फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व यो वर्ष पनि नजिकिएको छ । यसवर्षको चैत १५ गते हिमाली एवम् पहाडी जिल्लामा र १६ गते तराईका जिल्लाहरुमा हर्षोल्लासका साथ होली पर्व मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व परम्परागतरूपमा विभिन्न रङ र अबिर खेली मनाउने गरिन्छ ।
फागुन शुक्ल अष्टमीका दिन काठमाडौंको वसन्तपुरस्थित गद्दी बैठकअगाडि मयलको रुखलाई रङ्गीचङ्गी ध्वजापताकाले सि“गारेर गाडिएको चीर अर्थात् कपडामा पूजाआजा गरेपछि फागु पर्व सुरु हुन्छ । होली रङ र अबिरको पर्व हो । यस पर्वको धार्मिक एवम् सांस्कृतिक महत्व रहेको छ । विसंगतिहरुलाई उडाउँदै नयाँ वर्षको सुखद् शुभारम्भ होलीको दिनबाटै हुने मान्यता छ । होलीले समाजमा आपसी रिसराग, द्वेष र वैमनस्यतालाई बिर्साएर सद्भाव र मेलमिलापका साथ अगाडि बढ्न सहयोग गर्ने धार्मिक र सांस्कृतिक मान्यता रहिआएको छ ।
त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले भगवान विष्णुका भक्त आफ्ना पुत्र प्रह्लादलाई विष्णुभक्तिबाट अलग गर्न नसकेपछि मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैं भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ । त्यसै बेलादेखि शक्तिको दुरुपयोग गर्ने राक्षसी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको खुसियालीमा होली अर्थात् फागु खेल्ने परम्परा चलेको मानिन्छ । नारद पुराण र भविष्य पुराणमा समेत होलीको महत्व अनि चलनको चर्चा गरिएको छ । यस्तै द्वापर युगमा भगवान श्रीकृष्णलाई विषयुक्त दूध चुसाएर मार्न आएकी राक्षसनी पूतनालाई पनि सोही दिन बालगोपाल श्रीकृष्णले बध गरेको प्रसंग उल्लेख गरिएको छ । यसरी राक्षसनीको बध गरेपछि गोकूलबासीहरुले भगवान कृष्णको जयजयकार गर्दै फागुन शुक्ल पूर्णिमाको दिन रंगीन उत्सव मनाएको विवरण पनि पुराणहरुमा उल्लेख गरिएको छ ।
फागु पर्वका अवसरमा परम्परादेखि नै सरकारले सार्वजनिक बिदा दिँदै आएको छ । तराई क्षेत्रमा भने यो पर्व पूर्णिमाको भोलिपल्ट मनाउने गरिन्छ । यसवर्ष पनि तराईमा सोमबार होली मनाइँदैछ । केही वर्ष अघिसम्म उपत्यकलगायतका शहरबजारमा उत्ताउलो तरिकाले मनाउन थालिएको होली पर्व अहिले प्रहरी प्रशासन र नागरिक समाजको सक्रियताका कारण पछिल्लो समय केहि हदसम्म मर्यादित तरिकाले मनाउन थालिएको छ । सडकमा काम विशेषले हिँड्नेलाई इच्छाविपरीत रङ र लोला हान्ने प्रवृत्तिमा कमी आएको छ । होली पर्वलाई व्यवस्थित र मर्यादित बनाउन सरकारले जारी गरेको नियमलाई प्रहरी प्रशासन, नागरिक समाज र सचेत वर्गले कडाईका साथ पालना गराउन थालेका छन् । केहि वर्षयता होली मनाउने नाममा शहरबजारका सडकमा फोहर पानी छ्याप्ने र पैदल यात्रुहरुलाई सास्ती दिनेको संख्यामा कमी आएको देख्न सकिन्छ ।
पहाड र तराईका जिल्लामा अलग-अलग दिन होली पर्व मनाउने चलनले हाम्रो देशमा एउटै चाडमा पनि दुई दिन बिदा दिनुपर्ने अवस्था रहिआएको छ । नेपालका पहाडी क्षेत्रमा फागु पूर्णिमाको दिन होली पर्व मनाउने गरिन्छ । तराई क्षेत्रमा त्यसको भोलिपल्ट होली मनाइन्छ । यसले स्कूल, कलेजलगायतका शिक्षण संस्थाहरु दुई दिन बिदा दिनुपर्ने बाध्यता छ । विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारी र सेवाग्राहीलाई समेत यसले प्रत्यक्ष असर पारेको छ । पहाडी क्षेत्रमा पर्ने मकवानपुर जिल्लाको अधिकांश भागमा फागु पूर्णिमाको दिन होली खेल्ने गरिन्छ । तर सदरमुकाम हेटौंडामा भने भोलिपल्ट होली खेलिने भएकाले यसको प्रभाव दुबै दिन पर्ने गरेको छ । मकवानपुरलगायत भित्री मधेशका जिल्लाहरुमा दुबै दिन होली मनाउने क्रमले यहाँका शिक्षक, विद्यार्थी, कर्मचारी र सेवाग्राहीमा समेत अन्यौल सिर्जना गरिदिएको पाइन्छ ।
एउटै पर्वमा पनि आ–आफ्नो आस्था र विश्वासका कारण हामी नेपालीहरु दुई दिन होली मनाइरहेका छौं । नेपालका पहाडी क्षेत्रबाट बसाईं सरेर वा विभिन्न कामकाजका लागि मानिसहरु तराईका विभिन्न ठाउँमा बसोबास गर्दै आएका छन् । यस्तै व्यापार व्यवसाय र अन्य शिलशिलामा तराई क्षेत्रका मानिसहरु पनि राजधानी काठमाडौंलगायतका विभिन्न पहाडी क्षेत्रमा बसोबास गर्दै आएका छन् । यसको अर्थ नेपालीहरुको बसोबास अहिले मिश्रित स्वरुपमा छ । यस्तो अवस्थामा कुनै ठाउँलाई पहाड र तराई भनेर होलीको बिदा दिँदा त्यसको प्रत्यक्ष प्रभाव दुबै दिन परेको देख्न सकिन्छ ।
विगत केही वर्षयता नेपाल सरकारले सार्वजनिक रिुदालाई समायोजन तथा परिमार्जन गर्दै आएको छ । यसक्रममा परम्परादेखि मानिँदै आएका केही चाडपर्व, उत्सव आदिसँग सम्बन्धित सार्वजनिक रिुदालाई कटौतीसमेत गरेको छ । कतिपय पर्व उत्सवमा सरकारले राष्ट्रिय बिदा नदिने घोषणा गरिसकेको छ । यसको सट्टा बरु प्रदेशस्तर र स्थानीय निकायको तर्फबाट निर्णय गरेर कुनै क्षेत्र विशेषमा स्थानीय बिदा दिन सकिने व्यवस्था गरेको छ । तर यति धेरै चाडपर्वको बिदालाई परिमार्जन गरिँदा पनि होली पर्वलाई पहाड र तराई नभनी एकैदिन मनाउने व्यवस्था गर्नुपर्ने हो । यसो गर्दा यो पर्वलाई थप व्यवस्थित बनाउँदै लैजान सकिन्छ भने शैक्षिक संस्था र विभिन्न सरकारी तथा गैरसरकारी संस्थाको कामकाजमा पनि असर पर्दैन ।
कतिपयले रमाइलोका लागि जाँड–रक्सी, गाँजा, भाङजस्ता नशालु पदार्थको सेवन गरी होहल्ला गर्ने र अराजक गतिविधिमा सहभागी हुने मौकाको रुपमा पनि होलीलाई लिने गरेका छन् । यस्तो अराजक क्रियाकलाप गर्ने र होलीको नाममा मानव शरीरलाई प्रतिकूल असर पार्ने खालका कडा रसायनयुक्त रङ, इनामेल पेन्टस्, कालोमोसो आदि समेत दल्ने गरिएको पाइन्छ । यस्ता हानिकारक रङ एवम् रासायनिक पदार्थको प्रयोगबाट मानव शरीरमा हानि पुर्याउँदछ । यस किसिमका प्रवृत्तिलाई नियन्त्रण गर्दै होली पर्वलाई व्यवस्थित बनाउँदै लानुपर्छ । अबका दिनमा यस किसिमको बहस पनि हुन जरुरी छ ।