बालविवाह विश्वव्यापी समस्या हो । विशेषगरी गरिब मुलुकहरुमा बालविवाह सामाजिक मूल्य मान्यताका लागि चुनौती नै बनेको छ । अशिक्षाका कारण धेरै सन्तान जन्माउने र उचित संरक्षण दिन नसक्दा बालविवाह हुने गरेको छ । नेपालमा पनि यो समस्या लामो समयदेखि परम्पराकै रुपमा छ । छोरीको महिनाबारी नभई कन्यादान दिनु पर्दछ भन्ने रुढीग्रस्त मान्यता नेपालको कुनाकाप्चामा अझै छ । यस्तै केही समुदायमा पनि परम्पराकै रुपमा बालविवाह गरिँदै आएको छ । यसले बालबालिकामा पार्ने मनोवैज्ञानिक तथा शारीरिक असरका विषयलाई बेवास्ता गर्दै परम्परा धान्ने र प्रचलन जोगाउने नाममा हुने गरेको बालविवाहलाई पछिल्लो सयममा नियन्त्रणका प्रयासहरु पनि हुँदै आएका छन् ।

बालविवाह नियन्त्रण गर्नका लागि राज्यका निकाय वा कानुनी डर भन्दा पनि व्यक्ति स्वयम् जिम्मेवार बन्ने अवस्था श्रृजना गरिनु पर्दछ । यस्तै समाजका सबै पक्षको पहलबाट मात्र यस्ता कुरितिको अन्त्य हुनसक्छ । पछिल्लो समय स्थानीय जनप्रतिनिधिहरुले प्रभावकारी भूमिका निर्वाह गर्न सक्ने देखिएको छ । स्थानीय मानिससँगको दैनिक सम्पर्क हुनेदेखि परिचयका आधारमा पनि प्रतिनिधिहरुलाई बालविवाहरुको जानकारी हुनसक्छ । यस्ता अभ्यास हुँदै गएको वा अवस्था बन्दै गरेको थाहा पाएपछि उनीहरुले नियन्त्रणका लागि आवश्यक कदम चाल्न सक्छन् । जनप्रतिनिधिकै पहलमा हेटौंडा–१४, बँदेलधापमा सोमबार एउटा बालविवाह रोक्न सफल भएको छ । वडा सदस्यको नेतृत्वमा ग्रामीण महिला सेवा केन्द्र, सिविन बाल हेल्पलाइनका प्रतिनिधिहरुले बालविवाहलाई रोकेका छन् ।

पारिवारिक सहमतिमा बालविवाह कम गराउने प्रयास बढ्दै गएपछि घटनामा केही कमी आएको छ । तर उमेर नै नपुग्दै भागेर विवाह गर्ने घटनाहरु देखिएका छन् । हेटौंडा–१४, बँदेलधापमा भागी विवाह गरेका १६ वर्षका किशोर र किशोरीले गरेको विवाहलाई जनप्रतिनिधि र सामाजिक संस्थाहरुको पहलमा रोक्ने काम भएको छ । बालविवाह भएको भन्ने थाहा पाएपछि परिवार, आफन्त र छरछिमेकलाई भेला गरी उक्त विवाह रद्ध गराउने काम भएको छ । समाजका लागि यो एउटा उदाहरणमात्र हो । यस्तै घटना कति भएका छन् भन्ने अनुसन्धानको विषय हो । थाहा भएका घटना रोक्ने प्रयास भएपछि लुकिछिपी भएका यस्ता विवाहले समाजलाई चुनौती दिँदै आएका छन् ।

मकवानपुरमा यो वर्षको ११ महिनामा ८९ वटा बालविवाहका घटना भएका छन् । विवाहका लागि तयारी गरिएको वा सहमति गरिएका तथा विवाह हुँदै गरेका तथा विवाह नै भएका यस्ता घटनामध्ये ७६ वटा घटना रोकिएको तथ्यांक छ । बालबालिकाप्रति अभिभावकको निगरानी नहुनु, अभिभावकले दोस्रो विवाह गर्नु, अभिभावकहरुले मादक पदार्थ सेवन गर्ने गर्नु, बालबालिका विद्यालय जान छाड्नु, यौन शिक्षाको नकारात्मक प्रभावका कारण पनि बालविवाहका घटना बढेको पाइन्छ । बालविवाह गर्दा आइपर्ने शारीरिक, मानसिक, सामाजिक, आर्थिकलगायतका जटिलताबारे बालबालिकाहरुलाई जानकारी गराउन आवश्यक छ । यस्तै अभिभावकले पनि सही नेतृत्व दिन नसक्दा उमेर नै नपुगेका छोराछोरी भागेर विवाह गर्ने गरेका छन् । यस्ता घटना सुन्नका लागि समान्य भए पनि भोग्नेहरुका लागि निकै पीडादायी हुन्छन् । त्यसैले बालविवाह रोक्ने काममा समाजका सबैले समान जिम्मेवारी निर्वाह गर्न आवश्यक छ ।