हेटौंडाः सन् २०२२ फिफा विश्वकप र सन् २०२३ एसिया कपको दोस्रो चरणको छनोट अन्तर्गत बिहिबार चाईनिज ताईपेइबिरुद्ध भएको खेलमा नेपाल विजयी भएको छ । ताइपेइलाई २–० गोलअन्तरले पारजित गर्दै नेपालले दोस्रो चरणको छनोट खेलमा दोस्रो जित हात पारेको हो ।
कुवेतको राजधानी कुवेत सिटीमा भएको खेलमा नेपालाई जित दिलाउनका लागि मकवानपुरे खेलाडी अन्जन विष्ट र नवयुग श्रेष्ठले एक/एक गोल गरेका हुन् । खेलको सुरुवाती समयमा नै अग्रता बनाएको नेपालले दोस्रो हाफमा थप एक गोल गर्न सफल भएको थियो ।
चाइनिज ताईपेइका खेलाडीले डिबक्स भित्र ह्यान्ड गर्न पुग्दा नेपालले चौथो मिनेटमा पाएको पेनाल्टीलाई अन्जन विष्टले सदुपयोग गर्दै गोल गरेका थिए । सन्तोष तामाङको फ्रिकिकमा विपक्षी खेलाडीले पेनाल्टी क्षेत्रभित्र ह्यान्ड गरेपछि नेपालले पेनाल्टी पाएको थियो । अन्जनको यो जारी विश्वकप छनोटमा तेस्रो गोल हो ।
अधिकतम समय आक्रमणमै देखिएको नेपालले ताइपेइलाई दबावमा राख्दै खेल प्रस्तुत गरेको थियो । नेपालले दोस्रो गोलको लागि भने खेलको दोस्रो हाफ कुर्नुपरेको थियो । दोस्रो हाफको ८२औं मिनेटमा सुनिल बलको स्थानमा मैदान प्रवेश गरेका खेलाडी नवयुग श्रेष्ठले उत्कृष्ट गोल गर्दै नेपालको जित सुनिश्चित गरेका थिए । अन्जन विष्टको पासमा सुमन अर्यालले पेनाल्टी क्षेत्र भित्रबाट दिएको क्रसलाई नवयुगले पहिलो टचमा नै गोलमा परिणत गर्दै नेपाललाई २–० ले अघि बढाएका थिए ।
यस जितसँगै नेपालले विश्वकप छनोटको समूह चरणमा चौथो स्थानमा रहने पक्का गरेको छ । नेपालको एसियन कप छनोटको तेस्रो चरणमा प्रवेश गर्ने सम्भावना पनि जीवित रहेको छ । नेपालको ६ खेलमा २ जित र ४ हारसहित ६ अंक रहेको छ । जितविहिन चाइनिज ताइपेइको ६ खेलमा कुनै अंक छैन ।
अष्ट्रेलियाले ४ खेलमा १२ अंक जोड्दा जोर्डन र कुवेतको ५–५ खेलमा समान १०–१० अंक रहेको छ । नेपालले जेठ २४ गते जोर्डनसँग खेल्ने तालिका रहेको छ ।