हेटौंडा–११, थानाभर्‍याङस्थित चुरेहिल हस्पिटल प्रालि ।

हेटौंडाः हेटौंडाको एक निजी अस्पताललाई कोभिड अस्पताल बनाइने भएको छ । बुधबार जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र मकवानपुरको बैठकले चुरेहिल अस्पताललाई कोभिड आस्पताल बनाउने निर्णय गरेको छ ।

आइसियूसहित २५ बेडको कोभिड अस्पताल संचालनमा ल्याइने भएको हो । यसअघि हेटौंडा अस्पतालमा २० एचडियू बेड राखेर कोभिड–१९ उपचार कक्ष संचालनमा ल्याइएको थियो । हाल हेटौंडा अस्पतालको कोभिड उपचार कक्षमा १८ जनाले उपचार गराइरहेका छन ।

हेटौंडा अस्पतालले प्रसुति र आकस्मिक सेवा बाहेक अन्य सेवाहरु बन्द गरेको छ । स्वास्थय बिमाका बिरामीहरु स्वास्थ्य जाँच गर्न परेमा अहिले चुरेहिल अस्पताल जानुपर्ने अवस्था छ । यसैगरी चुरेहिल अस्पतालमा सातामा ४० जना डायलासिसका बिरामीहरु आउने गर्छन भने ७ जना बिरामी अहिले उपचार गराइरहेका छन् ।

अन्य हाडजोर्नि सम्बन्धी शल्यक्रियाहरु चुरेहिल अस्पतालले गर्दै आएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोकर्ण पराजुलीले बताउनुभयो । उहाँले चुरहिल अस्पताललाई कोभिड अस्पताल बनाउँदै गर्दा स्वास्थ्य बिमा सेवाग्राहीले लिने सेवा बन्द हुने बताउनुभयो । यसैगरी अस्पतालमा अहिले ८ आइसियू बेड छन् भने एक मात्र भेन्टिलेटरको सेवा उपलब्ध छ । चुरेहिललाई कोभिड अस्पताल बनाउनै नहुने होइन तर यसबारे पनि ध्यान दिन नसकेको उहाँको भनाई छ ।