हेटौंडाः दशैं नजिकिएसँगै मकवानपुरमा खसीबोकाको व्यापार सुरु भएको छ । चाडपर्वको समयमा समेत खसीबोका व्यापार भने कम भएको व्यवसायीको भनाई छ । तर, बिक्री करमा स्थानीय सरकारले छुट दिएको छ ।
आइतबार १ सय ५० वटा खसीबोका बिक्रीका लागि व्यापारीले ल्याएको व्यापारी बालचन्द्र दुलालले बताउनुभयो । खसीबोका व्यापारीले नाफा कम भई घाटा हुने भएपछि बिक्रीका लागि ल्याइएका खसीबोका फिर्ता लगिएको बताउनुभयो । आइतबार ल्याइएका ७३ वटा खसीबोका बिक्री भए पनि अव्यवस्थित बासोबासका कारण घाम चर्किएपछि बाँकी खसीबोका बजारबाट फिर्ता लगिएको उहाँले बताउनुभयो ।
हेटौंडा बजार आसपासका मानिसमात्र खसीबोका किन्न आउने गरेको दुलालले बताउनुभयो । पहिला दशैं आउनुभन्दा १५–२० दिन अघिदेखि गाउँका मानिसहरुसमेत खसीबोका किन्न आउने गरेको उहाँले बताउनुभयो । अहिले कोरोना भाइरस संक्रमण दर सामान्य हुँदा पनि गाउँबाट खसीबोका किन्न आउनेको संख्या न्यून रहेको उहाँले जानकारी दिनुभयो ।
१० हजारदेखि २२ हजार रुपैयाँसम्मका खसीबोका बिक्रीका लागि व्यापारीले ल्याउने गरेका छन् । व्यापारी दुलाल भन्नुहुन्छ– ‘५ महिनापछि निषेधाज्ञा खुलेसँगै बजार क्षेत्रमा अलिअलि चहलपहल बढेको भएपनि खासै खसीबोकाको व्यापार भने भएको छैन ।’ चार्डपर्वका बेला दिनमा १ सय २५ खसीबोका बिक्री हुने गरेकोमा अहिले कोरोनाका कारण व्यापार नभएको उहाँले बताउनुभयो । पहिला बसपार्क क्षेत्रमा एउटा खसीबोकाको १५ रुपैयाँ कर तिरेर शौचालय र टहराको व्यवस्था गरिएको थियो । तर अहिले खसीबोका बिक्री गर्ने स्थानमा कर तिर्नु नपर्ने भएपनि घामपानी र शौचालय नभएकाले असहज भएको उहाँले गुनासो गर्नुभयो । हेटौंडामा मकवानपुर, ललितपुर, रौतहट, बारा, सर्लाहीलगायतका जिल्लाबाट खसीबोका बिक्रीका लागि ल्याउने गरेको उहा“ले जानकारी दिनुभयो ।
राक्सिराङबाट हेटौंडामा खसीबोका बिक्रीका लागि आउनुभएका बमबहादुर लामा भन्नुहुन्छ– ‘३ वटा खसी बिक्री गरेँ, ३ हजार रुपैयाँ नाफा भएपनि अटोमा ल्याएको खर्चलाई जोड्दा घाटा हुने देखियो ।’ गाउँका किसानबाट ३४ हजार रुपैयाँमा ल्याएको खसी ३७ हजार रुपैयाँमा बिक्री भएको लामाले बताउनुभयो । राक्सिराङमा करिब ७७ प्रतिशत व्यक्तिहरुले खसीबोकालगायत पशुपालन गरेको उहाँले जानकारी दिनुभयो ।
मकवानपुर जिल्लाका राक्सिराङमात्र नभई भीमफेदी, ठिंगन, कुलेखानीदेखि खसीबोका ल्याएर बिक्री गर्ने गरेको लामाले बताउनुभयो । १० प्रतिशत व्यापारीले खसीबोका व्यापार गर्ने कार्य छाडेको पनि उहाँले जानकारी दिनुभयो । ती व्यापारी कपडा पसल, होटल, मयूरी तथा अटो चलाउन लागेको उहाँले बताउनुभयो ।
बसपार्कमा होटल, किराना पसलहरु विस्तार गरिने भएपछि त्यहाँबाट खसीबोका बजार हटाएको व्यापारीको भनाई छ । खसीबोका व्यापारका लागि व्यवस्थित स्थल निर्माण गर्ने आश्वासन दिएपनि ठेकेदारसमेत फरार रहेको व्यापारीको गुनासो छ । अहिले व्यापार गरिरहेको ठाउँमा घामपानीका बेला ओत लाग्ने स्थानका साथै शौचालयको अभाव भएको उनीहरुको दुःखेसो छ ।