फाइल तस्बिर

हेटौंडाः मकवानपुरमा कोरोना भाइरस संक्रमणको जोखिमलाई बेवास्ता गर्नेक्रम बढेसँगै स्वाब संकलनदर भने घटेको छ । कोरोनाको नयाँ ओमिक्रोन भेरियन्टले धेरै मानिसमा सामान्य लक्षणमात्र देखिएका कारण मानिसले यसको जोखिमलाई बेवास्ता गर्न थालेका छन् ।

‘मानिसलाई कोरोना केही होइनजस्तो लागेको छ’, हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईं भन्नुहन्छ– ‘जसकारण स्वाब परीक्षणका लागि न्यून मात्रामा मानिस आउने गरेका छन् ।’ बुधबार १८ जनाको मात्र स्वाब संकलन भएको छ । ७ जना महिला र ११ जना पुरुषको मात्र स्वाब संकलन भएको हो । बुधबार तामाङ सामुदायको मुख्य पर्व सोनाम ल्होछारका कारणले स्वाब परीक्षणदर कम भएको जनस्वास्थ्य निरीक्षक चौलागाईंले दावी गर्नुभयो ।

मंगलबार २६ जनाले स्वाब संकलन गराएका थिए । स्वाब संकलन गराउनेमा ११ जना पुरुष र १५ जना महिला रहेका थिए । यसैगरी सोमबार थप ३२ जनाले स्वाब संकलन गराएका थिए । १४ जना महिला र १८ जना पुरुषले स्वाब संकलन गराएको चौलागाईंले जानकारी दिनुभयो । आइतबार १९ जना महिला र २२ जना पुरुष गरी ४१ जनाले स्वाब संकलन गराएको उहाँले बताउनुभयो । यस्तै, गत शुक्रबार ४४ जनाले स्वाब संकलन गराएका थिए ।

आइतबार ४१ जना, सोमबार ३२ जना, मंगलबार २६ जना हुँदै बुधबार भने जम्मा १८ जनाले मात्र स्वाब संकलन गराएको तथ्यांकले स्वाब संकलन गराउनेको संख्या दिनहुँ कम हुँदै गएको पुष्टि गरेको छ । कोरोना महामारीविरुद्व नागरिक आफैं सचेत बन्न नसक्दा स्वाब परीक्षणदर पनि घट्दै गएको देखिन्छ । तर कोरोना संक्रमण पुष्टिदर भने वृद्वि भइरहेको छ । मंगलबारमात्र ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने एक जनाको मृत्युसमेत भएको थियो ।

हेटौंडा—१० स्थित गोरक्षेश्वर स्वाब संकलन केन्द्रबाट संकलित स्वाब नमुना परीक्षणका लागि हेटौंडा अस्पतालको पीसीआर प्रयोगशालामा पठाइने गरिन्छ । परीक्षण गराउने मानिसको संख्या न्यून हुनुले स्वास्थ्यप्रति हेलचेक्र्याइँ गरिएको देखिन्छ । कोरोना संक्रमण बढिरहँदा स्वाब संकलनदरमा किन कमी आयो भन्ने तथ्यमा सम्बद्ध निकाय गम्भीर बन्नु जरुरी देखिन्छ ।