संकटको समयमा समाजका प्रत्येक सदस्य एक अर्काका सहयोगी बन्नु पर्दछ । मानवीय भावना देखाउने समय पनि आपतविपदमै हो । तर केही व्यक्तिहरु कसैको अप्ठेरोलाई नै आफ्नो फाईदाका लागि प्रयोग गर्ने गर्दछन् । कोरोना महामारीले देशभर नै निषेधाज्ञाको अवस्था छ । सार्वजनिक यातायातका साधनहरु सञ्चालनमा प्रतिबन्ध नै छ । अतिनै आवश्यक परेकाहरुलाई टाढाको यात्रा गर्न सम्भव छैन । तर छरछिमेकमा रहेका सवारी साधनको प्रयोग गरेर मानिसहरुले आफ्ना समस्या टार्ने गरेका छन् । अप्ठेरो परेपछि जति मूल्य भने पनि दिएर काम गराउनुपर्ने बाध्यता छ । मकवानपुरको बागमती गाउँपालिकामा रहेको एउटा अटोले हेटौंडासम्म आउनका लागि व्यक्तिको त्यही बाध्यतालाई नराम्रोसँग दुरुपयोग गरेको छ ।

मकवानपुरमा जेठ ३१ गतेसम्म निषेधाज्ञा जारी छ । निषेधाज्ञामा सार्वजनिक यातायात चलेका छैनन् । केही निजी यातायातलाई नै सार्वजनिक यातायात बनाएर चलाइको छ । यस अवस्थामा जिल्लाको ग्रामिण क्षेत्रबाट सदरमुकाम आउने विद्यार्थी, विरामीहरु यातायातको चर्काे भाडा तिर्न बाध्य छन् । हेटौंडादेखि बागमती गाउँपालिकासम्म पुग्न बसमा निषेधाज्ञा अघि २ सय रुपैयाँ भाडा हो । उनीजस्तै बागमती गाउँपालिकाबाट हेटौंडा आउने प्रत्येक विरामी तथा अन्य नागरिकहरु अटोलाई ५ हजार रुपैयाँ भाडा तिर्न बाध्य छन् । निषेधाज्ञा अघि २५ सय रुपैयाँमा आउजाउ गर्ने अटोले अहिले २ गुणा बढी भाडा लिने गरेको छ । ग्रामिण क्षेत्रमा चल्ने सार्वजनिक यातायात नचल्दा उनीहरु महंगो भाडा तिरेर आवतजावत गर्नुपर्ने अवस्था छ ।

अत्यन्त जरुरी काम नपरी निषेधाज्ञाको अवस्थामा कोही पनि घर छोडेर बाहिर हिँड्न चाहँदैन । तर बाध्यतामा परेका बागमती गाउँपालिकाका विद्यार्थीले हेटौंडासम्मका लागि अटोलाई ५ हजार रुपैयाँ तिरेका छन् । ८० किलोमिटरको दूरीका लागि ५ हजारको भाडा सुन्दा पनि पत्याउन सकिने अवस्था छैन । काठमाडौंबाट सिमरा हवाईजहाज भाडा नै ३ हजार छ । तर बागमतीदेखि हेटौंडासम्म यति चर्को भाडा लिने अटोचालकले लकडाउन अवधिको भाडानै विद्यार्थीसँग असुल गर्र्न खोजेको देखिन्छ । यो भाडा त नमूना मात्र हो । संकटको वर्तमान अवस्थामा यस्ता नाजायज काम धेरै भएका छन् तर सार्वजनिक नभएका मात्र हुन् ।

अटो भाडा जस्तै बजारमा खाद्यान्नदेखि दैनिक उपभोग्य वस्तुको मूल्य पनि यस्तै चर्को छ । खाए खा नखाए… भने जस्तो खरिद गर्नु उपभोक्ताको बाध्यता हो । लामो समय बन्द गर्नु पर्ने कारण व्यवसायीले छोटो समयमै आफ्नो मासिक आम्दानी उठाउने अवस्था छ । तर उपभोक्ता बोल्न सकेका छैनन् । बोले पनि कोरोना महामारीका समयमा सुनुवाई कस्ले पो गरिदिने ? त्यसैले यतिबेला जस्ले सक्यो उसैले जान्यो को अवस्थाबाट समाज सञ्चालन भएको छ । त्यति मात्र हैन विरामीका लागि प्रयोग हुने सवारीले समेत मनलाग्दी भाडा असुल उपर गर्ने गरेको गुनासो देशव्यापी छ । विरामीको उद्दार र उपचारका नाममा मूल्य नै नसोध्ने अवस्थाको गलत तरिकाबाट फाईदा लिने प्रवृत्ती निरुत्साहित गर्नु पर्दछ । यसमा कसैलाई दोष दिनु भन्दा मानवीय नाता राख्न सक्नु पर्दछ ।