हेटौंडाः बागमती प्रदेशको नेतृत्व नेकपा एकीकृत समाजवादीले गर्ने भएको छ । बागमती प्रदेशमा नेकपा एकीकृत समाजवादीको १३ सांसद भएपनि संघको गठबन्धन निर्णय अनुसार प्रदेशको मुख्यमन्त्री समाजवादीले पाउने भएको छ । सोमबार नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बागमती र प्रदेश १ को नेतृत्व समाजवादी पार्टीले गर्ने बताउनुभएको छ ।

यसअघि बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस बागमती प्रदेशको संसदीय दलको नेता इन्द्र बानियाँ मुख्यमन्त्री बन्ने चर्चा थियो । उहाँले केन्द्रको गठबन्धनको निर्णय अनुसार नै बागमती प्रदेशको नेतृत्व कुन पार्टीले पाउने तय हुने बताउनुभएको छ । उहाँले बामगती प्रदेशको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले अल्पमतमा परिसकेपछि नैतिकताको हिसाबले राजीनामा दिनुपर्ने भएपनि हालसम्म नदिएको बताउनुभयो ।

बागमती प्रदेशमा नेकपा समाजवादीको नेतृत्वमा सरकार गठन गर्न समाजवादी संसदीय दलका नेता राजेन्द्र पाण्डे लागिपरेका छन् । उहाँले प्रदेशमा नयाँ सरकार गठन गर्न दलहरुबिच छलफल जारी चलिरहेको बताउनुभएको छ । छोटो विधिबाट नयाँ सरकार गठन पक्रिया अघि बढाउने तयारी गरेपनि केन्द्रको निर्णयको पर्खाइमा रहेको उहाँको भनाई छ ।

यता सरकारको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रक्रिया अन्तर्गत प्रदेश सभाबाट विश्वासको मत लिने बताउनुभएको छ । उहाँले सरकार अल्पमतमा परेपछि काुनन अनुसार आफुले विश्वासको मत लिने र विश्वासको मत पाउने पनि बताउनुभएको हो । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई नेकपा एमालेको ४३ मत मात्र निश्चित रहेको छ । यस्तै साना दलमध्ये राप्रपाको २ मत आउनेछ । बागमती प्रदेशमा १०९ सांसद छन् । विश्वासको मत लिन सांसद शाक्यलाई ५६ मतको आवश्यकता पर्छ ।

मुख्यमन्त्री शाक्यले नेकपा एमाले जोगाउन समाजवादीका अध्यक्ष माधव नेपाललाई फर्किन समेत आग्रह गर्नुभएको छ । माधव नेपालको कारण बागमती प्रदेशको नेतृत्व गरेको बताउँदै आएका मुख्यमन्त्री शाक्यले अन्तिम बाजी कसरी मार्नेछन् सबैको चासोको विषय बनेको छ ।