कोविड–१ को सन्दर्भमा कुरा गर्ने हो भने प्रकोप नियन्त्रण गर्न लकडाउनको शुरुआतसँगै धेरै शैक्षिक संस्थाहरूले परम्परागत कक्षाकोठाबाट अनलाइन शिक्षणमा बदल्न थाले जुन प्रतिकूल परिस्थितिको सामना गर्न आएका थिए । ‘अनलाईन शिक्षा’ भनेको विशुद्ध प्राविधिक शिक्षा हो, जुन सिकाइ क्रियाकलापमा विभिन्न प्रकारका आधुनिक उपकरणको प्रयोग गरिन्छ ।
जब कोरोना (कोभिड–१९) महामारीको कारण विश्व भरी मानिसहरु घर भित्रै सिमित रहँदा विशेष गरेर स–साना नानीबाबुहरुलाई कसरी उनीहरुको समय रचनात्मक प्रयोग गर्न सकिन्छ भनेर ठूलै बहस चलेको थियो । नेपालको सन्दर्भमा विद्यालय जाने उमेरका नानीबाबुहरु संयोगवश शैक्षिक सत्र सकिएको र अर्को शैक्षिक सत्र सुरु हुने बेला भएको थियो । त्यसकारण आधारभूत तहको विद्यार्थीहरुमा त्यति धेरै समस्या नदेखिए पनि कक्षा १०, ११ र १२ को माध्यमिक तहको विद्यार्थीहरुको वार्षिक परीक्षाको अन्तिम तयारी भएको समयमा अचानक आएको विपत्तिका कारण अन्योल सिर्जना भएको थियो जसको फलस्वरुप कक्षा १० र ११ को मूल्याङ्कन आन्तरिक रुपमा नै गरेर पठाइयो । त्यसको आलोचना सर्वत्र सुन्न पनि पाइयो ।
नेपालको सन्दर्भमा पहिलो अनलाइन शिक्षाका केही आलोचनात्मक प्रश्नहरू थिए । के सबै विद्यार्थीहरूको कुनै पनि इन्टरनेटको समस्या नभइ कक्षामा उपस्थित भए त ? के शिक्षकहरू राम्रोसँग सुसज्जित तथा प्रशिक्षित भएर शिक्षण गरे त ? के सबै विद्यार्थीहरूले दूर शिक्षाको यो अवसर प्रयोग गर्न सक्षम भएका थिए त अनि जो अनलाइनको पहुँचमा थिएनन् तिनका लागि वैकल्पिक शिक्षा कसरी दिइयो त ?
त्यतिखेर अधिकांश विद्यालयहरुले विद्यार्थीहरुलाई उनीहरुको सिकाइ क्रियाकलापमा निरन्तरता दिने उद्देश्यले विभिन्न एप्सहरुको माध्यमबाट अनलाइन कक्षाहरु सञ्चालन गरिएको थियो । त्यतिखेरको अवस्थालाई नियाल्दा समान कक्षामा पढ्ने विद्यार्थीहरु मध्ये एउटाको घरमा प्रविधिबाट सिक्न सम्पूर्ण सुविधा थियो, ऊ शिक्षकहरुसँग लगातार सम्पर्कमा थियो तर अर्कोे साथीसँग यो सुविधा नभएकै कारण शिक्षा लिनबाट बञ्चित हुने अवस्था थियो भने यसको दोषी को हुन् ? विद्यालय, शिक्षक र अभिभावक वा राज्य ? यसको निक्र्यौल नगरी फेरि पनि त्यो अन्यौलतामा अनलाइन शिक्षा सञ्चालन गर्नु भनेको गल्ती दोहो¥याउनु नै हो । अनि माछै नभएको पोखरीम माछा मार्न लगाउनु हो ।
अर्कोतिर, जब सानै उमेरमा प्रविधिको पहुँच हुन्छ त्यसको कलिलो दिमागमा रमाइलो मात्र रुचाउने, खेल खेल्न मन लाग्ने र यसले रचनात्मकता क्षमतामा ह्रास ल्याउने पनि उत्तिकै सम्भावना हुन्छ । गत सालको अनलाइन शिक्षणको एक अनुभव छ । म एक शिक्षक पनि भएको हुँदा विद्यार्थी र अभिभावकको सम्पर्कमा विद्यालयमा आउने अभिभावकले धेरै जसो गुनासो गर्ने भनेको घरमा नानीबाबुहरु मोवाइल प्रयोगको कारण पढाइप्रति मन गर्दै गर्दैनन् । ढोका थुनेर पढ्छन् । जतिखेर पनि मोबाइल नै चाहियो मात्र भन्छन् । राति अबेरसम्म बत्ती बलेको हुन्छ । बिहान ढिलासम्म सुत्छन् । हामी त मख्ख थियौँ हाम्रा नानी बाबुहरुले पढिरहेका छन् भनेर । केही अभिभावकहरुको मुखबाट सुनिन्थ्यो ।
त्यति नै खेर एक मित्रले प्रश्न गर्नुभयो– तपाईँले आफ्ना नानीबाबुहरुलाई कतिको समय दिनुहुन्छ त ? सँगै बस्नुहुन्छ कि हुन्न ? अनि मोबाइल चेक गुर्नुहुन्छ कि हुन्न के चलाइरहेका छन् भनेर ? अहँ गर्दिनथेँ म त । विश्वास थियो पुरै मेरो सन्तानमा किन गर्नुपर्यो र ? अनि मागेजति पैसा तिरेकै हुन्थ्यौँ त किन हेर्नु पर्यो र हामीले ? उल्टै काँचै खान थाले ती मित्रलाई । एकपटक दिनु त मोबाइल भनेर सबै चेक गर्दा त मित्र आफैँ तिन छक । ल हेर्नुस् तपाईँको सन्तानले यो पनि हेर्दो रहेछ भनेर देखाइदिनु भयो । जिब्रो टोक्नुभयो । विश्वासै रहेनछ । अभिभावक आँखामा आँसु छचल्काएर, डुबायो मेरो सन्तानले भन्दै आफ्नै घरतिर लाग्नुभयो । यो त एक प्रतिनिधि उदाहरण र पात्र मात्र हुन् । यस्ता त हजारैं छन् अहिले पनि । कि तपाईँको सन्तान पनि यतै लागिरहेको छ छैन ?
उनीहरुले मोबाइलमा गेम खेलेर तथा अन्य साइडहरु खोलेर समय खेर फाल्नु अनि विद्यालयबाट दिइएको गृहकार्यमा त्यति ध्यान नजानुले गर्दा मुख्य समस्या मान्दै आएका थिए अभिभावकहरुले । जब नानीबाबुहरुमा कुनै गेमको लत लागेको छ भने पक्कै पनि त्यो लत कुनै ड्रग्सको लतभन्दा कम हुँदैन । यदि जबर्जस्ती लतबाट बाहिर ल्याउन खोजियो भने दुर्घटना हुने सम्भावन प्रबल नै हुन्छ । यस्तो अवस्थामा उनीहरुलाई मनोवैैज्ञानिक परामर्श तथा अभिभावकको भरपुर साथको जरुरी पर्दछ जसले गर्दा उनीहरु रचनात्मक कार्य गर्न तथा समूहगत कार्य गर्न प्रेरित हुनेछन् । अनि, अनलाइन कक्षाका लागि भनेर केही समय र केही समयचाहिँ रचनात्मक कार्यमा, केही पढ्ने त केही लेख्ने कार्यमा अनि केही सामाजिक कार्य र घरायासी कार्यमा उपयोगी गराउन सकियो भने फलदायी नै हुन्छ यो समय । तर, यसको निहुँमा पुरै समय मोबाइल तथा कम्प्युटरमा दिने अनि घरमा आवश्यक निगरानी नगर्ने, वास्ता नगर्ने, एउटा सन्तान त हो नि भन्ने, मोबाइलहरु जस्तो भन्यो त्यस्तै किनिदिने, मोबाइलहरु चेक नगर्ने, बन्द कोठामा किन बसेका छन् भनेर ध्यान नदिने हो भने यसको नकारात्मक पाटोले बालबालिकाको मनोविज्ञानमा गहिरो छाप पर्न जान्छ जसको असर भोलि आम अभिभावकको टाउकोमा आइपर्छ ।
यदि लत लागिसकेको छ भने उपयोग गर्न नपाउँदा उनीहरुको मनोविज्ञानमा साच्चै दीर्घकालिन असर हुनेछ । यसले गर्दा अभिभावकमा पनि हिनतावोधको भावना जागृत हुन सक्छ । हरेक कुराको सकारात्मक र नकारात्मक दुवै पक्ष हुन्छन् जब हामी सही किसिमबाट अगाडि बढ्न सकियो भने दुर्घटना हुने सम्भावना कम हुन्छ ।
अबको आगामी बाटो सहज गर्नका लागि सम्बन्धित सरोकारवालाहरुले आ–आफ्नो दायित्व महसुस गर्नु पर्छ । तत्कालका लागि मुख्य जिम्मेवारी मुलत अभिभावक कै हुन्छ । किनकि अहिलेको समय सत्प्रतिशत बालबालिकाहरु घरमै हुने हुँदा अभिभावक विशेष जिम्मेवारी बन्नु पर्दछ । अभिभावक दायित्व भनेको कुनै बच्चालाई जन्म दिनु मात्र होइन, उसलाई असल, संस्कारी, चरित्रवान्, नैतिकवान् र सक्षम बनाउनु पहिलो र अत्यावश्यक पाटो हो ।
कुनै बालकको घर पहिलो पाठशाला हो भने उसको परिवार र परिवारका सदस्यले गर्ने कियाकलाप बालकको शिक्षाको पहिलो आधार हो । तसर्थ एक बालकलाई सही मार्ग निर्देश गर्नु पहिलो जिम्मेवार उसको जन्मदाताहरुको हुन्छ । अभिभावकहरुले अनलाइन कक्षा भन्ने बित्तिकै सबै शुल्क तिरैकै छ, हाम्रो काम भनेको लागेको शुल्क तिर्ने हो, पढाउने काम तथा जिम्मा त सम्बन्धित शिक्षक र विद्यालयकै हो भनेर आफू चुप लागेर बस्नेचाहिँ मूर्खता नै हो । यस्ता सोचले गर्दा अनलाइन कक्षाहरुको अपेक्षित उपलब्धि हासिल गर्न सकिँदैन । किनभने शिक्षक आमने सामने भएर अध्यापन गरे जस्तो हुँदैन तत्काल विद्यार्थीमा यसको प्रभाव देखिँदैन । यसका लागि अभिभावक आफैँ जागरुक भएर कुन शीर्षक हो, के को बारेमा छलफल हुँदै छ, के कुरा गर्न दिनुभएको छ ? कति समय मोबाइलमा दिने भन्नु भएको छ ? भनेर चासो लिएर उसको सिकाइमा सहभागी बन्दै सहपाठीको रुपमाझै उभिने हो भने मात्र उनीहरुको ध्यान केन्द्रित गर्न सहज हुन्छ फस्वरुप अपेक्षाकृत उद्देश्य पूरा हुन्छ ।
अहिलेको परिस्थितिमा यो वातावरण सहज देखिएको पाइँदैन । जब कि बुबा आमा दुवै जना आ–आफ्नै कार्यमा व्यस्त अनि बालबालिकाहरुलाई राम्रो किसिमबाट अनुगमन तथा समय दिन नसक्दा भविष्यमा पछुताउनु भन्दा अरु विकल्प छैन । यसको समाधानका लागि आफ्नो बच्चाले कोसँग के सिकिरहेको छ ? सिकाउने मान्छे कस्तो छ ? बच्चाको ध्यान केमा केन्द्रित छ ? साथीहरु के कस्ता छन् ? बच्चाको बुझाई के छ ? रुचि केमा छ भन्ने बारेमा विस्तृतरुपमा समयमै ध्यान पुर्याउनु नै आजको टड्कारो आवश्यकता हो ।
अन्त्यमा विशेषगरी अभिभावकले आफ्नो जिम्मेबारी बोध गर्दै समाज र राज्यबाट आ–आफ्नो दायित्व बहन गरी कार्यान्यनतर्फ उन्मुख हुने हो भने आउने पुस्ता निश्चित तरिकाले राष्ट्रले कल्पना गरे अनुसार, अभिभावकले सोचेअनुरुप, शिक्षकले सिकाएअनुसार विद्यार्थी उत्पादन हुने कुरामा दुइमतै छैन । जसका लागि देशको प्रमुख लगानी शिक्षामा हुनुपर्दछ र शैक्षिक क्षेत्रमा आवद्ध हरेक मानिसहरु शिक्षित हुनु जरुरी छ । आगामी शैक्षिक सत्रका लागि अहिले देखि नै अनलाइन शिक्षालाईसमेत समेट्ने गरी वृृहत कार्यक्रम तयार गर्न सकियो, योजनाहरु बनाउन सकियो भने, शिक्षकहरुलाई पर्याप्त प्रशिक्षण दिन सकियो, हरेकको घरमा इन्टरनेटको पहुँच विस्तार गर्न सकियो, इन्टरनेट तथा मोबाइलको पहुँच नहुनेका लागि समूहगत शिक्षणमा सहभागी गराउन सकियो भने मात्र आजका बालबालिका साच्चै भोलिको समृद्ध नेपालको सुन्दर रचायिता तथा कर्णधार हुन सक्छन् यसका लागि हामी सबैले आ आफ्नो ठाउँबाट रचनात्मक कार्य गरौंँ र वरपर गर्न लगााऔँ । म त आजैबाट लाग्दै छु तपाईँहरु नि ?