हेटौंडाः ग्रामीण महिला सेवा केन्द्रले हेटौंडा उपमहानगरपालिकामा आयोजना गर्ने कार्यक्रमहरुका लागि वार्षिक बजेट तथा कार्यक्रमहरुका विषयमा सरोकारवालाहरुसँग छलफल गरेको छ । सोमबार भर्चुअल माध्यम (जुम एप) बाट भएको छलफलमा कार्यक्रम संयोजक दिपक न्यौपानेले सहजीकरण गर्नुभएको थियो ।

ग्रामीण महिला सेवा केन्द्रले प्लान इन्टरनेशनल नेपालको सहयोग र हेटौंडा उपमहानगरपालिकासँगको समन्वयमा सञ्चालन गरिरहेको नेतृत्व र निर्णय कार्यक्रम अन्तर्गत वर्ष–२०२१/२०२२ मा आयोजना गर्ने कार्यक्रमहरुको विषयमा जानकारी गराइएको थियो । ग्रामीण क्षेत्रका महिलाहरुको पहल तथा नेतृत्वमा वि.सं. २०५९ सालमा स्थापना भएको ग्रामीण महिला सेवा केन्द्रबाट हालसम्म ४३ हजार ६ सय ११ जनाले सेवा लिएको कार्यक्रम संयोजक न्यौपानेले जानकारी दिनुभयो । सन् २०१९ देखि २०२२ सम्म ३ वर्ष आयोजना हुने नेतृत्व र निर्णय कार्यक्रमको लक्ष्य समाजमा रहेका कुरीति, कुसंस्कार युक्त मान्यता हटाउन, यसको कारण पत्ता लगाई दिगो रुपमा लैंगिक समानता कायम गर्न बालबालिका, किशोरकिशोरी, परिवार र समुदायमा प्रत्यक्ष रुपमा काम गर्न, बालिका तथा किशोरीहरुको प्रजनन् स्वास्थ्य अधिकार सम्बन्धी जानकारी गराउने लगायत रहेको पनि उहाँले बताउनुभयो ।

केन्द्रले हेटौंडा उपमहानगरपालिकाको वडा नं. ३, १२, १३, १४, १५ र १६ तथा मनहरी गाउँपालिका, मकवानपुरगढी गाउँपालिका र बागमती गाउँपालिकालाई कार्यक्षेत्र बनाएर काम गरिरहेको न्यौपानेले जानकारी गराउनुभएको छ । केन्द्रले बाल तथा यूवा सशक्तीकरण, अर्थपूर्ण सहभागिता र लैंगिक समानताका लागि परिवर्तनका संवाहक कक्षा (सिओसी) सञ्चालन गरिँदै आएको पनि जनाएको छ । जसका लागि १४ वटा सिओसी व्यवस्थापन सञ्जालहरु, १४ युवा सञ्जाल, २५ जना सहजकर्ताहरु तथा ५६ वटा सिओसी कक्षाहरु सञ्चालन गरिएका छन् ।

ग्रामीण महिला सेवा केन्द्रले हेटौंडा उपमहानगरपालिकाअन्तर्गत रहेर साविकको चुरियामाई गाविस, बसामाडी र पदमपोखरीमा गर्ने कार्यक्रमहरु तथा अनुमानित बजेट तयार पारेको छ । योजनाअनुसार परिवर्तनका संवाहक कक्षा सञ्चालन, कक्षा सञ्चालन गर्ने सहजकर्तालाई सञ्चार, कक्षा सञ्चालनका सामग्री, सामाजिक परिचालकको तलब तथा अन्य सुबिधाहरु, कार्यसमिति अनुगमन भ्रमण खर्च लगायतका विविध कार्यक्रम रहेको छ । यस्तै जिल्लास्तरमा रेडियोबाट सूचनामूलक सन्देश प्रवाह गर्नेलगायतका कार्यक्रमहरु समावेश गरिएको जनाइएको छ ।

ग्रामीण महिला सेवा केन्द्रकी सचिव अचला शर्माको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा–१२ का वडा अध्यक्ष ललित घलान, वडा नं. १५ का वडा अध्यक्ष महारत्न लामा, हेटौंडा उपमहानगरपालिकाका सामाजिक विकास महाशाखा प्रमुख भीम तिमल्सिना, हेटौंडा उपमहानगरपालिका वडा नं. ३, १४, १५ र १९ का वडा सदस्यहरु लगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।