हेटौंडाः मामाघर नेपाल मकवानपुरमा बस्दै आउनुभएका राजु अधिकारी अहिले १८ वर्षको हुनुभयो । १० वर्षअघि सडकमा रातदिन बिताउने अधिकारी अहिले राष्ट्रिय हक्की खेलाडीसमेत हुनुहुन्छ । मकवानपुरकै ईन्द्रसरोवर गाउँपालिकाका एक पूर्व सडकबालक हुनुहुन्छ, अधिकारी ।
सानै उमेरमा बुबा र आमाको माया नपाएका अधिकारी भन्नुहुन्छ– ‘चाहिने बेला आफन्तको माया, साथ र सहयोग पाइन । आमाको अनुहार देखेपनि बुबाको अनुहारसमेत देख्न पाइन ।’ आमाबुबा दुबैको मृत्यु भइसकेको खबर आफूले थाहा पाएको भन्दै अधिकारीले भन्नुभयो– ‘अहिले मेरो कोही छैन र मामाघर नेपाल नै मेरो घर हो ।’
आफू अभिभावकविहीन बन्नु परे पनि भावी पुस्ता तथा कुनै पनि बालबालिका अभिभावकविहीन बन्न नपरोस् भन्ने अधिकारी कामना गर्नुहुन्छ । ‘मेरो पनि अरु बालबालिकासरह विभिन्न इच्छा र चाहना छ’, उहाँ भन्नुहुन्छ– ‘आफ्नो अभिभावक नहुँदा ती सेवा सुविधाबाट वञ्चित हुनुपर्ने स्थिति छ ।’ बालबालिका अभिभावकविहीन हुँदा उनीहरुको शिक्षा, स्वास्थ्य, मानसिक र शारीरिकरुपमा नकारात्मक प्रभाव परेको अधिकारीले बताउनुभयो । यसले समृद्ध नेपाल र सुखी नेपाली अभियान नै प्रभावकारी हुन नसक्ने चिन्ता उहाँले व्यक्त गर्नुभयो ।
सानै उमेरमा लागूऔषध दुव्र्यसनीमा फसेका अधिकारीले मामाघर नेपालमा आइसकेपछि औपचारिक शिक्षा हासिलमात्र गर्नुभएन, हक्कीको राष्ट्रिय खेलाडीसमेत बनिसक्नु भएको छ । बढ्दो कोरोना भाइरस संक्रमण जोखिमका कारण अहिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरु नभए पनि आफू अन्तर्राष्ट्रियस्तरमा हुने खेलका लागि भने तयारीमा रहेको अधिकारीले बताउनुभयो ।
अधिकारीजस्तै सुशान्त थिङ, समिर तामाङ, समिर लामा र शान्त लामा पनि हक्कीका राष्ट्रिय खेलाडी हुनुहुन्छ । नेपालगञ्जमा भएको आठौं जेपी मेमोरियल राष्ट्रिय हक्की प्रतियोगिता तथा झापा र विराटनगरमा समेत खेल खेलिसक्नुभएका उहाँहरु पाकिस्तान र फिन्डल्याण्डमा आयोजना हुने खेलका लागि तयारी गरिरहेको बताउनुहुन्छ । जसरी पनि राम्रो गर्छु र सफलता हासिल गर्छु भन्ने दृढ अठोट र लक्ष्यका साथ अघि बढेकाले यहाँसम्म आइपुग्न सफल भएको अधिकारीले बताउनुभयो ।
कवाडीको थुप्रोमा भाग्य र भविष्य खोज्दै हिँड्दा दुनियाँले छिछि र दुरदुर गरेका व्यवहार सम्झिँदा अधिकारीको मन खिन्न हुन्छ । मौका पाए सडक बालबालिका पनि देशका लागि केही गर्न सक्छन् भन्ने उदाहरण बन्न आफू सफल भएको उहाँले बताउनुभयो । सडक बालबालिकाले अनेक दुःख र कष्टपूर्ण जीवन त बिताउँछन्, तर उनीहरुलाई त्यसमाथि सुकिला लुगा लगाएकाहरुले घृणा र अपमान गरेको देख्दा त्यस्तो नगर्न अधिकारी आग्रह गर्नुहुन्छ ।
बस्ने घर, ठेगाना र कसले कति बेला के गर्छ भन्ने कुरा थाहा नपाएका अधिकारीको जीवन भोगाइ कहालीलग्दो छ । ‘अरुको जुठो खाएर रमाउनुपर्ने जिन्दगी थियो, तर आज सडक बालकका हिसाबमा उत्कृष्ट कार्य गरी समाज र देशलाई देखाउन लागि परेको छु’, उहाँ भन्नुहुन्छ । खेल रमाइलोमात्रै नभई अनुशासन र व्यक्तित्व विकासको माध्यम भएकाले सबै खेललाई सम्मानजनकरुपमा खेलाडीको निम्ति सेवा सुविधा दिएर हौसला बढाउन प्रतिवद्धता हुनुपर्ने उहाँको धारणा छ । त्यसका निम्ति सरोकार निकायलार्य क्रियाशील बन्न अधिकारी आग्रह गर्नुहुन्छ ।