हेटौंडाः जिल्ला अदालत मकवानपुरले गत आर्थिक वर्ष २०७७-०७८ मा १ हजार ५ सय १८ मुद्दाको फछ्र्याैट गरेको छ । गत वर्षको कुल मुद्दा संख्या २ हजार ४ सय २० मध्ये १ हजार ५ सय १८ मुद्दा फछर्याैट गरेको जिल्ला अदालत मकवानपुरका श्रेस्तेदार तीर्थराज भट्टराईले जानकारी दिनुभयो ।
गत वर्षमा जिल्ला अदालत मकवानपुरमा १ हजार ५ सय ६ वटा नयाँ मुद्दा दर्ता भएको थियो । नयाँ दर्ता भएका मुद्दामध्ये ७ सय एकवटा मुद्दा फछर्यौट भएको उहाँले बताउनुभयो । यस्तै ९ सय १५ वटा मुद्दा अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएको थियो । यसरी जिम्मेवारी सरेर आएकामध्ये ९७ वटा मुद्दामात्र फछ्र्यौट हुन बाँकी भएको श्रेस्तेदार भट्टराईको भनाई छ ।
जिल्ला अदालत मकवानपुरले गत आर्थिक वर्षमा एक हजार ७ सय २४ मुद्दा फछ्र्याैट गर्ने लक्ष्य लिएकोमा लक्ष्यको नजिक पुगेको छ । लक्ष्यको ८८ दशमलब ०५ प्रतिशत मुद्दाको फछ्र्याैट गर्न सफल भएको श्रेस्तेदार भट्टराईले बताउनुभयो । चालु आर्थिक वर्षका लागि ९ सय २ वटा मुद्दाको जिम्मेवारी सरेर आएको उहाँको भनाई छ ।