हेटौंडाः मकवानपुरको हेटौंडा–३, बसामाडीमा रहेको बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपाल लिमिटेडलाई कसले कारबाही गर्ने भन्ने अन्यौलता छाएको छ । भाद्र १७ गते जिल्ला प्रशासनसहित गएको अनुगमन टोलीले उद्योग शिल गरेको छ । अनुगमनमा पुगेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कर्याालय, प्रशासन, जनप्रतिनिधि, उपभोक्ता हित संरक्षण मञ्चसहितको टोलीले युनिलिभरमा म्याद गुज्रेको ३५ केजीको ९ सय २० बोरा चियापत्ती फेला पारेको थियो ।

अनुगमन टोलीले म्याद गुज्रेकोे रेडलेबल नाम गरेको चियापत्तीको कच्चामाल ९ सय २० बोरा फेला पारेको थियो । उद्योगमा ठूलो मात्रामा म्याद गुज्रेको चियापत्ती भेटिएपछि उपभोक्ता ठगी गर्ने उद्देश्यले बजारमा बिक्री गर्न लागिएको भन्दै अनुगमन टोलीले उद्योग शिल गरेको थियो । अनुगमनमा सहभागी खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय मकवानपुरका प्रमुख सोकान्त रिजालले म्याद गुज्रेको लेबलसहितको स्याम्पल परीक्षण गर्न कार्यालयले विभागमा पठाएका थिए । विभागले न्यून गुणस्तको चियापत्ती र र लेबल अपुग भएको भन्दै कार्यालयलाई कारबाही अघि बढाउन निर्देशन दिएको छ ।

सोहीअनुसार खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले शिल गरेको उद्योग र म्याद गुज्रेको चियापत्तीको विस्तृत अनुसन्धान अघि बढाएको छ । उपभोक्तालाई थाहै नभई बजारमा म्याद गुज्रेको चियापत्ती पुग्ने आशंकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले अनुसन्धान अघि बढाएको हो । कार्यालयले ३ महिनादेखि युनिलिभरमा म्याद गुज्रेको चियापत्ती रहेको जनाउँदै आवश्यक कागपत्र उद्योगसँग मागसमेत गरेको छ ।

स्रोतका अनुसार उद्योगमा भारतबाट चियापत्तीको कच्चामाल भएको भनिए पनि नेपालमै उत्पादित चियापत्ति भएको देखिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले अन्तर समन्वयको अभावका कारण अनुगमन गरेर शिल गरिएको दिन उद्योगलाई ठाउँको ठाउँ कारबाही गर्न नसकेको जनाएको छ । यसअघिको अनुगमनमा जिल्ला प्रशासनका प्रमुख जिल्ला अधिकारी, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुखलगायतको सहभागिता हुनाले म्याज गुज्रेको पाइएमा सोझै जरिवाना गरेर, जफत गरी नष्ट गरिन्थ्यो ।
तर, युनिलिभरको अनुगमनमा प्रशासनको डिसिजन लिनसक्ने कर्मचारी, घरेलुको प्रमुख अनुपस्थित हुँदा सोही दिन कारबाही गर्न सकिएन । अनुगमनमा पत्रकारलाई समेत युनिलिभरले निषेध गरेको थियो । किन निषेध भयो ? अनुगमनको नेतृत्वले ध्यान दिनेछ । बहुराष्ट्रिय कम्पनीको भित्री कुरा बाहिर आउने डरले पत्रकारलाई निषेध गरिएको प्रष्ट देखिन्छ । अन्तर समन्वय अभावका कारण युनिलिभरको कारबाही प्रक्रिया ढिला हुँदै गएको छ ।

बहुराष्ट्रिय कम्पनीको विषयमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको केन्द्रीय निकायले समेत विशेष चासो राखेको देखिँदैन । यद्यपि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडा शाखाले पनि अनुसन्धान गरेर आवश्यक कारबाहीका लागि अनुसन्धानको निष्कर्षसहित सम्बन्धित प्रशासनमा बुझाउने तयारी गरेको छ । सिमित जनशक्तिको बाबजुत पनि उद्योगमा शिल गरेको हुनाले थप प्रक्रियाका लागि आवश्यक प्रमाण संकलन भइरहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले जनाएको छ । यसबारे जिल्ला प्रशासन कार्यालय मकवानपुरसँग कार्यालयले आवश्यक सहजीकरण गरिरहेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडामा १५ जनाको दरबन्दी भएपनि दरबन्दीअनुसार कर्मचारी छैनन् । १५ मध्ये ११ जना प्राविधिक हुनुपर्ने भएपनि ५–७ जनामात्र प्राविधिक रहेका छन् ।

यता अनुगमनमा सहभागी उपभोक्ता हित संरक्षण मञ्चको केन्द्रीय सदस्य बासु खतिवडाले उद्योगलाई आवश्यक कारबाही हुनुपर्ने बताउनुभएको छ । उद्योगमा म्याज गुज्रेको लाखौं मूल्यको चियापत्ती भेटिएसँगै खाद्य ऐनअन्तर्गत् कारबाही प्रक्रिया अघि बढेको उहाँको भनाई छ । भाद्र १७ गतेबाट आजसम्म शिल अझै पनि जस्ताको त्यस्तै रहेको भन्दै अनुसन्धान जारी रहेको जानकारी आएको खतिवडाले बताउनुभयो ।

उपभोक्ता हित संरक्षण मञ्चले उपभोक्तालाई म्याज गुज्रेको चियापत्ती बिक्री गर्न लागेको भन्दै त्यसको निन्दासमेत गरेको छ । खाद्य ऐनले वा प्रशासनले कस्तो कारबाही प्रक्रिया अघि बढाउँछ हेरिरहेको उहाँले जानकारी दिनुभयो । यदि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको सिफारिसअनुसार प्रशासनले आवश्यक कारबाही अघि नबढाएमा उपभोक्ता हित संरक्षण मञ्चले त्यसको कारबाही प्रक्रिया अघि बढाउने उहाँले दावी गर्नुभयो ।

यद्यपि अनुसन्धान पूरा भएपछि यसको परिणाम कस्तो आउँछ, प्रशासनको भूमिका सकारात्मक हुने आशा गरिएको उहाँको भनाई छ । उपभोक्त हित संरक्षण मञ्चले भने बहुराष्ट्रिय कम्पनीको कामको निगरानी गर्न सुरु गरेको छ । उपभोक्ताका लागि आवाज उठाउने भन्दै कारबाही प्रक्रिया ओझेलमा परे केन्द्रीय कार्यालयले मुद्धा प्रक्रिया अघि बढाउने उहाँले बताउनुभयो । बहुराष्ट्रिय कम्पनीको अनुसन्धानमा भएका अधिकांश कर्मचारी लागिरहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले जनाएको छ । कार्यालयले आउँदो चाडपर्वमा बजारमा हुने अनुगमनमा समेत ध्यान कम जानसक्ने जनाएको छ ।

अनुसन्धानमा समय लाग्ने भएको हुँदा ठ्याक्कै यति नै समय जान्छ भनेर भन्न नसकिने कार्यालयले बताएको छ । दशै अघिसम्म कार्यालयले अनुसन्धान सकाएर कारबाहीका लागि प्रशासनलाई सिफारिस गर्ने तयारी गरेको छ । बहुराष्ट्रिय कम्पनी भएकाले कस्तो प्रकृतिको कारबाही हुन्छ भन्ने विषय चासो बनेको छ । स–साना खाद्यान्न स्टोर, पसल व्यवसायमा कडारुपमा प्रस्तुत भएको प्रशासन बहुराष्ट्रिय कम्पनीमा कसरी प्रस्तुत होला ?