गृहमन्त्री रामबहादुर थापा र स्वतन्त्र उम्मेदवार डा. खिमलाल देवकोटा

हेटौंडाः गृहमन्त्री रामबहादुर थापा राष्ट्रिय सभामा बागमती प्रदेशको प्रतिनिधित्व गर्ने राष्ट्रिय सदस्य पदमा डा. खिमलाल देवकोटासँग पराजित हुनुभएको छ । गठबन्धनका उम्मेदवार डा. खिमलाल देवकोटा १ हजार ७४ मतले विजयी हुनुभएको हो ।

निर्वाचन अधिकृत गोबिन्द पौडेलका अनुसार निर्वाचनमा डा. देवकोटाले ५०८८ मत पाए भने थापाले ४ हजार १४ मत पाएका छन् । नेमकिपाका कृष्ण तामाङले १३२ मत पाए । थापा एमालेको आधिकारी उम्मेदवार थिए भने देवकोटा स्वतन्त्र रुपमा चुनावमा होमिएका थिए । डा. देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एमालेको वरिष्ठ नेता माधवकुमार नेपाल समूहको समर्थन थियो ।

थापा सर्वोच्च अदालतले माओवादी र एमालेलाई छुट्टाछुट्टै पार्टी बनाइदिए पछि एमालेतर्फ लागेका थिए । माओवादी केन्द्रबाट राष्ट्रिय सभा सदस्य निर्वाचित थापा एमाले प्रवेश गरेपछि कारबाहीमा परे । माओवादी केन्द्रले कारबाही गरेपछि उनको राष्ट्रिय सभा सदस्य पद गएको थियो । त्यही ठाँउमा भएको आज भएको उपनिर्वाचनमा एमालेको सस्थापनले थापालाई नै उम्मेदवार बनाएको थियो ।

३४८ मतदाता रहेको उपनिर्वाचनमा ३३८ जनाले मात्र मतदान गरेका थिए । थापालाई गृहमन्त्रीका रूपमा काम काम नगराउन सर्वोच्च अदालतले बिहीबारमात्रै अन्तरिम आदेश दिएको थियो ।