै तहगत बढुवाको कुराहरु पनि शिक्षकमा छैन । शिक्षकको पारिश्रमिक मासिक निकासा हुन सकेको छैन । शिक्षकलाई प्रेरित गर्ने काम पनि हुन सकेको देखिँदैन ।

विद्यार्थीहरुलाई प्रभावकारी शिक्षा प्रदान गर्न के–कस्तो तयारी गर्नुहुन्छ ?
सापकोटाः अहिले कोभिडका कारण नियमित पठनपाठन हुन सकेको छैन । हामी विद्यार्थीलाई फाट्टफुट्ट विद्यालयमा बोलाउने अवस्था अनुसार उनीहरुलाई बोलाउँदै शैक्षिक सामग्रीहरु निर्माण गर्ने अनि त्यसपछि सन्दर्भ सामग्रीहरुको प्रयोग निर्माण गर्ने कामहरु गरिरहेका छौं ।

विद्यालयमा शैक्षिक वातावरण बनाउन शिक्षकको रुपमा कस्तो भूमिका निर्वाह गर्नु हुन्छ ?
सापकोटाः शिक्षक भएर गर्नुपर्ने सम्पूर्ण जिम्मेवारीहरु हामीले पूरा गरेका छौं । अब हाम्रो विद्यालय एउटा ग्रामीण भेगमा छ । यहाँको समाजमा चेतनाको स्तर कमजोर भएकोले नियमित विद्यालयमा विद्यार्थीहरुलाई पठाउने अवस्था छैन । नियमित रुपमा विद्यार्थीहरु विद्यालय आउनु पर्छ, पढ्ने वातावरण पाउनु पर्छ भन्ने हिसाबले हामीले सहजीकरण गर्दैगरेको अवस्था छ । कसरी विद्यार्थीलाई सिकाईप्रति रुचि राख्न सकिन्छ भनेर हामी हरहमेशा सोचेर विद्यार्थीको रुचि, क्षमता र स्तर अनुसारको शिक्षण सिकाई क्रियाकलाप गर्नका लागि हामी शिक्षकको टिम लागी परेका छौं ।

विद्यालयका विद्यार्थी तथा समुदायको अवस्था चै कस्तो पाउनु भएको छ ?
सापकोटाः समुदायमा हाम्रा बालबालिका पढेर के हुन्छ ? कस्तो बन्न सक्छन् ? भन्ने कुराको चेतना नभएको अवस्था र कामै प्यारो हुने अवस्था छ । विद्यालय छुट्टी भएर गएपछि विद्यार्थीहरु बाख्रा चराउन जान्छन् । संक्रान्ती आउँदा विद्यार्थी विद्यालयमा भन्दा जंगलमा तरुल खन्न व्यस्त हुन्छन् । जंगलबाट अम्रिसो ल्याउने, कुचो बनाएर बेच्ने काममा व्यस्त हुन्छन् । यस्ता काममा परिवारले पनि सहयोग गर्छन् । तर, पढ्ने, लेख्ने विषयमा परिवारले विद्यार्थीलाई प्रेरित गरेको पाइँदैन । केहि समययता विद्यार्थी नियमित आउने गरेका छन् । सरकारले खाजा कार्यक्रम सञ्चालन गरेका कारण पनि विद्यार्थीको नियमितता र उपस्थिति बढेको छ । बेलाबेलामा अभिभावक भेला गरिरहने, अन्तरक्रियात्मक कार्यक्रमहरु संचालन गर्ने गरेकोले विद्यार्थीहरु नियमित हुने क्रम बढेको छ ।

अभिभावकको भूमिका कस्तो रहन्छ ? कस्तो पाउनुभएको छ ?
सापकोटाः प्रायः अभिभावक विद्यालय आउनुहुन्न । आउनुभएका बेला विद्यालय परिसरमा विद्यार्थी भएमा किन हाम्रो विद्यार्थी बाहिर छन् भनेर प्रश्न गर्नुहुन्छ । यस्तै विद्यालयको पुनर्निर्माणका कुरामा चासो दिनुहुन्छ । विद्यालयबाट पाउनुपर्ने सुविधाहरु विद्यार्थीले पाएका छन् कि छैनन् भनेर पनि चासो राखेर समन्वयात्मक भूमिका राख्नुहुन्छ ।

शैक्षिक वातावरण राम्रो बनाउन अभिभावकको भूमिकालाई अगाडि बढाउन विद्यालयले के गरिरहेको छ ?
सापकोटाः वार्षिक रुपमा अभिभावक भेला गर्ने गरेका छौं । यसैगरी पछिल्लो समय कक्षागत रुपमा नै अभिभावक भेला गराउने कार्ययोजना बनाइएको थियो । जुन प्रारम्भिक बालविकास कक्षादेखि नै अभिभावक भेला गरेका थियौं । तर अभिभावक नै उपस्थित हुनुभएन, १२ जना विद्यार्थी छन् भने दुई जना अभिभावक मात्रै आउनुहुन्छ । त्यसपछि माथिल्लो कक्षामा प्रवेश गरे कतिको अभिभावक उपस्थित हुन्छ भनेर । अभिभावक भने उपस्थित नहुने र सबैलाई एकै पटक बोलाए मात्र उपस्थित हुने भयो ।

शैक्षिक विकास र प्रशासनिक कार्यका लागि विद्यालय व्यवस्थापनको भूमिका कस्तो पाउनुहुन्छ ?
सापकोटाः उहाँहरुको समन्वयात्मक भूमिका छ । विद्यालयको भौतिक निर्माण कार्य र प्रशासनिक कार्यहरुमा समन्वयात्मक रुपमा सहयोग गरेर अघि बढाउने कुरा गर्नुहुन्छ । शैक्षिक सुधार कार्यक्रमका लागि कार्ययोजना बनाउँदा पनि यसरी गर्नुपर्छ भनेर भन्नुहुन्छ ।

विद्यालय व्यवस्थापन समितिको कमिकमजोरी कस्तो पाउनुहुन्छ ?
सापकोटाः विद्यालय व्यवस्थापन समिति, अभिभावक, विद्यार्थी र शिक्षक सबैले समन्वय भएर अघि बढेमा विद्यालय सुधारका लागि राम्रो अवसर हुन्छ । विद्यालय व्यवस्थापनबाट अभिभावकले अपेक्षा राखेको हुन्छ । अभिभावकले गमला ल्याएर फुल रोपौं भन्ने कुरा गर्नुभयो त्यो उहाँहरुको विद्यालयप्रतिको चासो हो । शिक्षण गतिविधी कसरी, विद्यार्थीको उपस्थिति र विद्यालयलाई कसरी अगाडि बढाउने भन्ने कुरामा चासो हुन्छ । यसरी नै विद्यालयको शैक्षिक सुधारमा अघि बढ्नुभयो भने शिक्षकको अनुपस्थितिमा ठूलो घाटा व्याहोर्नु पर्दैन ।

तपाइँ प्रधानाध्यापक हुनुहुन्छ । सहकर्मी शिक्षकसँगै अभिभावकको सहयोग र साथ कस्तो रहेको छ ?
सापकोटाः प्रधानाध्यापकले समन्वय गरेर अघि बढ्नु पर्छ । प्रधानाध्यापक, शिक्षक र अभिभावकको समन्वयकारी भूमिकामा अघि बढ्ने गरेका छौं । आधारभूत तहमा पठनपाठन हुने विद्यालयमा घटाएर प्राथमिक तहमा ल्याउने हो कि हुन्छ । पहिला यस्तै घटना घटेको रहेछ त्यस विद्यालयमा । जसमा अभिभावकको साथ र सहयोग नपाउने होकी जस्तो लाग्थ्यो तर सबैको साथ र सहयोगले नै अगाडि बढिरहेको छु ।

प्रधानाध्यापक भएपछि कस्तो अनुभव भयो र कस्ता योजनाहरु अघि बढाउनुभएको छ ?
सापकोटाः हाम्रो विद्यालयमा शिक्षकको अभाव छ । कक्षा ८ सम्म पढाई हुने विद्यालयमा जम्मा ७ जना शिक्षकहरु छन् । विषयगत शिक्षण तथा कक्षा शिक्षण लागू तथा इसीडी कक्षालाई व्यवस्थित गर्ने, माथिल्लो कक्षाबाट नभई तल्लो कक्षाबाट नै सुरु गरी अभिभावक भेला गरी विद्यालयको वार्षिक योजना तथा प्रगति विवरण उपलब्ध गरिने र व्यवहारिक किसिमले शिक्षण सिकाई अगाडि बढाउने योजना छ ।