भर्खरैको ताजा तथ्याङ्कको आधारमा नेपालमा एकैदिनमा ७,४०० भन्दा बढी जनसंख्यालाई कोभिड १९ को दोस्रो प्रकारको भाइरसको संक्रमण भएको छ । सरकारले देसबासीको नाममा सम्बोधन गर्दै देशबासीको स्वास्थ्य सुरक्षा सरकारको पहिलो दायित्व हो भनेको छ । तर विद्यालय, अस्पताल र ठूला भवनहरुलाई कोभिड अस्पताल, आइसोलेसन, क्वारेण्टाइन र होल्डिङ्ग सेन्टरहरु सञ्चालनमा ल्याउने उद्घोष गरेको छ । सैया लुकाउने अस्पतालहरुलाई कडा कारवाही गरिने सम्बोधन पनि आएको छ । यसका लागि निषेधाज्ञालाई थप कडा बनाएर संक्रमणको साङ्गलो चुडाउने सरकारको प्रयासलाई जनस्तरबाट पनि साथ र सहयोगको अपेक्षा गरेको छ ।
एकातिर राजनीतिक सरगर्मी चलिरहेको छ भने अर्कोतिर स्वास्थ्य संकटकाल लगाउन सक्ने तयारी भैरहेको छ । तर नेपाल र नेपालीलाई यो तयारी गर्न र नाका सिल गर्न धेरै ढिलाई भैसकेको छ । मेरो छिमेकमा वा वडामा पनि पूर्व निर्धारित विवाह तथा भोजभतेरमा धेरै ठूलो संख्यामा जम्मा हुन पाउनुपर्ने माग बढेको छ । तर अस्पतालमा कोभिडको संख्याबाट मर्नेहरुको संख्या मकवानपुरमा मात्र ३८ जना पुगेको छ । यस अर्थमा पोहोरको कोरोनाजस्तै सामान्य हो भन्ने नागरिकको बुझाइ अहिले गलत सावित भैसकेको वातावरणलाई बुझाउन पनि अब सरकारले गाउँगाउँमा उपस्थित सरकारी विद्यालयका शिक्षकहरुलाई परिचालन गर्न आवश्यक छ । यस्ता खालका कामहरुले मात्र जनस्तरको साथ सहयोग सरकारले पाउन सक्ला । यस पटकको संक्रमण पोहोरको कोभिड भन्दा पाँच गुणा छिटो सर्ने र पाँचगुणा बढी मृत्यू गराउने संभावना भएको डबल म्युटेन्ट भाइरस हो ।
कोभिडको संक्रमितहरुसंग संसर्गमा आएकाहरुलाई आइसोलेट गर्ने ठाउँ नभएका कोभिड पेसेन्टहरुलाई मात्र अस्पतालमा राख्नुपर्ने व्यवस्था हुनुपर्दछ । मुटु र निमोनियाँको रोगीहरुलाई अस्पतालमा लग्ने वित्तिकै त्यही कोभिड संक्रमित भई मृत्यूबरण गर्नुपरेको छ । कतिपय यस्ता उदाहरणहरुले अस्पतालका सबै वातावरण के कोभिड संक्रमणको साङ्गलो मुक्त छ त भन्ने यक्षप्रश्न सर्वसाधारणको मनमा उब्जाएको छ भने कतिपय लक्षण देखिएका कोभिड पेसेण्टहरु अस्पतालमा बेड नपाएर, बेड पाएकाहरु पनि अक्सिजन नपाएर मृत्यु भैरहेका छन् । अहिलेको कोभिडले बालबालिका, बृद्धबृद्धा र दीर्घरोगका औषधि सेवन गरिरहेकाहरुलाई छिटो मार्ने गरेको तथ्याङ्क सामाजिक सञ्जाल र संचार माध्यमहरुमा आइरहेको छ, तर बजार उन्मुख गाउँहरुमा हेर्दा मास्क नलगाउने र भीडभाड गर्ने कार्यमा त्यहाँका स्थानीयहरु निस्फिक्री सहभागी भैरहेको पाइयो । यो अवस्था निकै चिन्ताजनतक हो । त्यहाँ टोलविकासका अध्यक्षहरुले पनि अनुगमन तथा सचेत गराएको देखिएन ।
वास्तवमा कोभिड संक्रमण आफैमा एउटा आतंक हो । यसले धनी, गरिब, ठूलाजात, सानाजात कसैलाई पनि भेदभाव नगरी सर्ने मौका उत्तिकै दिन्छ । हामी स्कुल कलेज छुट्टी भएपछि राजाको राँगोलाई साङलो फुकालेको जस्तो अनियन्त्रित भइ भीडभाडमा जाने, जे पायो त्यही छुने, मास्क नलगाई हिंड्न, पुलिसका लागि मास्क लगाउने जस्तो कार्य गर्ने ग¥यौं भने त्यस्ता व्यत्तिलाई यो कडा खालको कोभिड संक्रमण हुने चान्स ९०% रहेको कुरा उक्त छलफलमा सार्वजनिक गरियो । कसरी कम गर्न सकिन्छ त कोभिड १९ को दोस्रो कहरलाई ? अब त अझ कोभिडबाट हुने मृत्युलाई कसरी कम गर्न सकिन्छ भनेर सोच्ने हो । खासमा नागरिक समाजमा सचेतना यो हुनु पर्छ कि आफू पनि भीडभाडमा सपिङ्गको बहाना लिएर, बिहे भोजको बहाना गरेर, कुनै दुर्घटना वा अरुको घर झगडा हेर्ने बहाना पारेर जानुभएन । आफ्ना टोलछिमेकलाई पनि जान दिनुभएन । अब केही समयको लागि साथीलाई घरमा बोलाएर चिया खुवाउने र साथीभाइ बेलुका जम्मा भएर रमाइलो गर्ने संस्कृतिलाई त्याग्नु नै तपाई र तपाईको परिवारका लागि कल्याण हुन सक्छ।
हेटौंडामा जति पूर्व तयारी गरिएको रहेछ, त्यसले बीरगन्ज र ईण्डियाबाट आउने मानिसका लर्को नरोकिएमा भयावय ढंगले पैmलिने कोभिडको लागि त्यो तयारी २५ प्रतिशत मात्र पुग्ने अडकल मेरो रह्यो, तर हामी नागरिकहरु, वडावासीहरु र नगरवासीहरु सबैले के कुरा बुझ्नुपर्यो भने हामीले कुनै पनि कुरामा सरकारले जिम्मा लिन्छ र हामी बाँचौला भनी सोच्नु अहिलेको समयमा ठूलो मूर्खता हो । रोग लागिसकेपछि यो सुविधा पाइन, त्यो सुविधा दिएन भनेर गुनासो गर्नुभन्दा रोगको गाँस बन्ने बाटोमा प्रवेश नै नगर्नु राम्रो हो । राजनीतिक दलहरुले पनि बुझ्नुपर्ने कुरा केही महिनाका लागि ठूला ठूला भेला, जुलुस र आमसभा रोक्नुपर्छ । अन्यथा तपाईको दलले अधिकार मागिरहेको छ कि जनता मारिरहेको थियो, एक महिना नबित्दै तपाई नेताप्राणीहरुले छातीमा हात राखेर समीक्षा गर्नुपर्ने दिन आउनसक्छ । स्कुल कलेजहरु अनलाइन माध्यमबाट चलिरहेको छ, त्यसमा ध्यान दिनुस । ध्यान संहिताबाट हाम्रा पूर्खा विश्व ब्रह्माण्डको ज्ञान राख्थे, उनीहरुसंग पि.एच.डी. जस्तो अन्तिम सर्टिफिकेट उनीहरुको नाममा नभए पनि ठूला ठला ग्रहशान्ति र भविष्यवाणी गर्न सक्थे हाम्रा पूर्खा । तपाइ हामी अनलाइनबाट पढ्दैमा कम जान्ने हुने हौं र ? कुनै विषयका टिचरहरु, कोचिङ्ग कक्षाका सञ्चालकहरुले लुकी लुकी शुल्क लिएर कोभिड सर्नसक्ने जोखिमलाई लापरवाही गरी पढाउनुभैरहेको छ भने नर्सिङ, कापिवोर साइन्स र फरेष्ट्रीका विद्यार्थीहरु त्यस्ता कक्षाहरुमा गैरहेका छन् भने अभिभावकले मृत्यूको शुल्क तिरेको भनेर बुझ्दा सान्दर्भिक होला ।
गतबर्षको लकडाउनको अवज्ञा गरेर मैले समाजमा अरुले गर्न नसकेको काम गरें भनेर चियापसल र चोक चोकमा गफ लगाउने महानुभावहरुले गर्दा नागरिक समाजको चेतनालाई गलत दिशानिर्देश गरेको अवस्था रहेको पाइएको छ । यसपाली मकवानपुरमा पनि निषेधाज्ञा जारी भै व्यवसायीहरुलाई समय निर्धारण गरिएको छ । अन्तिम समयमा आएर सरकारले हवाई उडानहरु रद्द गरेको छ । कतिपय अवस्थामा सरकारहरु जोड घटाउमा लागेको पाइन्छ भने प्रतिपक्षहरु कुर्सी हत्याउन । स्थानीय तहमा प्रमुखले सिमित घेराका विज्ञहरुलाई कोभिड संक्रमण विरुद्ध सभा वैठक त गरिरहेका छन् तर सरकारबाट गैर सरकारी संस्थाहरुलाई पनि स्वास्थ्य सामग्रीको आपूर्तिका लागि सामाज कल्याण परिषदले आव्हान गरेको सूचनालाई स्थानीय तहमा कतिसम्म व्यवस्थापन गरियो त ? भनी प्रश्न कसैले सोधेमा त्यसको उत्तरमा ढिलाइ गरिन्छ । कोभिडले मरेका मानिसहरुलाई सेनाले सदगत गरेमा शुल्क तिर्नुपर्ने व्यवस्थालाई निशुल्क बनाउन सकेन । हेटौंडामा विधुतीय शवदाह नहुँदा मलामीले सास्ती भोग्नुपर्ने अवस्था छ । यस्ता खालका समस्याहरुलाई सबैको संयुक्त प्रयासबाट मात्र हामी निराकरण गर्न सकौंला । कोभिडको दास्रो लहरको समयमा पनि सत्तापक्ष र प्रतिपक्ष तथा गुट समूहको मानिसहरुमात्र व्यवस्थापन गर्ने यदि कसैले गरेको रहेछ भने त्यसलाई समयमै रोक्नुपर्ने देखिन्छ ।
विद्यालय र कलेज स्तरको अनलाइन शिक्षालाई स्कुल कलेजका शिक्षकहरुले अनलाइन कक्षाको लिंक पठाए पनि विधुत आपूर्ति अवरुद्ध हुने र विद्यार्थीहरुसंग वाईफाई पहुँच नहुने कारणले गर्दा कक्षा तथा परीक्षा सञ्चालन फितलो भैरहेको छ । उनीहरुलाई अनलाइन कक्षाको लागि टोल टोलमा एउटा शक्तिशाली क्षमताको फ्रि वाईफाई जडान गरिदिए, ती अनलाईन कक्षाबाट शुरुको ५ मिनेट कोभिड संक्रमणबाट बच्ने उपायहरुबारे सचेत गराएर बाँकी ३५ मिनेट विषयगत पढाइ गर्न शिक्षकहरुलाई पनि कोभिड संक्रमण नियन्त्रणमा उपयोग गर्न सकिन्छ । स्वास्थ्य र शिक्षालाई अहिलेको कोभिड संक्रमणले दूरगामी नकारात्मक प्रभाव छोड्ने वातावरण प्रष्ट भएको अहिलेको सन्दर्भमा हामीले स्थानीय पालिकाहरुलाई पनि घच्घच्याउनुपर्ने अवस्था छ । नागरिकहरुले पनि इमान्दार भइ आ आफ्नो परिवारका सदस्यहरुलाई मात्र भए पनि विहान विहान ३० मिनेट शारिरिक व्यायाम गराउने, कोभिड जोखिम हुने कार्यहरु नगर्न सचेत गराउने, केही औषधिहरु घरमै राख्ने र घरेलु जडिवुटीयुक्त मसलाहरु प्रयोग गरेका सुप, खाना, जुस आदिको नियमित सेवन गर्ने बानी बसाल्ने र खेतीको लागि बारीमा जानुबाहेक अरु समय घरभित्रै बसेर अनलाइन कक्षा लिने र सिर्जनात्मक काम गर्ने, हस्तकलाका सिपहरु सिक्ने सिकाउने गरेर समय विताउने गर्ने हो भने यो संक्रमणको साङ्गलोलाई चुँडाउन केही सहज हुने थियो ।
यसपटक कोभिड संक्रमण हुँदा कुनै पनि एक मात्र लक्षण देखिरहन पनि सकिने कुरा स्वास्थ्यकर्मीहरुले बताएका छन् । टोल टोलमा सचेतता, सहयोग र सहकार्यलाई टोल विकास संस्थाका अध्यक्षहरुलाई वडाबाट केही अधिकार सहितको जिम्मेवारी दिन ढिलाइ गरेमा बिरगंजको टाउकोमा रहेको हेटौंडा पनि अनियन्त्रित रुपमा संक्रमित भएको सहर बन्न सक्छ । यसमा सबैजनाले सचेत हुनै पर्छ । आ आफ्नो स्थानबाट कोभिड संक्रमण फैलिनलाई रोक्ने व्यवहारको योगदान दिनैपर्छ । हामी सचेत र विकासमुखी उप महानगरका बासिन्दा मात्रै होइनौ, हामी संस्कार र संस्कृतिका संरक्षणवादी नगरवासीहरु पनि हौंं । त्यसैले यसको लागि एक वडाको टोल समन्वय समितिको अध्यक्षको हैसियतले पनि म सबै मकवानपुरवासीहरु र हेटौंडावासीहरुलाई हातेमालो गरेर अघि बढ्न अपिल गर्दछु ।
सबैको जयहोस । कल्याणमस्तु !!! (लेखक सोसल स्टडिज टिचर्श एशोसियसन नेपालका महासचिव तथा श्री सिद्धार्थ मा.वि., हेटौंडाका सामाजिक अध्ययन विषयका विभागीय प्रमुख हुन् ।)