हेटौंडाः नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुले जनादेशको पक्षमा शुक्रबार देशव्यापी रुपमा आयोजना गरेको प्रदर्शन कार्यक्रम मकवानपुरमा पनि भएको छ । अनेरास्ववियु मकवानपुरले शुक्रबार हेटौंडाको बुद्धचोकमा विभिन्न नारासहित जनादेशको पक्षमा समर्थन जनाउँदै प्रदर्शन गरेको हो ।
एउटै संगठनले एउटै कार्यक्रम एकै स्थानमा दुईपटक गर्दा प्रदर्शनलाई नियालिरहेकाहरु भने अलमलमा परेका देखिन्थे । नेकपा एमालेका अध्यक्ष केपी ओलीनिकट अनेरास्ववियु मकवानपुरले एउटै ब्यानरमा एउटै कार्यक्रम एकै स्थानमा १ घण्टाको फरकमा आयोजना गरेको थियो ।
‘राजनितिक अस्थिरता, निर्दलीय सोच र प्रवृत्तिका बिरुद्ध एकजुट बनौं । ताजा जनादेशका पक्षमा जनमत सृजना गरौं ।’ लेखिएको ब्यानरसहित शुक्रबार अनेरास्ववियु मकवानपुरद्वारा हेटौंडाको बुद्धचोकमा दुईपटक प्रदर्शन भएको छ । प्रदर्शनमा उपस्थित विद्यार्थीहरुले राजनीतिक अस्थिरता बन्द हुनुपर्ने माग गरेका थिए । निर्दलीय सोच र प्रवृत्तिका विरुद्धमा एकजुट हुनुपर्ने भन्दै हालको अवस्थामा चुनाव अत्यावश्यक रहेको उनीहरुको भनाई थियो । तर एउटै कार्यक्रम दुईपटक किन भएको भन्नेबारे सबै अचम्मित छन् ।
शुक्रबार दिउँसो ४ बजे हेटौंडाको बुद्धचोकमा अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य सन्तोष पौडेलको उपस्थितिमा प्रदर्शन भएको थियो । प्रदर्शनमा केन्द्रीय सदस्यद्वय नवीन मिश्र, आशीष अस्लामी मगरलगायत जिल्ला कमिटीका सदस्यहरुको उपस्थिति रहेको थियो । प्रदर्शनमा नेकपा एमाले जिन्दावाद, सर्टिफिकेटको आधारमा शैक्षिक ऋण उद्यशीलता समृद्धिको आधार हो, विद्यार्थी र शिक्षकलाई खोप दिई पढाई, परीक्षा र शैक्षिक सत्र सुचार गर भन्दै प्लेकार्डहरु प्रदर्शन गरेका थिए ।
यस्तै, साँझ ५ बजे जिल्ला कमिटी संयोजक विशाल पौडेलको नेतृत्वमा पुनः सोही कार्यक्रम आयोजना भएको थियो । हामी चुनाव चाहन्छौं, राजनीतिक अस्थिरता बन्द गरलगायतको नारा लगाएका थिए । कार्यक्रममा केन्द्रीय सदस्य किसन घिसिङको समेत उपस्थिति रहेको थियो ।
यसरी एउटै उद्देश्य बोकेको एउटै संगठनले छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरेपछि नेकपा एमालेका जिल्लास्तरका नेताहरु भने चिन्तामा परेका छन् । हालको अवस्थामा एक भएर लाग्नुपर्ने अवस्थामा एउटै कार्यक्रम पनि दुई समूहमा हुन थालेपछि शुक्रबार सामाजिक सञ्जाल फेसबुक जिल्लादेखि केन्द्रीयस्तरका नेताहरुको स्टाटसले तातिएको छ ।
अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य सन्तोष पौडेल समूहमा रहेका जिल्ला कमिटी सदस्यहरुले गत बैशाखमा विशाल पौडेललाई अवैधानिक तरिकाले जिल्लाको संयोजक बनाइएको आरोप लगाउँदै आएको छ । यता संयोजक पौडेलले एउटै संगठनभित्र समानान्तर गतिविधि आयोजना हुन थालेको भन्दै कारवाही प्रक्रिया अगाडि बढाइने बताउनुभएको छ ।