चाडपर्वलाई खुसी र सुखका साथ उल्लास प्रस्तुत गर्ने अवसरको रुपमा हेरिन्छ । चाडपर्व विविध धार्मिक, सामाजिक समूहले आआफ्नो अनुकुलमा मनाउने गरेका छन् । चाडपर्वले व्यक्ति, परिवार, समुदाय र मुलुकलाई नै एउटा अर्थपूर्ण सम्बन्ध स्थापित गर्ने अवसर प्रदान गरिरहेको हुन्छ । नेपाल जस्तो पूर्वीय सभ्यता भएको मुलुकमा चाडपर्व अझ बढी आस्थापूर्ण एवम् सद्भावपूर्ण रहन्छ । चाडपर्वलाई खुसी र सुखको प्रतिकको रुपमा प्रस्तुत गर्न आर्थिकरुपमा कमजोर अवस्थाका व्यक्ति र परिवारले समेत ऋण गरेरै भए पनि चाडपर्व मनाउने जोहो गरिरहेका हुन्छन् । त्यसैले चाडपर्वले ऋण बोकाएर गयो भन्ने गुनासा सुनिने गर्छ ।

चाडपर्वमा खुसी हुँदाहुँदै, रमाउँदा–रमाउँदै त्यस्तो खुसी र रमाइलो एकैछिनमा हराउने गरी दुर्घटना समेत भइरहेको हुन्छ । जसले चाडपर्वको खुसी एकैछिनमा दुखको कारण समेत बन्ने गरेको छ भने हरेक बर्षको चाडले त्यो दुखलाई पुनरावृत्ति गराइरहन्छ । यस बर्ष देशका विभिन्न भागका साथसाथै मकवानपुरमा पनि विभिन्न दुखद् घटना भएका छन् । बडा दसैंसँगै तिहारमा पनि दुखद् घटना भएका छन् । तिहारको रमाइलो मनाइरहेका देउसीभैलो समूहलाई टिकाकै दिन शनिबार राती हेटौंडा–१९, नेवारपानीमा रात्रीबसले ठक्कर दिँदा २ जनाको मृत्यु भयो भने केही गम्भीर घाइते छन् । यस्तै लक्ष्मी पुजाको दिन पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा–१५, रातोमाटेमा मोटरसाइकल र बस आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भयो । सल्यान जिल्लामा आइतबार बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ भने केही गम्भीर घाइते छन् ।

चाडपर्वमा सवारी दुर्घटना सामान्य जस्तै बन्ने गरेको छ । सडक पूर्वाधारको कमजोर अवस्था, नियामक निकायको कमजोरी, चाडपर्वमा यात्रुको चाप, गैरजिम्मेवार यातायात व्यवसायी, हेलचेक्र्याइँ गर्ने सर्वसाधारणका कारण चाडपर्व दुर्घटनाको जोखिमपूर्ण समयको रुपमा सावित हुँदै आएको छ । सवारी दुर्घटना र यसबाट हुने मानवीय क्षतिका घटनालाई लिएर दुर्घटना भएको २-४ दिन मात्रै चासो दिने गरिएको छ । दुर्घटना भएको साता दिन बित्न नपाउँदै आम मानिसले, सरकारले, सरोकारवाला निकायले दुर्घटनालाई बिर्सने प्रवृत्तिले जोखिम न्यूनीकरणमा ध्यान पुग्न सकेको छैन । तर, पीडितले हरेक बर्ष चाडपर्वलाई दुखको घाउ चहर्‍याउने समयको रुपमा सम्झन बाध्य हुनुपर्ने छ ।

चाडपर्व चहर्‍याउने नहोस् भन्नाका लागि आम नागरिक आफैं सचेत हुनु जरुरी छ । आम नागरिकको सचेतताका साथसाथै जिम्मेवार निकाय र सरकारले पनि गम्भीरताका साथ दुर्घटनाका जोखिमलाई न्यूनीकरण गर्न काम गर्नुपर्छ । सडक पूर्वाधारलाई सुरक्षित बनाउँदै आम नागरिकको सुरक्षित यात्रालाई सुनिश्चित गर्न सरकार र सरोकारवाला निकायले जिम्मेवार भएर काम गर्नुपर्छ । चाडपर्वलाई सुख र खुसीको समयको रुपमा आत्मसात गर्न, गराउन सबैले हातेमालो गर्न ढिलाई गर्‍यौं भने ढिलो चाँडो सबैले दुख व्यहोर्न बाध्य हुनुपर्नेछ ।