माओवादी बागमती प्रदेशको संसदीय दलका नेता शालिकराम जम्मकटेल, डा. खिमलाल देवकोटा, कांग्रेस बागमती प्रदेशको संसदीय दलको नेता इन्द्र बानियाँ

हेटौंडाः राष्ट्रिय सभा सदस्यको रिक्त एक सिटको लागी भएको उपनिर्वाचनमा स्वतन्त्र चुनाव लडेका डा. खिमलाल देवकोटा विजयी बनेका छन् । उनले गृहमन्त्री रामबहादुर थापालाई १ हजार ७४ मतले पछि पार्दै विजयी बनेका हुन् । थापाले पाएको ४ हजार १४ मतको ऋण तिर्दै देवकोटाले थप १ हजार ७४ मत पाएका छन् ।

देवकोटाले ५८ जना प्रदेश सांसदको मत पाए । स्थानीय तहबाट १ सय २८ जनाले उनलाई मतदान गरेका थिए ।

बागमती प्रदेशको ४५ सांसदले मात्रै गृहमन्त्री थापालाई मतदान गरे । यस्तै स्थानीय तहतर्फ १ सय ३ जनाले मात्रै थापालाई मतदान गरे ।

यता अर्का उम्मेदवार नेमकिपाका कृष्ण तामाङले २ सांसद र २ जना स्थानीय तहका प्रमुख र उपप्रमुखको मत पाए । उनले प्रदेश सांसदको ९६ मतभार र स्थानीय तहबाट ३६ मतभार प्राप्त गरेका हुन् ।

नेकपा एमालेको आधिकारीक उम्मेदवार थापा भएपनि उनी चुनाव हार्न पुगे । उनलाई राप्रपाको पनि साथ थियो । उनले उम्मेदवारी दर्ता गराउँन आउँदा र चुनावको अघिल्लो दिनसम्म पनि आफ्नो विजयी सुनिश्चित भएको बताएका थिए । एमालेको प्रदेश सभामा ५६ सांसद र स्थानीय तहका १३३ जना प्रमुख/पप्रमुख मतदाता थियो । उनका प्रतिस्पर्धी देवकोटालाई नेपाली कांग्रेस, माओवादी, जसपा र नेकपा वरिष्ठ नेता माधव नेपाल लगायतको साथ थियो ।

बिहीबार हेटौंडाको भुटनदेवी माविमा भएको मतदानमा १ सय ५ सांसद र स्थानीय तहका २३३ जना प्रमुख÷उपप्रमुखले मतदान गरेका थिए । ४ प्रदेश सांसद र ५ जना स्थानीय तहका प्रमुख÷उपप्रमुख अनुपस्थित भएका थिए ।